मेरो बेड नजिकै आइन् उनि । अनि अलिकति उठाइन् बेडको सिरानीतिरको आधा भाग । बिस्तारै पन्छाउन थालिन् मेरो ओढ्ने र त्यसपछि भित्री कपडा ।
“कम्मर अलिकति उठाउन मिल्छ ?”
उन्को कुरा सुनेपछि मैले दवेको स्वरमा जवाफ दिएँ,
“प्रयास गर्छु है त ।”
“ल/किन आँखा चिम्लनु भा को ? आँखा खोल्नुस् न” भन्न थालिन् उनी ।
अनि मनले नचाहँदा–नचाहँदै पनि आँखा उघार्न बाध्य भएँ म । हाम्रा आँखा जुधे । न हिचकिचाहट न त सङ्कोच । कामको प्रकृति नै त्यस्तै भएर त होला । म भने लाजले भुतुक्कै । नहुनु पनि किन ? आफ्नो कम्मर भन्दा मुनिको भाग ह्वाङ्गै पारिए पछि । मनमनै सोचें, परेपछि, जेजस्तो पनि सहनु पर्दो रहेछ/
खास काम त अझै बाँकी नै थियो । आफनो दाहिने हातले मेरो शरीर अलिकती ठाडो पार्ने प्रयत्न गर्दै थिइन् उनी । अनि देब्रे हातमा थियो एउटा स्टिल्को थेप्चेभाँडो । त्यही भाँडोलाइ सोझ्याउन थालिन् मेरो कम्मर भन्दा तलको अङ्ग तर्फ ।
त्यसपछि आफनो मुन्टो अन्यत्र तर्फ बटार्दै भनिन,
“ल अब छिट्टो गर्नुस् ।”
यसैविच, ड्युटि स्टेशन तिरवाट आवाज आयो। “ए, दिदी बेड नम्बर सात र उन्तिस मा गइहाल्नुस् त । दिशा लागेको छ रे ।”
“एकछिन है त ।“ भन्दै, पहिले बेड नम्बर सात नम्बर तर्फ दौडिइन् ।
यता, उन्को वहिर्गमनले मलाइ भने थोरै राहत मिले झंै भयो । तर पनि शरिरको तल्लो भाग ह्वाङ्गै रहिरहेकाले अलि ‘नर्भस’ अवस्थामै छु म ।
मनमनै सोचें उनि सामुन्ने नभएको मौकामा पिसाब फेरीहाल्न पाए, कति जाति हुन्थ्यो ⁄
त्यै ‘नर्भसनेस’ले गर्दा पनि होला मेरो शरिरका अन्य दुखाइ त कता हराए कता । त्यसैले मेरो मुल ध्याउन्न चाँहि जतिसक्दो छिटो पिसाब फेर्न पाए हुन्थ्यो भन्ने मै छ ।
तर आउला आउला जस्तो हुन्छ, झर्दै झर्दैन पिसाब ।
छिट्टै सकाइ छन् क्यार ? उताको काम । फेरि टुप्लुकिइ हालिन् उनि । तर यस पटक भने एउटा अर्को भाँडामा पानीे पनि लिएर आएकी ।
“ल, एकैछिन यो भाँडोको पानीमा हातका औँला चोप्नु त,“ भन्दै मुस्कुराइन् उनी ।
अनि त्यै गरें, मैले पनि । आखिर उन्ले भने अनुसार नगर्नुको विकल्प पनि त थिएन ।
“दिदी, चौध नम्बर बेडमा गइहाल्नु त” ड्युटि स्टेसन तिरबाट आवाज आयो, फेरि । उनी दौडिन् त्यतै तिर ।
तर यै विचमा गज्जबै भो १ केही क्षणमै मेरो अङ्गवाट पिसाब सलल झर्न थाल्यो त्यै थ्याप्चे भाँडोमा । ओहो १ त्यसपछि त ठूलै राहतको महसुश भो । पानीमा हात चोपे पछिको कमाल होला,सायद ?
यै विच, फेरी झुल्किइ हालिन् ।
“अब त निखार्नु भो होला नि …. ?”
