नेपाली साहित्य
स्याङ्जा ।
आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा स्याङ्जाको आँधीखोला–६, फापरथुमस्थित आनन्दआश्रममा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ। गोष्ठीसँगै संस्थाको चौथो साधारण सभा पनि सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टीकाराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृतिविद् तथा साहित्यकार लोकबहादुर थापा मगरलाई १५ हजार रुपैयाँ नगदसहित ‘आनन्दआश्रम प्रज्ञा सम्मान’ प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्व थापाको परिचय संस्थाका सदस्य इन्द्रमणि ढकालले प्रस्तुत गरेका थिए ।
सम्मान ग्रहणपछि लिखित मन्तव्य व्यक्त गर्दै थापाले संस्थाको ४४औँ साहित्य तथा वैचारिक गोष्ठीका अवसरमा सम्मानित हुन पाउँदा खुसी लागेको बताए। सम्मानले आफ्नो लेखन, अनुसन्धान तथा साहित्य सिर्जनामा थप ऊर्जा प्रदान गरेको उल्लेख गर्दै उनले सम्मानका लागि निर्णय गर्ने प्रमुख संरक्षक एवं पूर्वमन्त्री त्रिलोचन ढकाल, सम्मान सिफारिस समिति तथा आनन्दआश्रम ज्ञान केन्द्रप्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा सदिक्षा जिटी, समिरा ढकाल र सृष्टि ढकालले कविता वाचन गरेका थिए। संस्थाका उपसचिव तथा कवि खेमनारायण लामिछानेले तीन कविता प्रस्तुत गरे। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा संस्थाका सदस्य हिमलाल पुरीले कविताको संरचनाबारे प्रस्तुति दिँदै कविता वाचन गरेका थिए। अतिथि केशबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए भने कवि उमाकान्त पोखरेलले कविताका विविध पक्षमाथि चर्चा गर्दै आफ्ना कविता प्रस्तुत गरे । सोही अवसरमा संस्थाका सचिव दोलराज ढकालले २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मका गतिविधि समेटिएको वार्षिक प्रतिवेदन तथा सोही अवधिको आय–व्ययसम्बन्धी आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाका संरक्षक त्रिलोचन ढकालले आगामी कात्तिक २२ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा अन्तरमाध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरिने जानकारी दिए । संस्थाका उपाध्यक्ष दीप्तिनारायण शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव दोलराज ढकालले गरेका थिए। समापन गर्दै अध्यक्ष टीकाराम ढकालले आनन्दआश्रम ज्ञान केन्द्रका गतिविधि र आगामी योजनाबारे जानकारी गराएका थिए ।
