समाचार
काठमाडौँ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा तीन बालसर्जकका तीन अङ्ग्रेजी कृति ‘क्रिएटिभ स्क्रिबल्स’, ‘फस्फोर र ‘निसमाज’ संयुक्त रूपमा लोकार्पण गरिएको छ । राजधानीमा आयोजित समारोहमा ८ वर्षीय शुक्ष्माङ्क जैसीको ‘क्रिएटिभ स्क्रिबल्स’१४ वर्षीया शुक्ष्मयङ्का जैसीको ‘फस्फोर र १९ वर्षीय शुसाङ्क जैसीको ‘निसमाज’ लोकार्पण गरिएको हो ।
वरिष्ठ साहित्यकार तथा बालसाहित्यकार प्रमोद प्रधानले कृतिहरूको लोकार्पण गर्दै बालसाहित्यलाई शिशु, बाल र किशोर साहित्य गरी तीन चरणमा वर्गीकरण गरिने बताए। उनले ठूलाले बालबालिकाका लागि लेख्नुभन्दा बालबालिकाले आफैँ सिर्जना गरेको साहित्य बढी यथार्थपरक हुने धारणा राखे। एआईको प्रयोग बढिरहेको वर्तमान समयमा बालबालिका आफैँ सिर्जनात्मक कार्यमा सक्रिय हुनु प्रशंसनीय रहेको उल्लेख गर्दै उनले जुम्लाजस्तो विकट ठाउँबाट राजधानी आएर छोराछोरीको जन्मदिनमा पुस्तक प्रकाशन गरिदिने अभिभावकको प्रयासको प्रशंसा गरे ।
नेपाल स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’ले मोबाइलको बढ्दो लतका बीच यी तीन बालबालिकाले सर्जकका रूपमा अलग पहिचान बनाएको बताए। उनीहरूको सिर्जनशीलतालाई निरन्तरता दिन सके भविष्यमा सशक्त सर्जक बन्न सक्ने उनको भनाइ थियो । बालसाहित्यकार माधव घिमिरे ‘अटल’ले कृतिमाथि टिप्पणी गर्दै ८ वर्षीय शुक्ष्माङ्कको पुस्तकले उनको अद्भुत सिर्जनात्मक प्रतिभा देखाएको बताए। शुक्ष्मयङ्काको ‘एजयकउजयच’ डायरी शैलीमा लेखिएको र लैङ्गिक विभेद तथा सामाजिक बन्धन तोड्ने सन्देश बोकेको उनले उल्लेख गरे। शुसाङ्कको ‘निसमाज’मा कोशी, गण्डकी र कर्णाली सभ्यताको विविधता तथा नेपाली समाजको यथार्थ प्रस्तुत भएको उनको भनाइ थियो ।सिद्धार्थ वनस्थली स्कुलकी भाइस प्रिन्सिपल तथा बालसर्जकहरूकी शिक्षिका सुनिता सिंहले तीनै विद्यार्थी इमानदार, परिश्रमी र सिर्जनात्मक रहेको बताइन्। उनीहरू विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि सक्रियतापूर्वक सहभागी हुँदै आएको उनले जानकारी दिइन्।
कार्यक्रममा बाललेखिका शुक्ष्मयङ्काले आफ्नो सिर्जनात्मक यात्राबारे अनुभव सुनाइन्। प्रकाशन गृहका तर्फबाट भुँडी पुराणका प्रबन्ध निर्देशक केशव पराजुलीले शुभकामना व्यक्त गरे । सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका रामसुन्दर देउजाले स्वागत तथा सचिव प्रदीप सापकोटाले सञ्चालन गरेका थिए ।