हामी दुबैका आँखा जुधे । म मुस्कुराएको देखेर होला मुस्कुराइन् उनि पनि।
“फेरि प¥यो भने भन्नुहोला है ।”
भन्दै मेरो पिसाबले भरिएको स्टिलको भाँडो (पिसाबदानी) लिएर शौचालय तिर दौडिइन् ।
हुनपनि, शौचालय उन्को मुख्य स्टेशन जस्तै हो । जहाँ दिनहुँ सयौँ पटक ओहोर दोहोर गरिरहनु पर्छ ।
+++
अस्पताल बसाइको, आज सातौँ दिन । हिजो रातीको राउन्डिङमा डा.साबले हल्का मुस्कुराहट दिंदै भने,
“सब ठिक छ । अब म तपाईंलाई वार्डमा होइन, छिट्टै घरतिरै पठाउँदै छु ।”
अनि आज बिहान दश बजेको राउन्डिङमा पनि त्यस्तै कुरा दोहो¥याए,
“…..ठिक छ । ल, आज घर जाने है त ।”
त्यै भएरपनि होला, आज मेरो परिवारका सदस्य र शुभचिन्तकहरुको मुहारमा उज्यालोपन छ । धेरै खुसी देखिइन् मेरी जिवनसङ्गीनी पनि । म पनि खुसि छु । निको भई सकुशल घरजान पाएकोमा ।
मध्याह्नको साढे बाह्र बज्यो ।’ड्युटीचेन्ज’को सटरपटर पनि चल्दै छ, वार्डमा । त्यसैले होला स्वास्थ्यकर्मिहरु आआफ्ना रिपोर्टिङ वा ब्रिफिङमा व्यस्त छन्। यसैविच, मेरो छोराले नर्सिङ ड्यासमा रहेकी सिस्टरलाई एउटा कागज दिए । मनमनै ठानें ‘पक्कै पनि त्यो डिस्चार्जका लागि क्लियरेन्स स्लिप हुनुपर्छ । अब घर जाने वेला भो ⁄’
“ए, सीता र रिता, वाइस नम्बरको बिरामीको डिस्चार्जको तयारी गर त”, नर्सिङ स्टेसनकी सिनियर नर्सको यो आदेशवाट मेरो अनुमानले मेल खायो । उपचारका क्रममा मेरो शरीरमा लगाइएका खित्रीमित्री चिजहरू पनि हटाइए । आफैँ उभिएर बिस्तारै हिँड्न सकुला जस्तो हिम्मत पनि आइराख्या छ ।
मलाइ ल्ह्लिचेयरमा राखियो । मैले पनि मेरो उपचारमा संलग्न सबैलाई हात हल्लाएरै भए पनि धन्यवादको मनसाय व्यक्त गर्न भ्याएँ । ढोका बाहिर निस्किएपछि सघन उपचार कक्षप्रति नतमस्तक भै आभार ब्यतm गरें । मृत्युको संघार बाट उम्कँदै सकुशल घर जान पाउदाको क्षण थियो त्यो । असाध्यै खुसीको क्षण ।
तर, यतिहुँदा हुँदै पनि के बिर्सिएँ वा कता के छुट्यो ? झैं, भै राख्या छ । यो मनको अन्तर कुन्तरमा । वेला वेलामा मेरा आँखा सघनउपचार कक्षतिर दौडिएकै छन् ।
मन, वैगुनी हुन्छ नि त ⁄ त्यसैले तन्किन र लम्किनका लागी माहिर हुन्छ । तर कहिले काँहि त पाप चिताउन पनि भ्याउँछ यस्ले ⁄
“सबैजाना लिफ्टमा अटिन्न । त्यसैले तपाईंहरू भ¥र्याङबाट ओर्लिदा राम्रो ।’ मलाई सहारा दिइरहेकी सिस्टरले मेरा आफन्तहरुलाई अथ्र्याइन् ।
+++
हो, यतिखेरै हाम्रै सामुन्य झुल्किइन् उनी । उन्का र मेरा आँखा जुधे । म मुस्कुराएँ, अनि उनी पनि । त्यस लगत्तै मेरा आँखा आँसुले टिल्पिलाए छन् । त्यस्तो महशुस भएपछि अल्लि लजाएँ । जे जस्तो भएपनि वास्तवमा त्यो, उनि प्रतिको कृतज्ञताको संकेत थियो । जसले मेरो दिशा पिसाब स्याहार्ने देखि लिएर सक्दो सेवा गरिन् ।
“सिस्टर, दाइलाई तल गेटसम्म मैले पु¥याइदिंदा हुन्न र ?’
