• २०८१ बैशाख १६ आइतबार

अनेसास बेलायतद्वारा स्रस्टा सम्मान तथा कृति विमोचन

लन्डन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।सोहि अवसरमा अनेसासले नेपाली साहित्यका ६ जना मूर्धन्य साहित्यकारहरुको सम्झना, अनेसास बेलायतका सदस्यहरुद्वारा हालै प्रकासित कृतिहरु, विमोचन तथा कृतिकारहरुलाई सम्मान गरेको छ ।

आइतबार लण्डन प्लमस्टिडस्थित साउथ इष्ट तमुधी ईकाइको हलमा सम्पन्न उक्त कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्याल, नेपाली आधुनिक चित्रकलाका पिता तथा साहित्यकार लैनसिंह वाङदेल, नेपाली गीत तथा संगीतका प्रसिद्ध व्यक्तित्व मास्टर मित्रसेन थापा मगर, आधुनिक नेपाली संगीतका पिता अम्बर गुरुङ, नेपाली प्रगतिवादीतथा पृथक धारका कविताका लोकप्रिय कवि भूपी शेरचन र स्वर सम्राट नारायण गोपालको तस्विरमा पुष्पार्पण गर्दै स्मरण गरियो ।

अनेसास बेलायतले अनेसासका कोषाध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ को हालै प्रकासित मुक्तक संग्रह ‘प्रवासी मन’, समाजका सदस्य जीत बहादुर बुढाथोकी छन्त्यालको मुक्तक संग्रह ‘यानीमाया’ र डा. रुपक श्रेष्ठद्वारा सम्पादित ‘सरुभक्तका मुक्तकहरु’ को संयुक्त रुपमा विमोचन गरेको छ ।उक्त कार्यक्रममा स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर जीत रानाभाट र भूपी शेरचनका समकालीन साहित्यकार तथा बेलायतका आँखा रोग बिशेषज्ञ डा. बीरेन्द्र अमात्य, सल्लाहकारद्वय डा. रुपक श्रेष्ठ र सुमल कुमार गुरुङ, अनेसासका अध्यक्ष राज श्रेष्ठ र कार्यक्रम संयोजक माया गुरुङले फूलमाला तथा खादाले स्रष्टाहरुलाई सम्मान गरे ।

त्यसैगरी अनेसासका सदस्य तथा साहित्यकार संगीता स्वेच्छालाई महिलाहरुको हक तथा अधिकार बारे गरिएको योगदानको सम्मान गर्दै युनिभर्सल पिस फेडेरेसन बेलायतले पिस एम्बासडर घोषणा गरेकोमा उनलाई सम्मान गरेको छ । अनेसास बेलायतले विगत एक दशकदेखि वर्षेनी गर्दै आएको स्रष्टा स्मृति दिवस यसपटक उपाध्यक्ष माया गुरुङले संयोजन गरेकी थिइन्। अनेसास अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि थिए रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर जीत रानाभाट ।
समाजका सदस्य कुमार केसीले कार्यक्रमको पहिलो चरण र सहित्यकार अहिल्या कुँवरले दोस्रो चरणको कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष माया गुरुङले सम्पूर्ण सहभागीलाई स्वागत गरेकी थिइन् ।

विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा अनेसासका सल्लाहकार डा. रुपक श्रेष्ठले कार्यक्रमको औचित्य तथा साहित्यकारहरुको व्यक्तित्व बारेमा चर्चा गरे भने अर्का सल्लाहकार सुमलकुमार गुरुङले शुभकामना मन्तव्य राखेका थिए। त्यसैगरी सर्जकहरु प्रतिमा केसी र जीतबहादुर छन्त्यालले आफ्नो कृतिबारे संक्षिप्त चर्चा गर्दै ३/३ वटा मुक्तक वाचन गरे । डा. रुपक श्रेष्ठले सरुभक्तको मुक्तक इतिहास र संरचनागत पक्षबारे चर्चा गर्दै उनका केही मुक्तक वाचन गरेका थिए ।

कार्यक्रमको निकै आकर्षण पक्ष रहेको कवि भूपी शेरचन (भुपेन्द्रमान शेरचन) का समकालीन साहित्यकार तथा बेलायतका आँखा रोग विशेषज्ञ डा. बीरेन्द्र अमात्यका भूपीसंग बिताएका दिनहरु, हासिमजाक, उनका स्वभावहरू, पारिवारिक वातावरणबारेको सचित्र तथा अन्तरंग प्रस्तुतिले सबैजना मन्त्रमुग्ध बनेका थिए । कार्यक्रमका प्रमुख अतिथि रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर रानाभाटले सम्मानित श्रष्टाहरुलाई बधाई ज्ञापन गर्दै यस्तो कार्यक्रमले हामी सबैलाई नेपाल नेपाली साहित्यसंग निरन्तर जोड्ने र नेपालीत्व बचाउने कुरा बताए ।

कार्यक्रममा गङ्गा भण्डारी, डा. संगीता स्वेच्छा, सागर अधिकारी, बिसन थापा, दुत पुन ‘चिम्खोले काईला’, माया गुरुङ र सारादेबी गुरुङले कविता वाचन गरेका थिए भने बोजराज बराल, सुमल कुमार गुरुङ र राज श्रेष्ठले मुक्तकहरु वाचन गरेका थिए । कार्यक्रममा गायक दीपक थापाले नारायण गोपाल, भूपी शेरचन र अम्बर गुरुङसंग सम्बन्धित केही गीत गाएका थिए । त्यस्तै सारादेवी गुरुङले यानीमाया तथा सुनीमाया गीत सुनाएर सहभागीहरुलाई मनोरन्जन प्रदान गरिन् ।

अन्त्यमा अनेसास अध्यक्ष राज श्रेष्ठले प्रमुख अतिथी, विशेष अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सहभागी एवम् व्यवस्थापनमा सहयोग गर्ने समाजका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।