• २०८३ आश्विन २३, शुक्रबार

सिसासको २७३औँ साहित्यिक सङ्गम सम्पन्न

भैरहवा ।

सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपन्देहीको २७३औँ मासिक साहित्यिक सङ्गम शनिबार भैरहवामा सम्पन्न भएको छ। सिद्धार्थनगर–८ स्थित सहिद स्मृति पुस्तकालयमा आयोजित सङ्गम हरेक महिनाको तेस्रो शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ । आख्यानकार प्रा.डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्य तथा साहित्यकार वनमाली निराकारको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा सर्जकहरूले समाज र साहित्यमा देखिएका विकृति तथा विसङ्गतिको चिरफार गर्दै समुन्नत समाज निर्माणका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा साहित्यकार विजय सागर, रुद्र ज्ञवाली, संस्थाका पूर्वअध्यक्षहरू सुरज घिमिरे ‘दीपशिखा’, छवि ज्ञवाली, नारायणप्रसाद भण्डारी, कमल पोख्रेल ‘निश्छल’ तथा निवर्तमान अध्यक्ष सरू ज्ञवालीलगायतको उपस्थिति थियो । सो अवसरमा डा. शङ्करप्रसाद नेपाल, तिलक लामिछाने, अनमोल शर्मा, लता प्रधान, डिल्लीराज घिमिरे, तुल्सीराम ढकाल, सिर्जना खनाल, प्रकाशलाल श्रेष्ठ, उज्ज्वल बर्मा, सावित्री घिमिरे, सीता काफ्ले र कविता गौतम ज्ञवालीलगायतले मन्तव्य राख्दै गीत, गजल, कविता, मुक्तक, लघुकथा तथा कथा प्रस्तुत गरे ।

सिसासका अध्यक्ष विष्णुप्रसाद गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सिर्जना खनालले स्वागत तथा सचिव रामराज गौतमले सञ्चालन गरेका थिए। कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा हाइकुकार डि.बी. पुनको निधनप्रति शोक प्रस्तावसमेत पारित गरिएको थियो । वि.सं. २०६० सालमा रूपन्देहीको सिद्धार्थनगरमा स्थापित सिसासले अग्रजहरूको साथ र सहयोगमा विशेषगरी युवा पुस्तालाई साहित्यिक गतिविधिमा अग्रसर गराउँदै आएको छ। युवाको नेतृत्वमा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले साहित्यको विकास र प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको छ ।