‘भै हाल्छ नि ।’ मेरो ह्वीलचेयर समाइरहेकी सिस्टरले सहजै जवाफ फर्काइन् ।म बसेको ह्वीलचेयर अब उन्ले सम्हालिन् । हामी लिफट भित्र छि¥यौं । हाम्रा आँखा जुधे । तर बोलीचालीमा केहिवेर ‘अक्क न बक्क’ को अवस्था ⁄ थोरैवेर पछि भने म आफैले मौंनता तोडें । लिफ्टबाट ओर्लदै गर्दा र अस्पतालको गेट नपुग्दा सम्म हामी बीच थोरै भलाकोसारीहरु भए । तर ति थिए, मेरा भन्दा उन्कै पारिवारिक अवस्थाका वारेमा । आर्थिक स्थिति, निम्न आम्दानीले बृद्ध सासु ससुरा, बालबच्चाको पालन पोषण लगायतका बारेमा । वेदनाले भरिएका कुराहरु एकै सासमा सुनाउँन पाए हुन्थ्यो जसरी सुनाइन् उन्ले । म सुन्दै गएँ । सोचें, ‘उन्ले पाउँने तलबको एक तिहाइ भाग त आतेजाते मै सकींदो रहेछ ⁄’ लिफटको ढोका खुले पछि पो झस्याङ्ग भइएछ । अन्तमा मैले उन्को नाम सोधें । नाम बताइन् – जमुना । तर ठेगाना सोध्न भने भुसुक्कै भुलेंछु ।
“दाइ, बिस्तारै उठ्नुस् है “ भन्दै तिनै जमुनाले मेरा दुवै हात समाइन् । यता मेरो प्रतिक्षामा थिइन् मेरी आफ्नै बहिनी । र इन्को नाम पनि – जमुना ।
मेरी इनै बैनिलाइ मेरा हात सुम्पिंदै,‘स्वास्थ्यको ख्याल गर्नुहोला है दाई,“ भन्दै आफना दुवै हात हल्लाइन् र आफनै ड्युटी तर्फ फर्किइन् अस्पताल कि जमुना ⁄⁄
+++
आफूलाई बिचाँजो परेका बेला अरूबाट पाएको सेवा सहयोगको बारेको प्रसंग। अधिल्लो साल माघ महिनाको पहिलो हप्तातिरको कुरा हो यो । एकदिन मध्यराती अस्पतालमा भर्ना भई सघन उपचारको क्रममा थिएँ म ।
घाम तापेर समय बिताउने जस्तो हुँदैन रहेछ, अस्पतालको जागिर । त्यसमा पनि सघन उपचार कक्षमा भइरहने कामको चटारोको त कुरै बेग्लै । काम गर्नेहरु ‘ड्युटि’ सकिएर घर वा डेरामा फर्कँदा कति लखतरान पर्दा हुन् ⁄ झैं लाग्ने । विशेषत ⁄ जुनियरहरुलाई कामैको बढि चटारो । त्यस्मा पनि सरसफाई कर्मिहरु त कराई (तावा)मा फुरौला नाचे झ,ैँ काममा नाचेको नाच्यै ⁄
तिनै मध्येकी एक थिइन् जमुना । योे कथा की मुख्य पात्र । कल्सौँदो अनुहार र खिरिलो शरीरकी धनि । खिरिली भएर पनि होला काममा निकै तेज र छरिती । अनि कामको मÒख्य प्रकृती चाहिँ स्वास्थ्यकर्मिहरुको भन्दा अलि फरक खालको । सारंसमा उन्को कामलाइ बिरामीको बेडदेखि शौचालय सम्मको दौडधुप भन्दा पनि हुने ।
जतिखेरै पनि खाली देखिएनन् जमुनाका हात । पोछा, पिसाब वा दिसा दानी वा सरसफाइका अरु के के कुराले । त्यै भएर पनि होला, उन्को कानमा लगातार ठोक्किइ रहन्थे दिसा–पिसाब र दुखाइ–दर्द जस्ता पिरलोका सन्देशहरू । एन्टिबायोटिक्स, स्लाइन र औषधिहरुको माग, बेड सरसफाई, क्यानुला, डाइपर, कपडा फेराइ, जस्ता काममा पनि सहयोगिको भुमिका । अनि पाएसम्म ठूलाले क्रमशः सानालाई र पुरुषले महिलालाइ काम पन्छाउँदै जाने नेपाली काइदाहरु पनि देखिन्थे त्यहाँ ।
हो, कामको मामलामा छिटोछरितो र बोली व्यवहारमा हँसिला मान्छेलाई सबैले रुचाउँछन् । त्यैभएर पनि कामको बढी बोझ थपिएको होला ति बैनिलाई । अस्पताल बसुन्जेलको मेरो फुर्सदिलो मनमा उनिप्रति सहानुभुतिका यस्ता त्यान्द्राहरु पलाइनै रहे ।
अहिले पनि ताजै छ, तिनै मध्यको एउटा घटना । अस्पताल बसाइको दोश्रोदिनको त्यो घटना । मेरा आँखा भित्ते घडी तर्फ दौडिदै थिए । रातको बाह्र बजेर पाँच मिनट गएछ । त्यतिन्जेल सम्म पिसाबले च्याप्नथालेको पनि केही बेर भइसक्याथ्यो । दुई दिन अघि गरिएको चिरफार अनि क्यानुला हटाइसकेपछिका लगायतका दुखाइ पनि छँदै थिए । तर पिसाबको पिरलोको तुलनामा अन्य सबै दुखाइहरु क्रमस गौंण जस्तै लाग्न थाले । अब ममा सहन गर्ने धैर्यता रहेन । र नजिकै आफ्ना कुरुवाहरू पनि नभएपछि तिनै जमुना बहिनीलाई गुहार्नुको विकल्प पनि त थिएन ?
