गजल
काठमाडौं ।
स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोह आयोजना गरिएको छ। श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिका अवसरमा बसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानले संयुक्त रूपमा विशेष स्मृति तथा सम्मान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा श्रेष्ठप्रति ‘अक्षरदीप प्रज्वलन’, पुष्पार्पण तथा मौनधारण गरिएको थियो। त्यसपछि श्रेष्ठको जीवन र साहित्यिक योगदान समेटिएको वृत्तचित्र ‘अक्षरयात्रा: दशक आठ’ प्रस्तुत गरिएको थियो ।
कार्यक्रम अन्तर्गत ‘६ नवकृति: अक्षरका छ नयाँ दीप’ शीर्षकमा श्रव्यदृश्य सामग्री अनावरण तथा कृतिको समीक्षा गरिएको थियो । जनकवि श्रेष्ठका कविता वाचन तथा प्रस्तुति पनि गरिएको थियो । सो अवसरमा ‘अक्षरमहर्षि सम्मान’ अर्पण गरिएको थियो। कवि बसन्त चौधरीले जनकवि श्रेष्ठप्रति अक्षराञ्जली अर्पण गर्दै स्मृतिका कथन तथा रुबाई प्रस्तुत गरेका थिए ।कार्यक्रममा श्रेष्ठका छ वटा कृति समेत लोकार्पण गरिएको थियो ।
को हुन् जनकवि दुर्गालाल श्रेष्ठ ?
‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जस्ता लोकप्रिय सिर्जनाका स्रष्टा दुर्गालाल श्रेष्ठ नेपाल भाषा र नेपाली भाषाका चर्चित कवि तथा गीतकार हुन् । श्रेष्ठले नेपाल भाषा परिषद्बाट सन् २००३ मा ‘जनकवि’को उपाधि प्राप्त गरेका थिए। मदन पुरस्कार गुठीले उनलाई वि. सं २०६७ मा ‘जगदम्बाश्री’ सम्मान प्रदान गरेको थियो। उनले विभिन्न दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।
वि.सं १९९२ मा काठमाडौंमा जन्मिएका श्रेष्ठ आमा आशामोती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठका सुपुत्र हुन्। उनले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेका थिए । श्रेष्ठले सन् १९४९ देखि साहित्यिक लेखन सुरु गरेका थिए। उनको पहिलो कविता ‘दुइथोपा’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो। उनका छ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
श्रेष्ठको साउन ३१ गते आइतबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो। उनको निधनपछि उनको योगदान र साहित्यिक यात्राको स्मरण गर्दै विभिन्न कार्यक्रम हुँदै आएका छन् ।
