समाचार
काठमाडौं ।
गीतकार संघ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘सम्मान तथा पुरस्कार समारोह एवं सांगीतिक कार्यक्रम’ आइतबार राजधानीमा सम्पन्न भएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित समारोहमा प्रतिष्ठित गीतकार किरण खरेलको प्रमुख आतिथ्यता रहेको थियो । संघका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली गीत–संगीत तथा साहित्य क्षेत्रका स्रष्टा, कलाकार, पत्रकार एवं विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति थियो । समारोहमा पाँच दशकदेखि नेपाली गीत–संगीत क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका प्रतिष्ठित गीतकार निर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ प्रदान गरिएको थियो । शाहलाई नगद एक लाख ५१ हजार रुपैयाँसहित सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
शाहका ‘बादल बनाई देऊ आकार बदल्न सकूँ’,‘गहिराइमा डुब्दै नडुब’,‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ हाँस्छु धेरै नै हाँस्छु’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘खुल्दैन ताल्चा त्यो ढोकाको’, ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो’, ‘आँखैमा कसैको तस्बिर’, ‘अर्को जुनी चाहिँदैन मलाई’, ‘प्यारी वसन्ती’ र ‘पसिनाको जलैले’ लगायत गीत लोकप्रिय छन् । यसैगरी ‘डायस्पोरा गीतकार सम्मान–२०८२’ गीतकार नीलम आङ्बुहाङ राईलाई नगद १५ हजार रुपैयाँसहित प्रदान गरिएको थियो । विदेशमा रहेर पनि नेपाली गीत लेखनमा सक्रिय राईका ‘पुरानो हुँदैन माया’ र ‘पानी मिठो मेरो हजुर इलाम बजारको’ लगायत गीत चर्चित छन् ।
‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान–२०८२’ बाट लोहोरुङ राई भाषाका स्रष्टा नईन्द्र लोहोरुङ राईलाई नगद २५ हजार २५२ रुपैयाँसहित सम्मान गरिएको थियो । त्यस्तै, ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ बाट गीतकार सुशीला पौडेल र अरुण तिवारी सम्मानित हुनुभयो । दुवैलाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । यस वर्षदेखि सुरु गरिएको ‘गीतकार संघ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट मिलापका सम्पादक एवम् हिमालय टाइम्सका उपसम्पादक तथा वरिष्ठ पत्रकार कृष्ण भुसाल सम्मानित हुनुभयो । सम्मानित व्यक्तित्वका तर्फबाट निर शाहले मन्तव्य राख्नुभएको थियो ।
समारोहमा ‘जगतमर्दन थापा वर्ष गीतिपुस्तक पुरस्कार–२०८२’ अन्तर्गत कल्पना खरेलको ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालको ‘भोलिको आश उज्यालो प्रकाश’ कृतिलाई जनही ५७ हजार रुपैयाँसहित पुरस्कृत गरियो । यस्तै, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार–२०८२’ डम्बर याक्सोको ‘म तिम्रो नजरमा’ र प्रवल विष्टको ‘भुल्न सकिनँ’ गीतलाई प्रदान गरिएको थियो । दुवै गीतकारलाई जनही ५७ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
सम्मान तथा पुरस्कार वितरणसँगै समारोहमा अग्रज गीतकारका १० वटा कालजयी गीत प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुत गरिएको थियो । गीतकार निर शाहको ‘गहिराइमा डुब्दै नडुब’ गायक जगदिश समालले प्रस्तुत गर्नुभयो । त्यस्तै, गीतकार डा. भोला रिजालको ‘मेरो पौवा पाटीलाई’ सञ्जय तुम्रोकले गाउनुभएको थियो । दिवंगत स्रष्टा गणेश रसिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको चर्चित गीत ‘धेरै सम्झे धेरै हुन्छ’ गायक अशोक मुकारुङले प्रस्तुत गर्नुभयो । एसपी कोइरालाको चलचित्र ‘ग्रहण’को चर्चित गीत ‘धड्कनभित्र लुकाइदेऊ न’ रूपक चौधरी र बिनुषा राईले युगल रूपमा प्रस्तुत गर्नुभयो ।
अमर बान्तुको ‘आमा’ निशा देसारले प्रस्तुत गर्दा वसन्त चौधरीको ‘मेरो प्यारो मान्छे’ माण्डवी त्रिपाठीले गाउनुभयो । संघका संस्थापक अध्यक्षसमेत रहनुभएका गीतकार डा. कृष्णहरि बरालको ‘मर्ने कसैलाई रहर हुँदैन’ बाल गायक प्रेम परियारको स्वरमा प्रस्तुत भयो ।
त्यसैगरी योगेन्द्रमणि दाहालको ‘बादलहरू हो’ सञ्जय तुम्रोक, चूडामणि देवकोटाको देशभक्तिपूर्ण गीत ‘तिम्रो पनि रगत’ सुमित खड्का तथा शुभ मुकारुङको ‘तिमीले मलाई छाडी गए’ गणेश पराजुलीले प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ संगीतकार अशोककुमार राईको संगीत संयोजनमा १५ जना वाद्यवादकले गीतमा प्रत्यक्ष संगीत दिएका थिए । समारोहमा संघका नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्रमलाई विभिन्न रूपमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष एवं सभापति वसन्त बित्यासी थापाले देशको असहज परिस्थितिका कारण यसअघि तय गरिएको कार्यक्रम स्थगित गर्नुपरेको स्मरण गर्दै विपद्का बेला संघले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताउनुभयो ।
उहाँका अनुसार भदौ १० गते आएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण कार्यक्रम स्थगित गरिएको थियो । कार्यक्रमका लागि छुट्याइएको रकममध्ये एक लाख १५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । ‘नेपाली गीत–संगीत र शब्दको गरिमालाई उच्च राख्न संघ सधैँ प्रतिबद्ध छ,’ अध्यक्ष थापाले भन्नुभयो, ‘कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्रष्टा, कलाकार, पत्रकार, संघ–संस्था तथा उपस्थित सबैप्रति आभार व्यक्त गर्दछु ।’
समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, सदस्य सचिव भूपेन्द्र रायमाझी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, सांगीतिक संघ नेपालका अध्यक्ष मिलन मोक्तान, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलगायत कला तथा साहित्य क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो । संघका संस्थापक अध्यक्ष तथा गीतकार कृष्णहरि बराल, गीतकार भोला रिजाल, एसपी कोइराला, राजेन्द्र थापा, अमर बान्तु, दिनेश अधिकारी, सुबासचन्द्र ढुंगेल, प्रमोद ढुंगाना, भूषण खरेल, योगेन्द्रमणि दाहाल, शुभ मुकारुङ, सुनिल मास्केलगायतको पनि कार्यक्रममा सहभागिता थियो । कार्यक्रम सञ्चारकर्मी एवं संघका आजीवन सदस्य हेम सुवेदीले सञ्चालन गर्नुभएको थियो भने रेडियो आहा १०४.५ मेगाहर्ज तथा रेडियोको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।
