समाचार

त्यसपछि मैले नभनीकनै बिनीले मेरो कोठा व्यवस्थित गरिदिई । म कराइरहेँ– त्यसका लागि घरभरि नोकर चाकर छन् भनेर तर उसले हाँस्दै भनी ‘म पनि त नोकरमै गनिन्छु नि होइन र ?’
‘सटअप…!’ मैले कोमल स्वरमा भनेँ– ‘यु आर माई फ्रेन्ड । यु कान्ट से द्याट ।’
‘त्यही भएर नै होला तिमीले मलाई पैसा अफर गरेको ।’
‘त्यो त…।’ मैले दुःखी हुँदै भनेँ– ‘आई अलरेडी अपोलोजाइज फर द्याट । तर पनि तिमी अझै नराम्रो मानिरहेकी छ्यौ भने बिन्ती, त्यसका लागि मलाई माफ गर ! म जति नै ठूलो बिजनेसम्यान भए पनि मेरो बोल्ने ढङ्ग रहेनछ– त्यो मलाई अहिले अनुभूत हुँदैछ । यदि म सक्षम हुँदो हुँ त घुँडा टेकेर आफ्नो अभद्रताका लागि तिमीसँग माफी…।’
‘लौ हेर ! तिमी त सिरियस पो भयौ त । म त खालि मजाक गरिरहेथेँ ।’ उसले मेरो कुरा काटेर मलाई रोक्ने प्रयास गरी ।
‘तिमीले मजाक नै गरेको भए पनि मलाई मेरो गल्तीका लागि एकदमै अफसोच छ । म तिमीसँग मद्दत मागिरहेथेँ र साथसाथै तिम्रो अपमान पनि गरिरहेथेँ ।’
‘तिमी त्यो सब सोचेर दुःखी नहोऊ प्रत्यूष, किनभने अपमान उसको हुन्छ जसको कुनै मान सम्मान हुन्छ । म त…।’ ऊ बोल्दाबोल्दै चुप लागी ।
ट्रे बोकेर अघिअघि धनबहादुर काका र पछिपछि सुप्रिया भित्र प्रवेश गर्दै थिए । बिनीले अघि बढेर काकाको हातबाट ट्रे समाउँदै भनी– ‘तपाईं एक्लैले किन यत्रो सारा चीज उठाएर ल्याउनुभएको ? मलाई भन्नुभएको भए म पनि सघाइहाल्थेँ नि ! यत्रो दुई तला माथि…!’
‘कुन ठूलो कुरा भयो र ?’ सुप्रियाले उपेक्षाले मुख बिगार्दै भनी ‘द्याट्स हिज जब, वि पे फर इट । त्यसमाथि ऊ परिवारको सदस्य पनि होइन । त्यसैले उसलाई यो आदर देखाउन जरुरी छैन । जस्ट डु योर जब, द्याट्स इट…।’
मेरो मुख मात्र होइन, मन पनि अमिलो भयो । तर मैले चिढिएर केही बोल्नुभन्दा पहिल्यै बिनीले विनम्र स्वरमा भनी– ‘सरी म्याम ! तर म उहाँको ओहदालाई होइन, उहाँको उमेर र स्नेहलाई आदर दिइरहेको छु । अनि जो व्यक्ति परिवारसँग जोडिएको हुन्छ, मलाई लाग्छ ऊ परिवारमै गनिन्छ ।’ त्यसपछि उसले काकालाई लक्ष्य गर्दै भनी– ‘धन्यवाद काका, अब तपाईं गए हुन्छ । बाँकी म सम्हाल्छु ।’
मैले देखेँ काकाको अनुहार एकै क्षण धपक्क बल्यो । उनले बडो सम्मानका साथ बिनीतिर हेरेर टाउको झुकाए अनि बाहिर निस्किए । कसैले कति सही भनेको थियो– आदर पाउनका लागि आदर दिन पनि जान्नुपर्छ । कति सही कुरा !
त्यसबेला मेरो मनले यही कामना गर्यो– यो सोचाइ बिनीको नभएर सुप्रियाको हुँदो हो ? तर क्याक्टसमा कमल फुल्ने अपेक्षा राख्नु मरुभूमिमा पानी खोज्नु जस्तै होइन र ?
