फकिर - Aksharang
  • २०७८ जेठ ४ मङ्गलबार

फकिर

आरती आचार्य

आरती आचार्य

उमेरले खोँच बनाएको आँखामाथि
विज्ञानले बनाएको चस्मा झुन्ड्याएर
दूर क्षितिजमा नागरिकको भविष्य सोच्ने
डा’ साप ! देश देखेर
तिम्रो मात्र मुटु किन दुखिरहन्छ ?
डाक्टर थियौ
डाक्टरनी बिहे गरेर
छोराछोरीलाई
फेरि डाक्टर बनाउने ध्याउन्नमा नलागेर
तिमीलाई किन कर्णाली पुग्नपर्ने  ?
कर्णालीको रोगसँग
कर्णालीको भोकसँग
कर्णालीको हैजासँग
कर्णालीको झाडापखालासँग
तिमीलाई किन यत्रो बिधी सरोकार  ?
सुदूरको ढिँडो र रोटीसँग
विकटका कान्ला र फोहोटीसँग
अगेनोमा पाक्ने अभावसँग
हार्दिकताले पस्कने स्वभावसँग
तिमीलाई किन यस्तो ज्याद्रो लगाव  ?
अचेल दुनियाँ किन्ने र बेच्नेहरूको हो
तिमीचाहिँ किन सित्तैमा सेवा बाँडिरहन्छौ  ?
भुइँमान्छेका पीडा तिम्रा आँखामा,
उनीहरूका आक्रोश तिम्रो नसामा,
दुख्नेहरूकहाँ मलम बोकेर
दुखाउनेहरूकहाँ माग बोकेर
ए डा’ साप तिमी किन लखरलखर गरिरहन्छौ  ?
घर बनाएर सम्पत्ति जोडेको भए
आफ्ना बिरामी ल्याउने क्लिनिक खोलेको भए
ए डाक्टर तिमी मालामाल हुन्थ्यौ
एउटा ठूलै नेताको पक्षमा बोलेको भए,
खान्छु भनेको भए
कमिसन आउँथ्यो
जान्छु भनेको भए
लिन प्लेन आउँथ्यो
तिमी नै उस्तै छौ र पो त !
एउटा कप्टेरोलठ्ठीजस्तै ज्यानलाई
लठ्ठीकै सहाराले धानेर
झोलामा मेट्रो र सिटामोल खाँदेर
यो बुढेसकालमा पैदल लुखुरलुखुर गाउँगाउँ चाहर्छाै

डा’ साप कसैलाई नदुख्ने देश
तिमीलाई मात्र किन दुख्नुपर्या ?
युरोप भ्रमण छोडेर हाइटी पुग्छौ
काठमाडौँ छोडेर दोलखा पुग्छौ
दुनियाँ ‘मै खाऊँ मै लाऊँ’ भन्छ
तिमी रोगीलाई औषधी खुवाऊँ भन्छौ
डा’ साप तिमी कुन दुनियाँबाट आएका हौ  ?

देश महाकालीको हिरन माग्छ
तिमी मेरो रगत चढाऊ भन्छौ
खालि अरूका लागि केही गर्न सकिनँ भन्छौ
आफ्नो लागि केही गर्दैनौ
डा’ साप कसैलाई नदुख्ने देश
तिमीलाई मात्र किन यति बिघ्न दुख्नुपर्या  ?
ए देशका प्रिय मान्छे !
देश बाँच्न तिमीजस्तै अरू पनि बाँच्नुपर्छ,
र तिमी सदा बाँचिरहने छौ ।


(आचार्य विगत एक दशकदेखि सिर्जनाका विविध विधामा कलम चलाउँदै आएकी प्रतिभा हुन्)
aratiacharyasani@gmail.com