समाचार
काठमाडौं ।
साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ र हेमन्ती जोशीका दुई नयाँ कृति राजधानीमा विमोचन भएका छन्। श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसङ्ग्रह ‘तलतल’ र हेमन्ती जोशीको कवितासङ्ग्रह ‘अक्षरको आकाश’ एक कार्यक्रमबीच विमोचन गरिएको हो । गजलकार ज्ञानुवाकर पौडेल, समालोचक लक्ष्मणप्रसाद गौतम तथा लेखकद्वयले संयुक्त रूपमा दुवै कृतिको विमोचन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा समालोचक लक्ष्मणप्रसाद गौतमले श्रेष्ठ प्रिया ‘पत्थर’ र हेमन्ती जोशीलाई लामो समयदेखि पढ्दै र सुन्दै आएको उल्लेख गर्दै दुवै सर्जकले नेपाली साहित्यमा निरन्तर योगदान पु¥याउँदै आएको बताए। उनले श्रेष्ठ प्रिया ‘पत्थर’ले लामो समयदेखि नारी हस्ताक्षरलाई नेपाली साहित्यमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।
गजलकार ज्ञानुवाकर पौडेलले श्रेष्ठ प्रिया ‘पत्थर’लाई गजल क्षेत्रमा सिद्धहस्त सर्जकका रूपमा चित्रित गर्दै सुदूरपश्चिममा रहेर नेपाली साहित्यका विभिन्न विधामा सक्रिय दुवै सर्जकको योगदान महत्वपूर्ण रहेको बताए । सुदूरपश्चिमको धनगढीलाई कर्मथलो बनाएर लेखनमा सक्रिय श्रेष्ठ प्रिया ‘पत्थर’ र हेमन्ती जोशी नेपाली मुक्तक, गजल, कविता तथा आख्यानका क्षेत्रमा परिचित छन् । दुवै सर्जक नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्यसमेत हुन् ।
श्रेष्ठ प्रिया ‘पत्थर’ गजल, मुक्तक तथा आख्यान लेखनमा सक्रिय छन् भने उनका विभिन्न विधाका कृति प्रकाशित छन्। हेमन्ती जोशीले कथा, गजल, मुक्तक र कवितामा कलम चलाउँदै आएकी छन्। उनका पत्रपत्र जिन्दगी र प्रतिविम्ब कथासङ्ग्रह, मनहरू जित्न सकेँ गजलसङ्ग्रह तथा बगरदेखि सगरसम्म मुक्तकसङ्ग्रह प्रकाशित छन् । दुवै कृति प्रिया पत्थर साहित्य परिषद्ले प्रकाशन गरेको हो ।
