कास्की, पोखरामा ।
भाषा,साहित्य ,संस्कृति र कला क्षेत्रका समस्याहरूको निरूपण गर्ने उद्वेश्यले गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा–प्रतिष्ठानहरू बिच एकदिवसीय अन्तरक्रिया सम्पन्न भयो । यस अन्तरक्रियामा नेपाल प्रज्ञा–प्रतिष्ठान,ललितकला प्रज्ञा–प्रतिष्ठान ,सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठान ,गण्डकी प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र पोखरा प्रज्ञा–प्रतिष्ठान बिच सहभागिता रह्यो ।
यस अवसरमा उद्घाटन सत्रका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले “सङ्घीयतालाई बलियो बनाउन केन्द्रीय मानसिकताभन्दा माथि उठेर राजनीतिक सत्ता र प्राज्ञिक सत्ताबिच समन्वय जरुरी भएको बताउनुभयो । साथै, उहाँले प्रतिष्ठानका कार्यक्रमहरू बजेटको अभाव अवरुद्ध हुन नदिने बताउनुभयो ।
यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले “देशको सबैभन्दा ठुलो सत्ता प्राज्ञिक सत्ता हो । न्यायपालिका ,कार्यपालिका र व्यवस्थापिका भने जस्तै प्राज्ञिक क्षेत्रलाई प्रज्ञापालिका भन्नुपर्नेमा जोड्नुदिनुभयो । यसैअनुरूप प्राज्ञहरूको मर्यादाक्रम तोक्दै प्राज्ञिक सत्ताको पुनर्संरचना अनिवार्य रहेको बताउनुभयो ।“
यसैक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले “यान्त्रिक हेराइले कुनै पनि संस्कृतिलाई माथि उठाउन सकिँदैन । स्वायत्त र प्राधिकारसहित प्रज्ञा–प्रतिष्ठानलाई गाउँसम्म पु–याउन सक्नुपर्छ । नीतिगत जटिलतालाई हटाउँदै सांस्कृतिक रूपान्तरणमा सबै एकठाउँ उभिएर चुनौतीको समाधान गर्न डटेर लाग्नुपर्ने समय आएको छ।“भन्नुभयो ।
नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले“ प्रतिष्ठानहरूलाई भौतिक र आर्थिक सुविधाको जरुरी छ । यसले मात्रै प्राज्ञिक क्षेत्रको खोजअनुसन्धान गर्न सकिन्छ ।यसपछि मात्रै वास्तविक स्रष्टाको पहिचान हुने कुरा बताउनुभयो । यसै क्रममा नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले केन्द्र र प्रदेशका प्रतिष्ठानहरूको सरकारले समुचित व्यवस्थापन गर्नुपर्ने बताउँदै एकआपसमा सहकार्य गरेर अघि बढ्नु पर्ने अवस्था रहेको बताउनुभयो ।
यसै सिलसिलामा ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले लामो समयदेखि साधनारत कलाकारहरूले पु–याएको विधागत योगदानको ठोस मूल्याङ्कन गर्न र प्रज्ञा–प्रतिष्ठानहरूले निरन्तर संवाद र सहकार्यमा काम गर्न क्रियाशील रहनुपर्ने बताउनुभयो ।
यसै क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले भाषा,साहित्य ,संस्कृति ,सामाजिक शास्त्र र दर्शन शास्त्रको क्षेत्रमा खोजअनुसन्धान गर्न लागेको बताउनुभयो ।यसमा लोकको मौखिक इतिहास लेखन,सबै भाषाको साहित्यिक इतिहास लेखन,सिर्जनावृत्ति लेखन र नेपाल दिग्दर्शनको तयारीमा तत्काल लागिपर्ने बताउनुभयो । विभिन्न प्रज्ञा पुरस्कार जस्तै साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना भएको र सबैले आआफ्नो अपनत्व गर्नसक्ने गरी यसपटकको राष्ट्रिय कविता महोत्सव जस्तै अरू विधामा पनि महोत्सव गर्ने र समावेशी सहभागितालाई बढाई आपसी सहकार्यमा जोड दिन तयार रहेको बताउनुभयो ।
यसैक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले नेपालबाट कलाकृति विदेशमा लैजाँदा र ल्याउँदा भन्सार करमा सरकारले छुट दिनुपर्ने ,विद्यालयका पाठ्यपुस्तकमा कलाशिक्षक हुनुपर्ने,रैथाने ज्ञान र सिपलाई पाठ्यपुस्तकमा समेट्नुपर्ने ,स्रष्टाहरूको उपचार कोष स्थापना गर्ने ,नीतिगत समस्या समाधान गर्न सबै प्रतिष्ठान जुट्नुपर्ने ,त्याग र बलिदानबाट स्थापित गणतन्त्रको सिर्जनात्मक अभिलेखनलाई सङ्गृहीत गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।
यसैगरी सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले सङ्गीत र नाटय विधाको संयन्त्र सबै पालिकासम्म पु–याउने योजना रहेको छ । यस विधामा समर्पित स्रष्टाको समुचित योगदानको कदर गर्दै अघि बढ्ने, अभिलेखिकरण गर्ने ,सिर्जनात्मक प्रशिक्षण दिनेमा जोडदिनुभयो । यसै सन्दर्भमा सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठले प्रज्ञा–प्रतिष्ठान ऐन परिवर्तन गरेर नीतिगत कमजोरी हटाउनुपर्ने,यथोचित भौतिक पूर्वाधार हुनुपर्ने, प्रदेश प्रज्ञा–प्रतिष्ठानले गरेका कामको पुनरावृत्ति हुनु नहुने, आपसी सहकार्य र समन्वयमा प्राज्ञिक काम गर्नुपर्ने बताउनुभयो ।
यसैगरी नेपालका प्रज्ञा–प्रतिष्ठानहरू बिच अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले पर्टकीय नगरी पोखरालाई साहित्यको राजधानी भनिन्छ । विनाभेदभाव गण्डकी प्रज्ञा–प्रतिष्ठानअघि बढेको बताउँदै भाषा,साहित्य,संस्कृति र कलाको संरक्षणमा सरकारले ज्यादै न्यून लगानी गरेकाले ठोस उपलब्धि हासिल गर्न कठिन छ। तापनि प्राज्ञिक कर्ममा विनाकन्जुस्याई जुट्ने र प्रतिष्ठानहरू बिचको आपसी सहकार्यमा लागिपर्नेमा जोड दिनुभयो । यस प्राज्ञिक अन्तरक्रियाले निकालेको ठोस निष्कर्ष अनुसार सबै अघि बढ्नु उपयुक्त हुने बताउनुभयो। कुलपति खड्काले प्रयाप्त बजेटको अभावमा प्रतिष्ठानले गर्ने काम प्रभावित भएको बताउनुभयो ।
यस्तै सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टी.एन. जोशीले यस प्रतिष्ठानको स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य र संस्कृतिका क्षेत्रको खोज अनुसन्धानलाई अघि बढाएका छौँ ।यसमा समर्पित स्रष्टाहरूको परिचय कोषको निर्माण गर्ने बताउनु हुँदै प्रतिष्ठानको संरचना परिवर्तन गर्न जोड दिनुभयो । यसैगरी गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले साहित्य,संस्कृति र कलाका क्षेत्रमा केन्द्रीय र प्रदेश प्रज्ञा–प्रतिष्ठान बिच स्पष्ट समन्वयको रिक्ततालाई मेट्नुपर्ने र एकअर्कामा एक्कै खाले कार्यसम्पादन दोहोरिनु नहुने बताउनुभयो ।