कविता

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव २०७८ को क्रममा फरकफरक स्वादका पाँच नाटक मञ्चन भएका छन् । शुक्रबार अशान्त शर्माको लेखन तथा निर्देशनमा नेपाली भाषाको ‘ढल्केको सालैजो’ र भारत मणिपुरको अखोका थिएटरले मणिपुरी भाषाको इच्चे अर्थात् बहिनी नाटक प्रदर्शन भएको थियो । बिहीबार भने मिथिला नाट्यकला परिषद्, जनकपुरले महेन्द्र मलंगिया लिखित तथा परमेश झा निर्देशित ‘गाम नै सुतैए’, भारत, दरभंगाको द स्पटलाइट थिएटरले मुरारी मोहनको लेखन तथा निर्देशनमा ‘अभिसप्त देवव्रत’ तथा भारत, पटनाको भंगिमा नाट्य समूहले कुमार गगनको लेखा तथा किशोर केशवको निर्देशनमा ‘अनथक यात्रा’ नाटक प्रदर्शन गरेको थियो ।
पाँचवटै नाटक फरक फरक स्वादका थिए । मिनापद्वारा मञ्चित गामनै सुतैय नाटकमा अव्यवस्थाको कारण खल्बलाएको ग्रामीण परिवेश, राजनीतिमा अपराधीकरण विषयको उठान गरिएको छ भन्ने अभिशप्त देवव्रत महाभारतकालीन कथामा आधारित नाटक हो । अनथक यात्रामा भने सरकारी सेवामा दिइने आरक्षणको गलत प्रयोग बारे चित्रण गरिएको छ । अन्तिमदिन मञ्चित ’ढल्केको सालैजो’ नाटकमा कोभिड महामारीको कारण आम नागरिकको आर्थिक अवस्थामा परेको प्रभावको हृदय विदारक चित्र प्रस्तुत गरिएको छ । मणिपुरको अखोका थिएटरले मञ्चन गरेको इच्चे नाटक मणिपुरी कवि शरतचन्द्र थियामको कवितामाथि आधारित थियो । जसमा मणिपुरमा व्याप्त सामाजिक असुरक्षाको मार्मिक तस्बिर प्रस्तुत गरिएको छ ।