मरण त्यहीँ होस्, जहाँ मेरो जन्म भयो ।
शरण त्यहीँ रहोस्, जहाँ यी हातले कर्म गर्यो ।।
आइरहून् कष्टशील क्षण बरु, कि म सक्रिय त बहने छु ।
नआऊन् आरामदायी पल बरु, कि म अल्छियुक्त रहने छु ।।
सास फेर्दाको पहिलो ठाउँबाट, शुद्ध हावा नै खोजिरहेँ ।
कर्म गर्दाको पहिलो घाउबाट, दक्षको सावाँ नै रोजिरहेँ ।।
जहाँ म फूल भै फक्रिएँ, त्यहीँ चुपचाप झर्न सकूँ ।
कोहलको यो दुनियाँमा, शान्तिको बिगुल फुक्न सकूँ ।।
जन्म, कर्म दुवै दाताको गुन र नुन बिर्सन्नँ म ।
प्यार छ दुवै गाथाको ममा, यिनको विरुद्ध उभन्नँ म ।।
आयु भलै छोटो होस्, होओस् जीवन सुन्दर ।
जन्म- कर्मभूमि देव, छैनन् है कुनै अन्तर ।।
जसले तिमिलाई जन्म दिए, लागोस् आशिष उनको सदा ।
जसले तिमीलाई कर्म दिए, बनोस् योग्य जहीँ जाँदा ।।