‘म त हजुरको नर्सका लागि राती सुत्ने व्यवस्था मिलाइदिऊँ कि भनेर पसेको…,’ सुप्रिया भन्दै थिई– ‘स्टोरबाट म्याट्रेस झिक्न भनेको छु, यहीँ कतै…।’
‘यहाँ कहाँ…?’ मैले उसलाई उछिन्दै भनेँ– ‘तल श्रेयाकै रुममा सुत्ने व्यवस्था मिलाइदेऊ न ! हुन त तल गेस्ट रुमहरूमध्येको कुनै…।’
‘त्यहाँ कहाँ ? बच्चीलाई डिस्टर्ब हुन्छ । अनि गेस्टरुमबाट तलमाथि गर्न टाढा पर्छ ।’ सुप्रियाले मेरो कुरा काटी ।
‘त्यसो भए बाहिर मेरो स्टडीमा…।’
‘के कुरा गरिसिन्छ हजुर पनि ?’ उसको स्वर चर्को भयो ‘पाहुनालाई झैँ सुताउने हो भने नर्स नै किन राख्नुपर्यो र ? रातबिरात आवश्यक पर्यो भने उसलाई उठाउन को उठ्नसक्छ ? हजुर त एउटा बेलसम्म बजाउन सकिसिन्न भने…।’
‘आइ थिङ्क सि इज राइट,’ बिनीले बिस्तारै भनी– ‘म यहीँ कहीँ आफ्नो व्यवस्था मिलाउँछु । यु डोन्ट वरी म्याम ।’
त्यसपछि सुप्रियाले केही भनिन । म बोल्न खोजेको देखेर बिनीले मलाई चुप लाग्न ईसारा गरी । केहीबेर विनाउद्देश्य त्यहाँ बसेर सुप्रिया बाहिर निस्की । ऊ निस्कनेबित्तिकै मैले अप्रसन्न स्वरमा भनेँ– ‘तर बिनी यहाँ कहाँ सुत्छ्यौ तिमी ? यहाँ त…।’
‘त्यहीँ सोफामा सुत्छु ।’
‘सोफामा ? तर सोफामा त…।’
‘तिम्रो सोफा नै मेरो बेडभन्दा ठूलो छ । त्यसमाथि पनि सिङ्गैसिङ्गै रात नसुतेर बिताउने बानी छ मेरो । तिमी चिन्ता नगर ।’
‘तर बिनी…।’
‘इनअफ प्रत्यूष !’ उसले खानेकुरा जबर्जस्ती मेरो मुखमा राखिदिँदै भनी– ‘त्यसमाथि पनि मलाई अप्ठ्यारो भयो भने म तिम्रो यो ४ जना ढलीमली सुत्न मिल्ने पलङमै घुस्रिदिउँला । मलाई थाहा छ– तिम्रो बेडमा, तिम्रो साइडमा सुत्नुमा कुनै खतरा छैन । हुनुपर्ने बेलामा त थिएन भने अहिले त झन् तिमीले चाह्यौ भने पनि केही हुन सक्नेवाला छैन, कसो ?’ उसको त्यो मजाकले मेरो मुटुको स्पन्दन केही बेर अलि छिटो दौडियो । मेरो चेतना शून्य शरीर पनि सिरिङ्ग भयो सायद । मैले टाउको झुकाएँ ।
पहिलोपटक म ऊसँग ट्वाइलेट जान हिचकिचाएपछि उसले भनि– ‘त्यसो भए म यहाँ हुनुको के फाइदा ? यसरी स–सानो सहयोगका लागि पनि बारम्बार काकाकै मुख हेर्नुपर्छ भने मेरो हुनु र नहुनु बराबर भएनर ?’
‘तर बिनी, मैले तिमीलाई यी कामका लागी यहाँ रोकेको…।’
‘यहाँ म तिम्रो नर्स हुँ, रिमेम्बर ? तिमीले यसरी बारम्बार काकालाई गुहारिरह्यौ भने सबैभन्दा पहिले तिम्रै धर्मपत्नीलाई मेरो यहाँ हुनुसँग समस्या हुनेछ । तिमी चाहन्छौ त्यस्तो केही होस् ?’
म कसरी त्यो चाहनसक्थेँ ? मैले लाज पचाएर विरोध गर्न छोडिदिएँ । त्यसपछि उसले मलाई यसरी सम्हाली, कुनैबेला यस्तो लागेन म अपाहिज, लाचार छु । दिनमा दुईपटक फिजियोथेराफिस्ट आएर मसाज र एक्सरसाइज गराउँथ्यो । त्यसपछि दिनभरिमा कमसेकम चारपटक ऊ फिजियोथेरापिस्टले गरेजस्तै गरी मेरो हात गोडाको मसाज गरिदिन्थी । फिजियोसँग सयौँ हजारौ प्रश्न सोध्थी । मजस्तो क्वाड्रप्लिजिक (quadriplegic) लाई ह्यान्डल गर्ने तरीका सिक्नलाई आनेकानेक पुस्तक खोजेर पढ्थी । कुनै असजिलो र घिनविना मेरो दिसा, पिसाब स्याहार्थी । साँच्चै हो रहेछ– नर्स हुनका लागि ट्रेनिङ्भन्दा पहिले मान्छे हुन जरूरी हुनेरहेछ । नत्र ट्रेनिङ्विनाकी बिनी केवल फिजियोले सिकाएको, किताब पढेको भरमा कसरी त्यति सहजतापूर्वक मेरो रेखदेख गर्न सक्थी ? त्यति सहजै मलाई ह्विलचेयरबाट बेड र बेडबाट ह्विलचेयरमा सार्न सक्थी ? दिनप्रतिदिन ऊ मेरो दिनचर्यामा सास फेर्नुजत्तिकै महत्वपूर्ण हुँदैगई । अनौठी थिई ऊ । ऊसँग कुराहरूको यति ठूलो सँगालो थियो, जुन कहिल्यै सकिन्थेन ।
अचम्मको कुरा त के थियो भने– उसको कुरा सुनेर म कहिल्यै बोर हुन्थिनँ । ऊसँग सुनाउनका लागि चुट्किलाहरूको कमी थिएन । जब ऊ ती चुट्किलाहरू मलाई सुनाउँथी, हाँस्दाहाँस्दा मेरा आँखामा आँसु नै आउँथ्यो । यहाँसम्म कि ऊ दायाँबायाँ हुँदा पनि मलाई उसका कुराहरूले, उसका चुट्किलाहरूले हँसाइरहन्थी । उसको साथमा, उसको सहारामा मलाई जिन्दगी यति सुखद, यति तृप्तिपूर्ण लागिरहेथ्यो कि म कुनैकुनै बेला अन्जानमै भगवानसँग प्रार्थना गर्नपुग्थेँ– हे ईश्वर ! म सधैँ यस्तै रहूँ । कहिल्यै यो ह्विलचेयरबाट उठ्न नसकूँ ।
