• २०८१ माघ ३० बुधबार

स्मृतिको पहरा

बसन्त चौधरी

बसन्त चौधरी

तिमीसँग बिताएका मनमोहक पलहरूले
आज पनि लोभ्याइरहन्छन् मलाई
यद्यपि
स्मृति मात्र छ
छैनौ मसँग तिमी

तिमीसँगका ती अनमोल पलहरू
आजसम्म उभिएका छन्
तिम्रो स्मृतिलाई
पहरा दिएर
तरङ्ग उठछ र बिथोल्न थाल्छन्
अधरमा छरिएको
निर्दोष मुस्कानको
जब सम्झना आउँछ

हरेक मौनताको
यौटै उत्तर बनेर बसेको
हृदयको मुहान नै तिम्रो साथ हो

युग बितिसक्यो
तथापि यस्तो लाग्छ
कही न कहीँ मनभित्रै बसेको छ
मिलनको आशा
यसलाई व्यक्त गर्ने
छैनन् अक्षरहरू
जसले बनाउन सक्छ
शब्द र वाक्य
त्यसैले म मौन छु ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)