समाचार
काठमाडौं ।
कवि श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा आएको छ । ‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह प्रकाशित भएको हो । चार दशकदेखि साहित्य तथा कलाका विभिन्न विधामा सक्रिय मुकारुङले पछिल्लो डेढ दशकमा लेखेका कविता सङ्ग्रहमा समेटेका छन्। राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनालाई कलात्मक ढंगले प्रस्तुत गरिएका उनका कविता कृतिमा समावेश छन् ।
मुकारुङले आफ्नो साहित्यिक यात्राको मूल बाटो कविता नै रहेको बताउँदै ‘बिसे नगर्चीको बयान’ पछिका कवितामार्फत आफ्ना अनुभव र अभ्यास थप परिष्कृत हुँदै गएको बताएका छन्। काव्य साधनाको चार दशकपछि प्रकाशित यो उनको चौथो कविता सङ्ग्रह हो । पब्लिकेसन नेपालयले प्रकाशन गरेको कृतिमा २१२ पृष्ठ छन्। यसको मूल्य ६२५ रुपैयाँ तोकिएको छ । पुस्तक देशभरका प्रमुख पुस्तक पसलका साथै नेपाल प्रज्ञा–प्रतिष्ठानमा असोज १८ गतेसम्म जारी बृहत् पुस्तक प्रदर्शनीमा नेपालयको स्टलबाट विशेष छुटमा उपलब्ध रहेको प्रकाशकले जनाएको छ । पुस्तक थुप्रैडटकम र अमेजनमार्फत पनि खरिद गर्न सकिने जनाइएको छ ।
मुकारुङ पछिल्लो पाँच वर्षदेखि शनिवासरीय साप्ताहिक कविता शृङ्खला ‘नेपालय ई–कविता’ का संयोजक छन्। पछिल्लो पाँच महिनादेखि नेपालयको आरशालामा आयोजना हुँदै आएको मासिक कार्यक्रम ‘काव्य श्रवण’ समेत उनले संयोजन गर्दै आएका छन् । नेपालयका सम्पादक विमल आचार्यले मुकारुङ अग्रज र अनुज पुस्ताका कविबीच सेतुका रूपमा सक्रिय रहेको बताए। राजनीति, समाज र संस्कृतिलाई साहित्यिक तथा कलात्मक कलेवरमा प्रस्तुत गर्ने मुकारुङको क्षमता विशिष्ट रहेको उल्लेख गर्दै उनले लामो समयपछि उनका कविता एकै ठाउँमा पढ्न पाउने अवसर आएको बताए । कवितासँगै गीत लेखनमा समेत स्थापित मुकारुङको गत वर्ष नेपालयबाटै प्रकाशित उपन्यास ‘सलह’ ले पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो ।