ऊ कहिल्यै गम्भीर हुँदिनथी । उसको सेन्स अफ ह्युमर गजबको थियो । म सोचेर हैरान हुन्थेँ, जुन स्थितिमा मैले उसलाई भेटेको थिएँ, ऊजस्ती केटी त्यहाँसम्म कसरी पुगी ? उसको कुराकानी, अबोधता, व्यवहार र हाउभाउले कहिले ऊ मलाई आठ वर्षकी बच्चीजस्ती लाग्थी भने कहिले ८० वर्षकी पाकी । कहिले मूर्ख, फन्टुस् लाग्थी भने कहिले बुद्घिजीवी, विद्वान् । कहिले ऊ मलाई आदरयोग्य लाग्थी भने कहिले माया गर्न लायक । कहिले ऊ मलाई चपला, चञ्चल, टिनएजर लाग्थी भने कहिले एउटी जिम्मेवार गृहिणी । उसका हरेक रूप, हरेक हाउभाउमा एउटा जादु, एउटा अनौठो आर्कषण भेट्टाउँथेँ म ।
आउँदा ऊ रित्तै हात आएकी थिई । त्यसैले साँझमा मैले उसलाई जबर्जस्ती केही पैसा दिएर वासुको साथमा सपिङ् गर्न पठाएको थिएँ । उसले केही टिसर्ट, ट्राउजर, नाइट सुट, सुतीको टिसर्ट, पाइजामा, दुई जोर कुर्था–सुरुवाल, टुथपेस्ट, ब्रस, ह्यान्ड क्रिम र अरू उसका डेली युजका केही सामान किनेर ल्याएकी थिई ।
फिर्ता पैसा मेरो सामुन्ने गनेर ड्रअरमा राख्दै उसले भनेकी थिई– ‘यी सबै सामानको पैसाचाहिँ म तिमीलाई फिर्ता गर्छु है, नत्र मलाई यही लाग्नेछ, मैले तिमीसँग ‘फिस’ लिएँ ।’ मैले प्रतिवाद गर्न मुख खोलेँ मात्र तर केही भन्ने साहस गर्न सकिनँ ।
जब पहिलोपल्ट उसले मलाई नुहाइदिएर लुगा फेराई, त्यसपछि उसले भनी– ‘वाओ ! मलाई त थाहै थिएन नर्सहरू यति पावरफुल हुन्छन् भनेर ।’
‘किन, के कारणले तिमीलाई लाग्यो, नर्सहरू पावरफुल हुन्छन् भनेर ?’ मैले आफ्नो उत्सुकता पोखेँ ।
‘किनभने– जुन प्रत्यूष प्रधानलाई एउटी पेसेवर आइमाईको अर्धनग्न शरीरले नङ्ग्याउन सकेन, उसलाई एउटी नर्सले एक क्षणमैं नङ्ग्याइदिई, कसो ?’ उसले हाँस्दै भनी । मेरो अनुहार रातो भयो । मैले लाजले भुतुक्क हुँदै यति नै भन्न सकेँ– ‘धत् !’
‘यो जानेर खुसी लाग्यो– अरूअरू पुरुषमा नभए पनि तिमीमा लाज र सङ्कोच अझै बाँकी रहेछ । नत्र त मैले पुरुषहरूमा निर्लज्जता, विश्वासघात र स्वार्थबाहेक अरू केही भेट्दैभेटिनँ आजसम्म ।’ यसपटक उसको स्वर गम्भीर थियो । म केही बोलिनँ, केवल उसको कुनै दागरहित सुन्दर, सुकुमार अनुहारमा हेरिरहेँ । विश्वास गर्न कठिन थियो, यति पवित्र देखिने अनुहार एउटी बेश्याको हुनसक्थ्यो ।
यसरी नै अर्को एक महिना बित्यो । क्यालेन्डरले डेट जुन देखाए पनि मलाई पत्यार नै लाग्दैनथ्यो कि मेरो जीवनको त्यो स्वर्णिम पल एक महिनामा परिणत भैसकेको छ । अहिलेसम्म मेरो स्थितिमा कुनै अन्तर आएको थिएन । र म खासै चिन्तित पनि थिइनँ आफ्नो स्थितिलाई लिएर । बिनीको रेखदेखमा मेरो जिन्दगी यति सुखद सुन्दर भएको थियो– जुन पहिले कहिल्यै थिएनन् । मेरा बिहान सुन्दर भएका थिए । दिन स्निग्ध । रात स्वप्निल । मैले आफ्नो लाचारी बिर्सिएको थिएँ । मेरो घरको तीतो, नमिठो वातावरणमा अनौठो मिठास घुलिएको थियो । म सन्तुष्ट थिएँ र मेरो यही सन्तुष्टि नै कारण थियो सायद मेरो स्थितिमा अन्तर नआउनुमा पनि ।
यो एक महिनामा बिनी त्यस घरमा यसरी घुलमिल भएकी थिई जसरी दूधमा चिनी । घरका नोकरचाकरदेखि फुपूसम्म ऊसँग झ्याम्मिसकेका थिए । एकजना सुप्रियाको भन्न सक्तिनँ, बाँकी कमलदेखि श्रेयासम्म, धनबहादुर काकादेखि फुपूसम्म, हरेकसँग उसको कुरा मिलेकै हुन्थ्यो । यहाँसम्म कि जोसुकैलाई प्रवेश निषेधित क्षेत्र मानिने फुपूको मन्दिरमा समेत उसको प्रवेशमा कुनै रोकटोक थिएन । ऊ फुपूसँगसँगै पूजामा बस्थी । पूजा भाँडा माझ्थी । फूल टिपेर पूजाको लागि ठिक्क पार्थी । फुपूका बाथले थिलथिलो भएर दुःखेका खुट्टामा सम्झे–जानेजतिका चीज लगाएर मालिस गरिदिन्थी । धनबहादुर काकाको बसेको घाँटी ठीक पार्न बेसार, जिरा, पानी पकाएर उनलाई पिउन बाध्य गर्थी । भान्सामा पसेर काम गर्नेहरूसँगसँगै खाना बनाउँथी ।
सबैको अनुहार उज्यालिन्थ्यो उसलाई देखेर । सुप्रियासँग सधैँ झगडिरहने इन्द्र मामा पनि हरदम बिनीकै अघिपछि गरिरहनुहुन्थ्यो । कसैसँग प्रायः नबोल्ने दब्बु सुदर्शन पनि ऊसँग बोलिरहेको देखेर म यही सोचिरहन्थेँ– आखिर उसमा के त्यस्तो खुबी छ जसले एक जनालाई मात्र होइन, उसका वरिपरिका सबैलाई मुग्ध बनाउँथ्यो ?
