समाचार
काठमाडौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसासका संस्थापक तथा पूर्व अध्यक्षद्वय भीमप्रसाद रेग्मी र पुरुषोत्तम सुवेदीलाई ‘अनेसास संस्थापक गौरव सम्मान’ प्रदान गरेको छ । अनेसास क्यालिफोर्निया च्याप्टरका सल्लाहकार शेखर ढुङ्गेललाई पनि सोही अवसरमा सम्मान गरिएको छ । नेपाली भाषा, साहित्य तथा अनेसासको संस्थागत अभियानमा पु¥याएको योगदानको कदरस्वरूप तीनै स्रष्टालाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि प्रमुख अतिथि वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।
अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष अधिवक्ता कमला ओलीले स्वागत मन्तव्य राखेकी थिइन्। च्याप्टरकी अध्यक्ष तथा कार्यक्रमकी सभापति मन्जिला शर्मा अनिलले अग्रजहरूको साधना, अनुभव र संस्थागत योगदानलाई सम्मान गर्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । सम्मानित व्यक्तित्वहरूलाई रुद्राक्षको माला, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानपत्रको व्यहोरा च्याप्टरका सचिव खेमराज न्यौपाने र सदस्य शान्ति रिसालले वाचन गरेका थिए । रेग्मी अनेसासका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन् भने सुवेदी संस्थापक सदस्यदेखि पूर्व अध्यक्ष हुँदै बोर्ड अफ ट्रस्टीको नेतृत्व तहसम्म रहेर अनेसासको संस्थागत विकासमा सक्रिय छन्। त्यस्तै, ढुङ्गेल प्रवासमा रहेर नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा सक्रिय रहँदै अनेसास क्यालिफोर्निया च्याप्टरसँग आबद्ध छन् ।
कार्यक्रममा अनेसास केन्द्रद्वारा घोषित ‘अनेसास नवरत्न पुरस्कार–२०२६’ डा. रेणु थापा सोलुलाई प्रदान गरिएको थियो। अनेसासकी पूर्व केन्द्रीय सदस्य माया गुरुङ र अनेसास क्यालिफोर्निया च्याप्टरका अध्यक्ष श्रीबाबु आचार्यलाई समेत दोसल्ला ओढाएर स्वागत सम्मान गरिएको थियो । शुभकामना मन्तव्य राख्दै वरिष्ठ साहित्यकार खेमनाथ दाहालले नेपालमा अनेसासको आफ्नै भवन निर्माणका लागि पहल गर्नुपर्नेमा जोड दिए। उनले अनेसासकी माता स्व. नन्दादेवी सुवेदीको नाममा स्मृति प्रतिष्ठान स्थापना गर्नुपर्ने धारणा पनि राखे। अनेसास केन्द्रीय सचिव ऋषभदेव घिमिरेले अनेसास केन्द्रले नेपाल च्याप्टरलाई आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए ।
अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, च्याप्टरकी पूर्व अध्यक्ष तथा पुरस्कार समिति सदस्य सन्ध्या पहाडी र नेपाली भाषा–साहित्यका अध्येता प्राडा. खगेन्द्रप्रसाद लुइटेलले सम्मानित व्यक्तित्वहरूको योगदानको चर्चा गर्दै बधाई तथा शुभकामना दिएका थिए । प्राडा. लुइटेलले अग्रजहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई सिर्जना र संस्थागत यात्रासँग जोड्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए । सम्मानित भीमप्रसाद रेग्मी र पुरुषोत्तम सुवेदीले सम्मानप्रति आभार व्यक्त गर्दै अनेसाससँगको आफ्नो यात्रा र नेपाली भाषा–साहित्यप्रतिको प्रतिबद्धताबारे धारणा राखेका थिए। सुवेदीले नेपालमा अनेसासको भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वभर रहेका अनेसास च्याप्टरसँग समेत सहयोगका लागि समन्वय गर्ने बताए ।
प्रमुख अतिथि हिरण्यकुमारी पाठकले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै नेपाली साहित्यको समृद्धिका लागि सिर्जना, साधना र संस्थागत सहकार्यको निरन्तरतामा जोड दिइन् । कार्यक्रमका बीचमा च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले राष्ट्रभक्ति गीत र गजेन्द्र बोहोराले गजल प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा च्याप्टरकी उपाध्यक्ष रञ्जना निरौलाले उपस्थित अतिथि, स्रष्टा, साहित्यकार तथा साहित्यप्रेमीहरूप्रति धन्यवाद ज्ञापन गरिन् ।कार्यक्रममा काठमाडौंस्थित विभिन्न साहित्यिक संस्थाका नेतृत्व तथा साहित्यकारसहित पाँच दर्जनभन्दा बढीको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन रमेश दाहालले गरेका थिए ।
