वसन्तवेला
काठमाडौँ ।
दोस्रो राष्ट्रिय चलचित्र दिवस–२०८३ को अवसरमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ग्लोबल) अन्तर्गतको चलचित्र प्रवद्र्धन समितिले भर्चुअल रूपमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी चलचित्रकर्मीहरूले नेपाली चलचित्रलाई नेपाली भाषी दर्शकमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजार र दर्शकसम्म पु¥याउनुपर्नेमा जोड दिएका छन् । चलचित्र विकास बोर्डको सिफारिसमा नेपाल सरकारले २०८२ असार १३ गतेको मन्त्रिपरिषद् बैठकबाट हरेक वर्ष असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार यस वर्ष दोस्रो राष्ट्रिय चलचित्र दिवस मनाइएको हो। चलचित्र प्रवद्र्धन समितिका संयोजक गोपालचन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहसंयोजक विष्णु शर्माले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सेन्सर बोर्ड सदस्य तथा निर्देशक मनोज पण्डितले नेपाली चलचित्रको कथावाचन शैलीमा नवीनता आवश्यक रहेको बताए। पछिल्लो समय चलचित्र सेन्सर प्रक्रिया तुलनात्मक रूपमा सहज बन्दै गएको उल्लेख गर्दै उनले फरक र नयाँ ढंगले कथा भन्न नसके नेपाली चलचित्रले अपेक्षित उचाइ हासिल गर्न कठिन हुने धारणा राखे । चलचित्र विकास बोर्डका प्रवक्ता सन्तोष लोहनीले नेपाली चलचित्रको स्तरोन्नतिका लागि बोर्ड सम्बन्धित संघसंस्था तथा चलचित्रकर्मीसँग सहकार्य गर्न सधैँ तयार रहेको बताए। इनास ग्लोबलका महासचिव प्रकाश तिवारीले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुँदाका अनुभव सुनाउँदै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच विस्तारमा जोड दिए ।
निर्देशक तथा पत्रकार सुमन दाहालले प्रवासमा रहेर पनि नेपाली चलचित्र तथा सञ्चार क्षेत्रसँगको सम्बन्ध र सहकार्यलाई निरन्तरता दिइरहेको बताए। इनास उत्तर अमेरिका क्षेत्रीय संयोजक राहुल केसीले नेपाली चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई नेपाली भाषा, कला, संस्कृति र पहिचानलाई विश्वभर पु¥याउने महत्वपूर्ण माध्यम भएको बताए । चलचित्र प्रवद्र्धन समितिका सहसंयोजक विष्णु शर्माले विश्वभर रहेका नेपाली फिल्मकर्मीको तथ्यांक संकलन गरी नेपालका निर्माता तथा प्रवासमा रहेका फिल्मकर्मीबीच सहकार्यको प्लेटफर्म निर्माण गर्नुपर्ने धारणा राखे । उनले आगामी दिनमा ‘ग्लोबल नेपाली फिल्म सम्मेलन’ आयोजना गर्ने अवधारणासमेत अघि सारे ।
कार्यक्रममा इनास ग्लोबलका पदाधिकारी, चलचित्रकर्मी, कलाकार तथा सञ्चारकर्मीको सहभागिता थियो। महासचिव प्रकाश तिवारी, निर्देशक मनोज पण्डित, नायक रवीन्द्र खड्का, चलचित्र विकास बोर्डका प्रवक्ता सन्तोष लोहनी, राहुल केसी, राजु केसी, विकास घले, नायक राजबल्लभ कोइराला, सुमन दाहाल, सुवास थापा, प्याट्रीक सुवेदी, सुनील गिरी, कृष्ण कोइराला, हरि सिलवाल, चिरञ्जीवी गुरागाईंलगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए । प्रविधि तथा व्यस्तताका कारण कार्यक्रममा प्रत्यक्ष सहभागी हुन नसकेका उषा पौडेल, अरुणिमा लम्साल, सारंगा श्रेष्ठ, नन्दिता केसी, युना उप्रेती, सौजन्य सुब्बा, अरुणा कार्की, जीवन लुइँटेल, मुकेश ढकाल, बाबु बोगटी, रतन सुवेदी, अर्जुन संग्रौला, बाबुराम ढकाल, अनिल संग्रौला, निर्माता संघका अध्यक्ष उदय सुब्बा, कलाकार संघका अध्यक्ष उत्तम केसी तथा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी लगायतले शुभकामना सन्देश पठाएका थिए । यसअघि २०८२ सालमा इनास अमेरिका र द स्टोरी टेलर्सको आयोजनामा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसीको अध्यक्षतामा अमेरिकाको म्यारिल्याण्डबाट भर्चुअल रूपमा पहिलो राष्ट्रिय चलचित्र दिवस मनाइएको थियो ।
कार्यक्रमको समापन गर्दै संयोजक गोपालचन्द्र लामिछानेले चलचित्र भाषा र भूगोलको सीमाभन्दा फराकिलो माध्यम भएकाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकसँग जोड्ने सोच र सिर्जनशीलता विकास गर्नुपर्ने बताए। नायक राजबल्लभ कोइरालालगायत सहभागी चलचित्रकर्मीले राष्ट्रिय चलचित्र दिवसलाई शुभकामना आदानप्रदानमा मात्र सीमित नराखी नेपाली चलचित्रको इतिहासको सम्मान, वर्तमानको समीक्षा र भविष्यको अन्तर्राष्ट्रिय विस्तारका लागि उपयोगी अवसरका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।