म त झन् उसमा यति निर्भर थिएँ कि कुरै छोडौँ । मेरो हेरविचार त उसको जिम्मामा छँदैथियो, त्यसबाहेक ऊ मेरो अफिसियल काममा समेत सहायता गर्थी । घरबाट हुनसक्ने अफिसका कामबाहेकका अरू कामको जिम्मा कमल, वासु, अकाउन्टेन्ट र अरू दुई–चार जना पुराना विश्वासपात्र कर्मचारीहरूको जिम्मामा थियो । तर अब म कामको जिम्मेवारी सुप्रियालाई दिनेबारेमा सोच्दै थिएँ । थाहा छैन, अझै कति समय लाथ्यो मलाई उठ्न, उठेर हिँड्न ? कमसेकम मेरो सल्लाह, सुझावअनुसार सुप्रियाले अफिसको कामकाज हेर्न सिकी भने राम्रै हुन्थ्यो । उसले इन्ट्रेस्ट पनि देखाइरहेकी थिई ।
त्यस दिन मैले त्यही सम्बन्धमा कुराकानी गर्ने उद्देश्यले फोन गरेर कमललाई घर बोलाउन बिनीलाई आग्रह गरेँ । मेरो हाउसहोल्डमा चारवटा भिन्दाभिन्दै फोन नम्बरहरू सञ्चालित थिए तर जबदेखि म लाचार भएको थिएँ ती चारवटै फोनहरू मेरो बेडरुमको फोनसँग कनेक्टेड थिए, मेरो सुविधाका लागि । मेरो आग्रहमा बिनीले फोन उठाई तर नम्बर थिच्नुअघि नै उसको अनुहारको भाव यसरी फेरियो मानौँ उसले फोनको रिसिभर होइन बिजुलीको नाङ्गो तार समातेकी थिई । उसले बडो जतन साथ, सास रोकेर बिस्तारै रिसिभर क्रेडिलमा राखी अनि लामो सास फेरी ।
‘के भयो ?’ मैले आश्चर्यपूर्वक भनेँ– ‘किन फोन राखेको ?’
‘म…अहिले एक छिनमा गर्छु ।’ उसको स्वरको हिचकिचाहटले मलाई झनै उत्सुक बनायो ।
‘किन, को छ फोनमा ? के सुन्यौ तिमीले त्यस्तो जसले तिम्रो अनुहारको रङ्ग यस्तरी उडायो ?’
‘म.. मलाई थाहा छैन । तिमी मसँग केही नसोध !’ उसले मसँग आँखा जुधाउन हच्किँदै भनी ।
‘बिनी..! पिक अप द फोन…!’ मैले अलि कडा स्वरमा भनेँ– ‘या त तिमी मलाई भन तिमीले के सुन्यौ या रिसिभर उठाएर मेरो कानमा जोडिदेऊ ।’
‘प्रत्यूष, जान देऊ न प्लिज, अहिले केही बेरमा म…।’ उसले अचानक केही सम्झेझैँ गरी भनी– ‘लौ हेर, मैले त भुसुक्कै बिर्सिएकी, मेरो तल एउटा जरुरी काम थियो । म अहिले आइहाल्छु ।’ ऊ बाहिर निस्कन लम्की ।
‘स्टप राइट देअर…!’ म कराएँ– ‘बिनी, तिमीलाई उसको कसम, जसलाई तिमी साँच्चै माया गछ्र्यौ, जो तिमीलाई संसारभरिमा सबैभन्दा प्रिय छ– त्यो रिसिभर उठाएर मेरो कानमा राख, या…या फेरि तिमी कहिल्यै त्यो अनुहार देख्न नसक जो…।’
‘प्रत्यूष…!’ उसको अनुहार आतङ्कित देखियो– ‘डोन्ट से अ वर्ड ! प्लिज !’ उसले काँतर स्वरमा भनी र हतारिँदै आएर फोन उठाएर मेरो कानमा जोडिदिई अनि मुन्टो अन्तै फर्काई । मैले उसलाई धन्यवाद भन्न नपाउँदै मेरो कानमा सुप्रियाको आवाज ठोक्कियो ।
ऊ फोनमा भन्दै थिई– ‘जब यतिका दिन त चुप बस्यौ भने अरू केही दिन पर्ख न । कोसिस त गरि नै रहेकी छु म…।’
‘सिपी…!’ उत्तरमा एउटा अति व्यग्र पुरुष स्वरले भन्यो– ‘कति पर्खौं ? आधा बाटोमा हात छुटाएर तिमी नै अघि बढ्यौ । म बिर्सने कोसिस गर्दै थिएँ, तिमी फेरि मेरो जिन्दगीमा फर्कियौ । लुक्दै, लुकाउँदै तिमीलाई साथ दिएको पनि चार वर्ष भैसक्यो । अब अरू कति कुरौँ म ?’
मलाई लाग्यो– कसैले मेरो कानमा तताएको झीरले घोचिदियो । मेरा दाँत आफ से आफ बाँधिए । म सास रोकेर सुनिरहेँ । सुप्रिया भन्दै थिई– ‘मेरो खुसी त थिएन नि तिम्रो साथ छोड्नुमा । क्यान्सरपीडित आमा र भाइ, बहिनीको जिम्मेवारी, टाउको माथि जँड्याहा बाउले छोडेको ऋण । के गर्थें म ? तिमीमा त त्यति खुबी पनि थिएन कि तिमी मलाई नै पाल्न सक, मेरो परिवारको त कुरै छोड । त्यस्तो स्थितिमा उसको बिहेको प्रस्ताव स्वीकार गर्नुको अर्को के विकल्प थियो मसँग ? फेरि तिमीलाई ढाँटेर त मैले ऊसँग बिहे गरेकी थिइनँ नि ? तिमीलाई सबै स्थिति सम्झाएर, तिम्रो सहमतिपछि नै मैले उसलाई जवाफ दिएकी थिएँ । आज आएर तिमी किन मलाई दोष दिन्छौ ?’
