• २०८३ मंसिर ५, शुक्रबार

सुशीला शर्मा शिलुका पाँच कविताहरू

सुशीला शर्मा शिलु

सुशीला शर्मा शिलु

(नेपाली समाजका कुटिल सम्बन्धका वास्तविक रूपहरू !)

१. कुटिलताभित्रको प्रलय

शिलु
तिम्रो जस्केलोभित्रबाट
औकात र इज्जतको
प्रश्नमा अल्झिएर लडेको
यात्री हुँ म ।
तिम्रै कुचोले धुलोका रूपमा
हुत्याएर महासागरमा पुगेको
मलाई टाढा भयौ भनेर
देखावटी माया र गुनासो देखाउँदै
हिँड्छौ ।

ए, अब त बुझें,
तिमीलाई इज्जतको
खोल ओढ्ने बानी छ ।
मलाई यथार्थमा बजारिने बानी
पार्ने पनि तिमी नै हौ !
प्रिय मालिक मनुष्य !

२. स्वार्थको नियम

औकातको संरक्षण गर्दा
तिमीले मेरो अस्तित्व भुलेका
थियौ ।
र नै तिम्रो आफ्नै दैलोभित्र आज
प्रत्येक दिन परीक्षा दिइरहेका छौ रे,
आफ्नै औकातको ।
किन तिम्रा कठोर नियमहरू
लगाएर आफ्नैलाई लखेट्न,
बेइज्जत गर्न र
आलोचित गर्न अप्ठ्यारो लाग्यो ?
मलाई पो दया लाग्यो, प्रिय आफन्त !
किन तिमीले त्यही नियम
आफ्नैलाई लगाउन सकेनौ ?
ए, ए, बुझें !
त्यो तिम्रो संरक्षणमा परेको मानिस
तिम्रो वंश चलाउने
र पैसा कमाउने पो हो त, है !

३. संस्कार

मेरो भर्खरै बढ्दै गरेको अङ्ग हेरेर
’छोरी त यस्तो हुनुपर्छ’ भन्दै
कलिला हातमा कलम होइन,
हँसिया र घाँस सुहाउँछ भन्ने
ए छिमेकी आन्टी !

आज तिम्रो छोराले
प्रेममा अन्धो भएर
देश मात्र होइन, विदेशसम्मै
ढाक्यो रे त !
प्रेमको जालले ।

किन उसलाई संस्कार
र कर्म सिकाउन बिर्सियौ  ?

तिमीलाई फुर्सद कहाँ थियो र
उसको गल्ती हेर्न ?
तिमी त मेरो बदनाम गर्नमै
व्यस्त थियौ ।

४. सापटी

’मानिस ठूलो धनले होइन,
मनले हुन्छ’ भन्ने
ए पल्लाघरे !

फेरि मलाई पर्दा त
एक रुपैयाँ सापटीसम्म
दिएनौ ।
कोहीसँग बोलेँ भने चरित्रमा
र जातमा समेत
प्रश्न उठाएर बस्यौ ।

केटासँग बोल्नु हुँदैन,
इज्जत र जात सबै जान्छ भन्थ्यौ ।
म सानो हुँदा करेसामै आएर
उपदेश दिने तिमी नै होइनौ र ?
आज आफ्नै छोराको खुसीका लागि
देवकोटाको कविता नै
कण्ठ पारेर बसेका छौ रे त !
‘मानिस ठूलो दिलले हुन्छ,
जातले हुँदैन ।’

५. परिवर्तित युग

‘छोरीको जात,
पढेर केही हुँदैन,
यो नाङ्लो र पोतो समाउन
सिक’ भनेर कुर्लने
समाजकी अगुवा आफन्त  !

घरमा छोराको बिहे भएको
पन्ध्र वर्ष भइसक्दा पनि
बुहारीलाई दियो बाल्न आउँदैन रे !

हैन, संस्कार र नियमको
ठेक्का अरूका सन्तानलाई
होच्याउन मात्र लिएको रहेछ !

आफ्नो पालामा त युग पनि
आफैँले परिवर्तन गराइसक्ने रहेछन् ।

न डरले हो, न लाजले,
उनै जानून् ।
तर फेसबुकका भित्तातिर
जन्मदिनको शुभकामना दिन भने
छोडेकी रहिनछन् ।

लाग्दैछ,
उनका लुकेका आँसुले
कति सिरानी भिजे होलान् !

बरु अरूका सन्तानलाई भए पनि
एकपटक राम्रो व्यवहार गरेको भए
बुढेसकालमा रुने ठाउँ त हुन्थ्यो ।

बिचरा आफन्त !


सुशीला शर्मा शिलु