नेपाली साहित्य समाज न्युजिल्यान्डको आयोजनामा न्युजिल्यान्डको क्राइस्टचर्चमा २१० औँ भानु जयन्ती सम्पन्न भएको छ । समाजका अध्यक्ष डा. वीरेन्द्र केसीको अध्यक्षता कोषाध्यक्ष डा. शिवप्रसाद पोखरेलको संयोजनमा आयोजना गरिएको थियो । समाजका बरिष्ठ सल्लाहकार डा. भोला प्रधानले उद्घाटन गर्नुभएको सो कार्यक्रममा नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका तर्फबाट कोषाध्यक्ष अमूल्य नेपालले र क्यान्टरवरी नेपालिज सोसाइटीका तर्फबाट उपाध्यक्ष जीवन अर्यालले शुभकामना मन्तव्य दिनुभएको थियो ।
समाजका कोषाध्यक्ष डा. शिवप्रसाद पोखरेल र सचिव गोपालप्रसाद कँडेलले सञ्चालन गर्नु भएको सो कार्यक्रममा झण्डै ६० जना नेपाली भाषा र साहित्यप्रेमीहरूको उपस्थिति थियो । कार्यक्रममा समाजका सल्लाहकारहरू डा. भुवनेश्वर ढकाल, शैलेश कर्माचार्य, विष्णु पोख्रेल, सुमित्रा प्रधान, पदम अधिकारी, चिरञ्जीवीप्रसाद ढकाल, डा. ईश्वरी न्यौपाने, केपी रिजाल, जीवन अर्याल, डा. सरिता केसी, गोपाल पौडेल, गोपालप्रसाद कँडेल र गङ्गा सापकोटाले रचना वाचन गर्नुभएको थियो ।
बीचबीचमा नेपाली पोसाकमा सजिएका साना बाबुनानीहरूद्वारा प्रस्तुत नृत्यहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । नृत्य गर्ने कलाकार बाबुनानीहरूलाई समाजका कार्यसमिति सदस्य इन्दु काफ्लेले प्रशिक्षण गराउनुभएको थियो ।