फोनमा केहीबेर मौनता छायो ।
‘हेर विपिन…!’ सुप्रियाले फेरि भन्न सुरु गरी– ‘तिम्रो मन दुःखाउने उद्देश्यले भनेको हैन मैले । खालि यत्ति नै भन्न चाहन्छु– जहाँ यतिदिन बित्यो, त्यहाँ अरू केही दिन सही । अचेल त ऊ पनि झर्कोफर्को गर्दैन । खुसी नै देखिन्छ । सही मौका छोपेर मैले ऊसँग कुरा गर्ने मन बनाएकी छु । उसले यदि मलाई अफिस, बिजनेसको सारा जिम्मेवारी र चेकहरूमा सही गर्ने अधिकार दियो भने त के चाहियो र ? यतिका वर्ष उसकी स्वास्नी बनेको मुआब्जा त उठाउन देऊ । त्यसपछि त म तिमीलाई कुनै गुनासो गर्ने मौकै दिन्नँ नि । सुमन्तलाई ऊ आफैँले पढ्नका लागि बाहिर पठाउँदैछ । श्रेयाको कुनै चिन्ता छैन । मलाई विश्वास छ, उसले पनि कुनै न कुनै ‘प्रत्यूष’ अवश्य फेला पार्नेछे । त्यसपछि मलाई ऊसँग बाँधिइरहने कुनै आवश्यकता छैन । बस अलिकति अरू पैसा हात लागिहालोस् । सुमन्त बाहिर गैहालोस् । उसो त छ अलिअलि पैसा मसँग तर उसको यस्तो स्थितिमा अझै धेरै हात पर्ने सम्भावना भएकोले…।’
‘तर यदि उसले तिमीलाई त्यो अधिकार नै दिएन भने ?’ पुरुष स्वरले सोध्यो ।
‘कसरी दिँदैन ?’ यसपटक सुप्रियाको स्वरमा मिसिएको क्रूरताले मलाई नराम्ररी चिथोर्यो । म सास रोकेर उनीहरूको कुरा सुनिरहेँ । ‘नदिएर सुख ? छ फिटभन्दा अग्लो शरीर त ह्विलचेयरको लायक बनेको छ भने छ इन्चको गर्धनको के कुरा ? त्यसलाई त इच्छानुसार जता मनलाग्यो उतै मोड्न सकिन्छ, कसो ?’
अगाडि मैले सुनिरहन सकिनँ । मैले निःशब्द, आफ्नो टाउको रिसिभर भन्दा सकभर टाढा लग्नखोजेँ । मेरो मनसाय बुझेर बिनीले फोन मेरो कानबाट हटाएर सावधानीपूर्वक क्रेडिलमा राखिदिई । मैले निरीह भावले बिनीतर्फ हेरेँ । ऊ मदेखि पर, मतिर पिठ्यूँ फर्काएर झ्यालछेउ गएर उभिएकी थिई । बाहिरतिर फर्किएको उसको शरीर बिस्तारैबिस्तारै हल्लिरहेको थियो ।
के ऊ रुँदै थिई ? सोचेर मात्रै मेरो मन छटपटायो । आकुल–व्याकुल मैले अहिले भर्खरै फोनमा सुनेका सुप्रिया र उसको यारबीचको कुराकानी बिर्सिएँ । अनायास मलाई केही बेरअघिको उसप्रतिको आफ्नो व्यवहार याद आयो । के उसको आँखाको आँसुको कारण म थिएँ ? यदि थिएँ भने, धिक्कार छ मलाई ।
मेरा आँखा सामुन्ने अघिल्लो हप्ताको एउटा साँझ चित्रित हुन आइपुग्यो, जब बिनीले छुट्टीका लागि अनुरोध गरेकी थिई ।
०००
‘किन भन त ? कहाँ जानु छ र तिमीलाई ?’ उसको साथविनाको आफ्नो कल्पनाले आक्रान्त हुँदै मैले सोधेथेँ ।
‘प्रत्यूष, जरुरी नभए म किन जान्थेँ भन त ? दुई महिना हुनै लाग्यो म यहाँ बसेको, यसबीच म कहिल्यै बाहिर निस्किनँ, तिम्रो व्यक्तिगत कामको लागिबाहेक । अहिले जरुरी छ त्यसैले भनेकी हुँ । अर्को कुरा, तिमी यसरी आत्तिएर नदेखाऊ प्रत्यूष, तिमीलाई पनि थहा छ म सधैँ यहीँ बसिरहन सक्तिनँ । एक दिन जानैपर्छ मैले । सधैँका लागि ।’ उसले मलाई सम्झाउन खोज्दै भनी । तर उसको त्यो भनाइले, सम्झाउने कोसिसले मेरो अनुहारको रङ फेरियो । के गर्थें म ऊविना ? मैले सोच्न सकिनँ । निरीह भावले उसको अनुहार हेरिरहेँ ।
‘तर म अहिल्यै त जान लागेकी होइन नि !’ उसलाई ममाथि, मेरो निरीहतामाथि दया जाग्यो सायद, त्यसैले उसले कोमल स्वरमा भनी– ‘अहिले त म केवल एक रातको छुट्टी मागिरहेकी छु तिमीसँग । भोलि त फर्की हाल्छु नि ! प्रत्यूष, एकरात काम चलाऊ न है मविना । प्लिज ! भोलिको रात म तिमीलाई एक्लै छोड्ने छैन, प्रमिस ।’ उसको त्यस्तो अनुहार देखेपछि मैले केही भन्न सकिनँ ।
मलाई खाना ख्वाएर, ओछ्यानमा पल्टाएर, काकालाई मेरो ड्युटीमा खटाएर घरबाट निस्केकी थिई ऊ त्यो साँझ । मलाई यस्तो लागेको थियो– उसलाई पछ्याउँदै मेरो मुटु पनि बाहिर निस्कियो ऊ सँगसँगै । त्यो सिङ्गै रात म निदाउन सकेको थिइनँ । मेरा आँखा नचाहँदानचाहँदै पनि बिनी सुत्ने सोफातिर उठिरहन्थे । कमसेकम २० पटक मैले काकासँग पानी मागेँ अनि पचासभन्दा धेरैपटक ‘कतिबज्यो ?’ भनेर सोधेँ ।
बिहानीपख एकैक्षण झपक्क निदाएर ब्यूँझनेबित्तिक्कै काकासँग मेरो पहिलो प्रश्न थियो– ‘काका, बिनी फर्की ?’
