• २०८२ बैशाख ७ आइतबार

जनकपुरमा स्रष्टा- राजनीतिज्ञहरूको जमघट

काठमाडौँ/२० फागुन २०७८

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बिहीबारदेखि तीन दिवसीय जनकपुर साहित्य महोत्सव सुरु भएको छ । महोत्सव फागुन २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवबारे जानकारी दिँदै आयोजक समितिका संयोजक राकेशविक्रम साहले जनकपुरसहित मधेस प्रदेशमा साहित्यिक अवस्था, सम्भावनाबारे व्यापक छलफल गरी साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागेको बताए । साहका अनुसार महोत्सवमा देशभरिका ख्यातिप्राप्त स्रष्टाहरूको सहभागिता रहने छ ।

साहित्य महोत्सव अन्तर्गत फागुन २० गते समाजमा विभेद, मधेसमा ‘उद्यमी र मधेसको उद्योग तथा शिक्षा संस्कार’ विषयक कार्यपत्रमाथि विश्लेषक डा रामेश कोइराला, प्राध्यापक डा. सुषमा द्विवेदी, विश्लेषक तुलानारायण साह, पवन मण्डललगायतले समीक्षा गर्ने उनले बताए ।

फागुन २१ ‘महिला र राजनीति’ विषयमा प्रदेशसभा सदस्य मञ्जु यादव, पत्रकार सलमा खातुन, एलिजा ढकाल, चमेलीदेवी दास तथा ‘कसको लोकतन्त्र कस्तो लोकतन्त्र’ विषयमा राजनीतिज्ञ सरिता गिरी, विश्लेषक सिके लाल र हरि शर्माले टिप्पणी गर्ने कार्यक्रम रहेको पनि आयोजक समितिले जनाएको छ ।

सोही दिन ‘मधेस: एक अवसर’ विषयक कार्यपत्रमाथि सांसद विनोद चौधरी, राष्ट्रियसभा सदस्य डा विमला राई पौडेल तथा ‘परिवर्तनको सिद्धान्त’ विषयमा नेपाली काङ्ग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले टिप्पणी गर्ने प्रस्तुति गर्ने छन् भने सोही अवसरमा वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौलाले ‘मधेस, साहित्य र म’ विषयक कार्यपत्र प्रस्तुत गर्ने भएको जनाइएको छ ।