समाचार
साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान–२०८३’ बाट सम्मानित भएका छन् । सोलुखुम्बुको नेचा सल्यानमा आयोजित एक कार्यक्रमका बीच साहित्यकार कट्टेललाई रू ८८४८ नगद, सम्मानपत्र, मेडल र दोसल्लासहित सम्मान गरिएको हो । सोलुखुम्बु इनिसियटिभले नेपाली भाषा साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान गरेवापत उनलाई सम्मान गरेको हो ।
संस्थाले एक साहित्यिक कोषको व्यवस्था गरी राष्ट्रिय रूपमा ख्यातिप्राप्त साहित्यकारलाई प्रत्येक वर्ष यो सम्मान प्रदान गर्ने गरेको छ । गत साल डा. रेणुका थापालाई यो सम्मान अर्पण गरिएको थियो भने यस वर्षका लागि कवि हरि कट्टेल र हाल युके प्रवासमा रहेका डा. मुलीवीर राईलाई विभूषित गरिएको छ । दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभासद बुद्धिकुमार राजभण्डारीले सम्मानपत्र, नगद र दोसल्लाले सम्मान गरेका थिए ।
विशिष्ट अतिथि नेचा सल्यान गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष बिना राई समेत रहेको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रोहित बास्तोलाले गरेका थिए । साहित्यकार कट्टेल कविता र समालोचनाको क्षेत्रमा लोकप्रिय छन् । हाल विराटनगरमा बसोबास गर्ने उनी सोलुखुम्बुमा नै जन्मिएका हुन् ।