काकाले पुलुक्क मतिर हेर्दै नकारात्मक सङ्केतमा टाउको हल्लाए । त्यसपछि म त्यहाँ बसिरहन सकिनँ । काकाले मलाई बाथरुम लगेर मुख धुलाएर, ब्रस गराएर, क्याथेटर (युरिनको ब्याग) खाली गरेर फिर्ता ल्याउनेबित्तिकै मैले तल जान जिद्दी गरेँ । उनले मलाई लगेर डाइनिङ् रुममा बसाए, जहाँबाट टाढाको मेनगेट देख्न सकिन्थ्यो । म एकोहोरिएर त्यतैतिर हेर्नथालेँ । फुपूले पूजा सिध्याएपछि मलाई टीका लगाइ दिएर प्रसाद ख्वाउँदै भन्नुभयो– ‘आज हरितालिका तीज । शिवजीको कृपाले तिमी छिट्टै ठीक हुनू बाबु ! म तिमीलाई यो हालतमा देख्न सक्तिनँ ।’
‘फुपू आज हो र तीज ? मलाई त थाहै थिएन ।’ मैले भनेँ ।
समय आफ्नो रफ्तारमा कहाँबाट कहाँ पुगिसकेको थियो तर म जहाँको तहाँ थिएँ । बिनी साथमा भैरहने हो भने मलाई सारा जीवन यसरी नै काट्न मञ्जुर थियो तर यो कहाँ सम्भव थियो र ? म जमेको पानी थिएँ, ऊ कल–कल निर्वाध बगिरहको नदी । न म उसलाई आफूसँग जमाउन चाहन्थेँ, न ऊसँगै बग्न सक्थेँ । कसरी सम्भव थियो हाम्रो साथ ? मैले लामो निःश्वास फेरेँ ।
‘थाहा होस् पनि कसरी ? यहाँ त कुनै कुरा…।’ फुपू बोल्दाबोल्दै चुप लाग्नुभयो, किनभने सुप्रिया कराउँदै भित्र पसी– ‘मदन ! यस बेलासम्म चिया किन नल्याएको माथि ?’
‘ल्याउँदै थिएँ हजुर ।’ मदनले भान्साबाट निस्कँदै दबेको स्वरमा भन्यो ।
‘नकराएसम्म केही हुन्न यो घरमा,’ सुप्रिया भुनभुनाइरही– ‘अब यो ट्रे बोकेर कता नि ? त्यहीँ टेबलमा राख् ! त्यहीँ बस्छु म…।’ ऊ आएर मभन्दा दुई–तीन कुर्सी पर बसी । मदनले ट्रे टेबलमा राखेर चियाको मग सुप्रियाको अगाडि राखिदियो ।
‘श्रेयाको चिया माथि पुर्याएर आ, अनि मेरा लागि ब्रेकफास्ट बना । श्रेयालाई सोध ऊ के खान्छे ।’ सुप्रियाले चियाको मग आफूतिर तानी । फुपू त्यहाँबाट निस्कनुभयो ।
‘सुप्रिया, आज त तीज होइन र ?’ उसले चियाको मग ओठमा जोड्नुभन्दा पहिल्यै मैले सानो स्वरमा भनेँ– ‘तिमी मन्दिर…।’
‘मैले हजारपटक भनिसकेँ म भोको पेट बस्न सक्तिनँ भनेर तर हजुरचाहिँ मेरो पछि पर्न छोडिसिन्न । बिहे भएकै वर्षको तीजमा मैले भनेको थिएँ हजुरलाई– म व्रत बस्न सक्तिनँ, सिँगारिएर मन्दिर जानमा पनि मलाई कुनै इन्ट्रेस्ट छैन भनेर । त्यसमाथि पनि मलाई यी सब पाखण्डमा विश्वास नै लाग्दैन । तर हरेक वर्ष हजुर मलाई यो तीज पञ्चमी र मन्दिर किन सम्झाइसिन्छ, कुन्नि ? अचेल बाहुनहरूले त छोडिसके यो सब ढोँग तर यौटा नेवारको मनबाट भने कहिल्यै मेटिने भएन तीजको रहर…।’ उसले चियाको मग लिएर डाइनिङ् हलबाट बाहिर निस्कँदै तिक्त स्वरमा भनी– ‘वाक्कै भएँ म त…।’
मलाई उसका यस किसिमका कुराले नराम्रो त हरेकपटक लाग्दथ्यो तर यसपटक भने मेरो मन टुक्राटुक्रामा विभाजित भयो । कसरी बित्छ जीवन यस्तो जीवनसाथीको साथमा, जोसँग बोल्नका लागि दुई वचन मीठो बोल पनि थिएन ! त्यसपछि मैले केही खान सकिनँ । न चिया नै पिएँ । बस्, एक टकले मेनगेटतिरै हेरिरहेँ ।
श्रेया आएर केही बेर मेरो छेउमा बसी । केही क्षण सुदर्शन आएर केही भन्न खोजेझैँ गरी मेरोवरिपरि घुमिरह्यो तर मैले ध्यानै दिइनँ । सबैसँग झर्किरहेँ । च्याँट्ठिएर आफ्नो कुण्ठा पोखिरहेँ । १२ बजेतिर कमल अफिसको काम लिएर आयो । काममा भुलेर उदासी, एक्लोपन र खिन्नता केही क्षणकै लागि भए पनि बिर्सिएँ मैले । लगभग पाँच बजेतिर काम सकियो । काकाले फेरि खानेकुराको ट्रे ल्याएर टेबलमा राखे ।
‘मैले भनेको थिएँ म खान्न भनेर…।’ म जङ्गिएँ– ‘फेरि किन तपाईं घरिघरि यो ट्रे ल्याएर मेरो सामू तेस्र्याउनुहुन्छ ? फिर्ता लैजानूस् । अर्कोपटक फेरि नल्याउनुहोला ।’