त्यति हुँदाहुँदै पनि यो मनमा हिचकिचाहट त छँदै थियो । उनी महिला, म पुरुष । अनि काम पर्यो पिसाब गर्ने । यहि कुराले श्रृजना गरिरहेको थियो सङ्कोच मान्ने अवस्था । तर “मर्नु भन्दा बौलाउनै निको ।” अनि हिम्मत जुटाएरै भए पनि इशारा गरेँे तिनैलाई । तिनले बुझिहालि छन् क्यार ? मेरो सङ्केत । अनि आइहालिन् हातमा पिसाबदानी लिएर म तर्फ । त्यहि क्षणबाटै सुरु भएको थियो हामी बिचको हल्का मित्रता । +++
जमुनाको अर्थ त धेरै होलान् । तर सामान्य अर्थमा लिंदा पवित्र नदी । नदि वास्तवमा पानी मात्र होइनन् यि त अविरल गति(प्रवाह) कि प्रेरणाश्रोत हुन । त्यैभएर होला, हरेक मान्छेले यिन्को को किनारमा पुग्दा मात्र पनि आनन्द महसुस गर्छ । अनेक प्रकारका थकान, पिढा र विकारहरुवाट मुक्त ठान्छ । उर्जा प्राप्ति, शान्ति र सितलताको महसुस गर्छ । यस्तै यस्तै । म पनि आजभोली नारायणी नदीको तटतिर टहलिन पाउँदा निक्कै प्रफुल्लित हुन्छु। र कहिलेकाही त विगत तर्फ पनि फर्किन्छु । हिजोका मेरा ति दिनहरु, स्वास्थ्य अवस्था आदिका कुरा सम्झेर निक्कैवेर सम्म घोत्लिन्छु ।
र त्यस्तै मेसोमा मेरो मनमा कहिलेकाही झुन्किन्छिन् अस्पतालकी उनै जमुना । र त्यै मौकामा उन्लाइ यिनै नदीसंग तुलना गर्न समेत भ्याउँछु म । ‘अस्पताल भित्रका जमुनाहरुको काम पनि नदि कै जस्तो त हुन्छ । शरिरवाट दिसा–पिसाब जस्ता विकार त्याग्न मद्धत गरि विरामीहरुलाइ सफा र सुग्घर पार्छन् । हरबखत तिनिहरुको स्याहार सुसारमा लागी परिरहन्छन् । जसरी आफु थिलोथिलो परेर पनि सकभर शान्त देखिन्छिन नदी । त्यसैगरी जमुनाहरु पनि आफना ब्यक्तिगत दुःख पिडाहरु लुकाउँदै बिरामीहरुलाई निको पार्न, हास्न र हसाउँन मद्धत गर्छन ।’
तर अचेल नदिहरुको अवस्था दिनप्रदिन नाजुक बन्दै गैराखेको अवस्था छ । फोहर, ढल वा बिषाक्त पदार्थ संग खेल्नु नियती जस्तै भैसक्यो नदीको । विकासका नाममा नदी र प्रर्यावरण लाइ आफना मुठ्ठीमा लिन चाहन्छन् मान्छेहरु ⁄
तिनिहरुकै स्वार्थ, लापरवाह वा अपराधी पनले थुनिन्छन, वङ्गयाइन्छन र धमिल्याइन्छन नदिहरु । हो,त्यै भएर त उठ्ने गरेका होलान् प्रदुषण, तापमान बृद्धि लगायतका कुरा । जब जब मान्छे साह्रै अटेरी वन्छ, अनि वेला वेलामा नदीवाट नमिठो भकु¥याँइ ब्यहोर्छ मान्छेले ।
तर अफसोंच ⁄ नदिको उक्त भकु¥याइमा पर्दछन्, नितान्त निर्दाेश वा लाटासोझा मात्र ⁄ मुख्य कारकहरु त सुइकुच्चा ठोकिसकेका हुन्छन् नदिकिनारवाट, त्यतिन्जेल।
यतिहुँदाहुँदै पनि नदीसंग भेटभइराख्ने चाहना चैं सबैको हुन्छ । र जिवनको अन्तिम भेट पनि यिनै संग त हुने हो। तर उता अस्पतालकी जमुनाहरु संग भेट हुँन भने नपरोस् झैं लाग्दो हो धेरैलाइ ? किनकी, त्यता जान कस्लाइ पो, रहर हुन्छ र ?
जनक तिवारी, गैंडाकोट, नवलपुर