• २०८१ माघ २ बुधबार

जहाजको नबोल्ने मान्छे

कृष्णप्रसाद शर्मा

कृष्णप्रसाद शर्मा

एउटै आकाश ओढेर
उही धर्ती ताकेर
हरेक दिन भित्रिन्छन्
अनगिन्ती जहाजहरू
बोल्ने र नबोल्ने मान्छेहरू बोकेर

बोल्ने मान्छे
झ्यालबाट हेर्छ
ढोकाबाट हेर्छ
तर नबोल्ने मान्छे
चुपचाप छ
सुतिरहन्छ

आफ्नो भाषा नभएकोले
मौन छन् सबै अरू
तर आफ्नै भाषामा पनि बोल्दैन ऊ

बोल्ने मान्छे
अर्कोसँग ठोक्किन्छ
फिस्स हाँस्छ
थोरै रिसाउँछ
तर नबोल्ने मान्छे
आफ्नै देशमा आइपुग्दासमेत
चिर निद्रामा सुतिरहन्छ

सबै बोल्ने मान्छे झरेपछि
घामले बास बसेपछि
सुनसान समयको मौका छोपेर
बिस्तारै झारिन्छ नबोल्ने मान्छे
कतै चोटपटक लाग्छ कि
जस्तो गरेर
कतै उठेर भाग्छ कि जस्तो गरेर
उसलाई निकै सम्हालेर झार्छन्

सोध्दैनन् कोही कसैले
उसको सञ्चो–बिसञ्चोको खबर
सोधि नै हाले पनि
फर्काउँदैन जबाफ
ऊ मौन ध्यान समाधिमा छ

सपना पोको पारेर देश छोडेको ऊ
सपनाकै पोकोले थिचियो सायद
र फक्र्यो
जवानी लुटाएर
सबथोक गुमाएर
फगत रित्तो हात
निष्प्राण भएर

यतिखेर ऊसँग
पहिलाजस्तो झोला छैन
न त छ कसैको नासोको पोको नै
छ त केवल परिवारलाई
पीडाको अग्लो पहाड कोसेली छ
आँसुको गहिरो सागर उपहार छ

पहिलेपहिले जब ऊ बोल्दै आउँथ्यो
हातमा पोको बोकेर
आफन्त खोज्दै हिँड्थ्यो
र बुझाउँथ्यो नासो
तर आज उसलाई नै बुझाउनका लागि
अरू कोही नै
खोजिरहेछन्
उसका आफन्त

सहर न हो
रमितेहरू भरिइहाल्छन्
मुखामुख र कानेखुसी गरिहाल्छन्
उसकै छेउमा छ
एउटा निःशब्द हुल मान्छेको
त्यही बीचमा
बेहोसी भई ढलेको छ कोही
कोही रुवावासी गर्दै झम्टिन्छन् उसलाई
तर मौन छ ऊ

सारा संसार देखेर आएका
उसका आँखाहरू
आफन्तको अघिसमेत खुल्दैनन्
ऊ जिन्दगीसँग
फेरि आँखा नखोल्ने
कसम खाएर आएको मान्छे

आमाले छोरा भन्छिन्
बाले कान्छा भन्छन्
दाइले भाइ भन्छन्
भाउजूले बाबु भन्छिन्
सबैले रुँदैरुँदै
मात्र एकपटक उठ भन्छन्
आँखा खोल भन्छन्
केही बोल भन्छन्
तर ऊ घाटको सलोझैँ
मस्त निद्रामा छ
सायद ऊ
अनन्तयात्रा तय गरेर
थाकेको छ जिन्दगीसँग
र सुतेको छ
थकाई मारेर फेरि नउठ्ने गरी
यसैको साक्षी म
आजको बोल्ने मान्छे हुँ
थाहा छैन कहाँ, कहिले र कतिखेर
नबोल्ने मान्छे हुन्छु ऊजस्तै
अनि मेरो देशले
मलाई पनि ब्यूँझाउने छ यसरी नै
मेरा आफन्तलाई ।


(हाल बेलायत निवासी शर्मा विगत दुई दशकदेखि साहित्यसिर्जनामा सक्रिय छन्)
[email protected]