‘तर सानो राजा, बिहानदेखि एक ग्लास पानी पनि पिइबक्सेको छैन, यसरी त…।’
‘के हुन्छ यसरी, मरिन्छ ?’ म झनै ठूलो स्वरमा कराएँ– ‘यहाँ बाँच्ने इच्छा पो कसलाई छ र ? अपाहिज शरीर, आधा अधुरो जिन्दगी । यसरी बाँच्नुभन्दा त मर्नु बेस् ।’
‘प्रत्यूष, कम डाउन प्लिज !’ कमलले मेरो घुँडामा हात राखेर बिस्तारैभन्यो– ‘उत्तेजना तपाईंका लागि ठीक हुँदैन…।’
‘कमल, मेरो जिन्दगीमा केही ठीक छैन । कुनै एउटा कुरा यस्तो छैन जो…।’ अचानक मैले बोल्न बिर्सिएँ । मेरो अनुहारको भाव देखेर कमल र काकाले पनि फर्केर ढोकातिर हेरे, जहाँबाट बिनी भित्र प्रवेश गर्दै थिई ।
रातो कुर्था–सुरुवालमा सुनौलो फूलबुट्टा भएको रातो र हरियो चुन्नी । नाडीमा लगभग कुहिनासम्मै अटाइनअटाई रङ्गीचङ्गी चुराहरू । लामो कपालमा बाटेको रातो, मोती र सितारा जडेको डोरी । निधारमा रातो–हरियो रङको मिश्रित डिजाइनको टीका अनि माथि रातो अक्षता । आँखामा मोटो, कालो गाजल । रातो लिपिस्टिक । मलाई यस्तो लाग्यो मानौँ, सारा सृष्टि जगमग भयो । काका र कमलले पनि प्रतिक्रिया जनाउन बिर्सिए । स्वास्नीमानिसहरू यतिसम्म सुन्दर पनि हुनसक्ने रहेछन् ! के ऊभन्दा पनि सुन्दर अरू कोही देखिन सक्छन् होला र यो सृष्टिमा ? म आँखा झिम्काउन बिर्सिएर उसलाई हेरिरहेँ । जब ऊ नजिकै आई, वातावरणभरि पाउजूको मधुर झङ्कार गुन्जियो । मलाई लाग्यो, मेरो आत्मासम्म तृप्त भयो त्यो मोहक दृश्य र मधुर स्वरले । मैले विभोर भएर आँखा बन्द गरेँ ।
‘हेर न चाँडो आउने कोसिस गर्दा पनि ढिलो भैहाल्यो, आज पशुपतिमा यति भीड थियो कि के भनौँ…!’ उसले मेरोछेउमा आएर मलाई टीका लगाइदिँदै भनी । मैले बिस्तारै आँखा खोलेँ । उसले मलाई प्रसाद ख्वाई अनि काका र कमललाई पनि टीका–प्रसाद दिई । म आँखा नझिम्काई उसैलाई हेरिरहेँ । कमलले जाने अनुमति माग्यो । मैले बिनीबाट आँखा नहटाईकनै केवल टाउको हल्लाएर उसलाई बिदा दिएँ । कमलसँगसँगै काका पनि बाहिर निस्किए ।
‘रिसायौ तिमी ?’ उसले मेरो ह्विलचेयर अगाडि टुक्रुक्क बस्दै बिस्तारै भनी– ‘अनुहार पनि यत्रो सानो भएको छ तिम्रो । ठीक त छौ ?’ उसले मेरो निधार र गाला छामी । मेरो भक्कानो छुट्नै खोज्यो । कमसेकम कसैलाई त मेरो ठीक हुनु र नहुनुसँग सरोकार रहेछ ।
‘के खायौ ?’ उसले फेरि सोधी । तर मैले केही बोल्नुअघि नै भित्र आउँदै गरेका काकाले भने– ‘के खानु ? बिहानदेखि एक ग्लास पानी पनि पिइबक्सेको छैन…।’ उनले खानाको ट्रे ल्याएर फेरि टेबलमा राख्दै भने– ‘जे सजाय दिने हो दिइबक्स्योस् तर बिन्ती सानो राजा यसरी भोकभोकै नबसिबक्स्योस्…।’
उसले आश्चर्यपूर्वक मलाई हेरी अनि काकातिर फर्केर मलिन स्वरमा भनी– ‘तपाईं चिन्ता नगर्नूस्, म उसलाई खाना ख्वाउँछु…।’ उसले पूजाको थाली काकालाई दिई, सिङ्कमा हात धोएर आएर मलाई खाना ख्वाउन तत्पर भई ।
‘काका !’ मैले पूजाको थाली लिएर अघिबढेका काकालाई लक्ष्य गर्दै भनेँ– ‘बिनीका लागि पनि खाना ल्याइदिनूस् !’
‘होइन काका, मेरा लागि पर्दैन । उसले हस्तक्षेप गर्दै भनी– ‘म आज खाना खान्नँ ।’
‘किन ?’ म नसोधी रहन सकिनँ ।
‘आज मेरो व्रत छ ।’ उसले अलि हिचकिचाउँदै भनी ।
‘व्रत ? तर तीजको व्रत त विवाहित स्वास्नीमान्छेहरूले आफ्नो हस्बेन्डका लागि राख्ने गर्दछन् होइन र ? अनि तिमी त…!’ एकै क्षण के भनौँ के भनौँ भन्ने सोचेर अनकनाइरहेँ म तर फेरि आँट गरेर सोधिदिएँ– ‘तिमीले चाहिँ कसका लागि व्रत लियौ ?’
‘सम्झ, मैले तिम्रा लागि व्रत राखेँ, तिम्रो सुस्वास्थ्यका लागि, तिमी ठीक हुने कामनामा…।’ उसले निश्छल भावले भनी । मलाई थाहा थियो, त्यो उसले मजाकमै भनेकी थिई तर पनि किनकिन त्यसबेला मेरो मनले भन्यो– त्योभन्दा ठूलो सत्य, त्योभन्दा पवित्र कामना अनि त्योभन्दा बढीको चाहना मेरो जिन्दगीमा अर्को कुनै हुनै सक्दैनथ्यो । यसै पनि मेरो अपाहिज जिन्दगीको वैशाखी थिई ऊ !
ऊ मेरी थिइन, हुनै सक्थिन, मलाई राम्ररी थाहा थियो । तर मेरो जीवनमा भएका, जिन्दगीसँग जोडिएकाहरूभन्दा पनि आफ्नी लाग्थी ऊ मलाई ।
यस्ती बिनीको मन दुःखाएथेँ मैले । अन्जानमै सही, यस्तो लाग्यो एउटा जघन्य अपराध भएको थियो मबाट ।
०००
त्यही रात जब बिनी मलाई ह्विलचेयरबाट पलङमा सार्ने सुरसार गर्दैथिई, मेरो अपेक्षाअनुरूप सुप्रिया मसँग अथोरिटी लेटरको बारेमा कुरा गर्न आई । बिनी मलाई ह्विलचेयरमै छोडेर बाहिर निस्की । सुप्रिया आएर मेरो सामुन्नेको कुर्सीमा बसी । उसको फोनवार्ता सुन्नुअघिसम्म स्वेच्छाले सबै अधिकार उसलाई दिन इच्छुक मैले, त्यसबेला उसको कुरा सुन्न पनि चाहिनँ ।
‘किन ?’ सुप्रियाले सकभर आफ्नो आक्रोश दबाउने कोसिस गर्दै भनी– ‘हजुर आफू त गर्न सकिसिन्न, कमसेकम मलाई त रेखदेख गर्न दिस्यो ? यसरी सारा सर्वस्व अर्काको भरमा छोड्नुभन्दा त मैले सम्हाल्नु राम्रो होइन र ?’
‘के थाहा ?’ मैले उसको अनुहारमा नहेरी बेवास्तापूर्वक भनेँ ।
‘कस्तो, के थाहा ? भन्न के खोजिसेको हँ, हजुरले ? के हजुरलाई भरोसा छैन ममाथि ?’
‘तिमीलाई छ ममाथि भरोसा ?’ मैले उसका आँखामा हेर्दै गम्भीर स्वरमा सोधेँ । एकैक्षण ऊ नराम्रोसँग हडबडाई अनि मेरो अनुहारतिर हेर्दै भनी– ‘भरोसा नभए के म हजुरसँग बिहे गर्थें ? आज बिहे गरेको पाँच वर्षपछि आएर हजुर किन यो प्रश्न सोध्दै होइसिन्छ ? हजुरमाथि भरोसा नभए, हजुरको पर्वाह नभए म किन हजुरको जिम्मेवारी उठाउन तम्सन्थेँ ? हजुरकै सजिलोका लागि, हजुरको चिन्ता अलिकति भए पनि कम गर्न…।’
‘मेरो चिन्ता तिमी नगर सुप्रिया ! मेरो बोझ कम गर्नका लागि तिमीले बिजनेसको जिम्मेवारी र टेन्सन बोक्न जरुरी छैन । त्यो वासु र कमल…।’
‘वासु, वासु, वासु ! त्योभन्दा बढी अरू केही सोच्न सकिसिन्छ हजुर ? को हो त्यो ? एउटा नोकरकै छोरा न हो ? हजुर कसरी निदाउन सकिसिन्छ एउटा नाता न गोताको मान्छेलाई आफ्नो सर्वस्व सुम्पेर ? एउटा परिवारको सदस्यले जति गम्भीरता र इमानदारीपूर्वक सोच्छ परिवारका बारेमा, त्यति नै सिरियसली सोच्छ र परिवारभन्दा बाहिरको मान्छेले ?’ ऊ च्याँट्ठिई तर मैले उस्तै सहज स्वरमा भनेँ– ‘कहिलेकाहीँ परिवारभन्दा बाहिरको मान्छेले त्यो सब गरेर देखाउँछ सुप्रिया, जुन परिवारको सदस्यले सोच्न पनि सकेको हुँदैन । हुनसक्छ यो सत्य तिमी कहिल्यै मान्ने छैनौ तर आज आएर मेरो अपाहिज जिन्दगीले मलाई यही सिकाएको छ कि विश्वास, इमानदारी र आफ्नोपन रगत र नातामा होइन मन, सोच र निष्ठासँग सम्बद्घ छ ।’
एकै क्षण यस्तो लाग्यो सुप्रियाको क्रोधले सीमा नाघ्नेछ । उसको अनुहार रगत चुहिएलाजस्तै रातो देखियो । तर जब ऊ बोली, उसको स्वरमा त्यति कठोरता थिएन– ‘थाहा छैन कसरी यस्तो सोच्न थालिस्यो हजुरले । कहीँ अपाहिज हुनुको असर दिमागमा पनि पर्नथालेको त होइन ?’
‘सुप्रियाऽऽऽ !’
‘नत्र के, कुनै सद्घे मान्छेको सोच यस्तै हुन्छ ? आफ्ना लागि नभए पनि हाम्रा लागि त सोच्नुपर्छ नि ! के हुन्छ हाम्रो यदि…यदि हजुरलाई केही भइहाल्योे भने ? त्यसरी सबै…।’
‘केही भइहाल्योे भने ? मतलब, म मरेँ भनेँ ?’ मैले व्यङ्ग्यपूर्वक भनेँ ।
क्रमशः
(यो श्रृङ्खला हरेक सोमबार र शुक्रबार नियमित प्रकाशित हुनेछ ।)