कहानी-हिन्दी
काठमाडौँ ।
कवि प्रज्वल अधिकारीको पहिलो कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ विमोचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा कवि दिनेश अधिकारी, श्रवण मुकारुङ, प्रतिसरा सायमी, कृतिकारका काका मुक्तिनाथ अधिकारी, हजुरबुवा माधव सुवेदी तथा कवि प्रज्वल अधिकारीले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् । बुकहिल पब्लिकेशनद्वारा प्रकाशित सङ्ग्रहबारे बोल्दै कवि श्रवण मुकारुङले ‘अस्तित्वको ब्रह्माण्ड’का कविता पढ्दा विशिष्ट कवि मोहन कोइरालाको झझल्को आउने बताए । उनले यसलाई कविको सफलताको संकेतका रूपमा उल्लेख गर्दै सङ्ग्रहमा कविताका विविध आयाम समेटिएको धारणा राखे । ज्ञान, ध्यान, स्वच्छन्दता र परिष्कारको सन्तुलित संयोजन अधिकारीका कवितामा पाइने उनको भनाइ थियो ।
कवि प्रतिसरा सायमीले सङ्ग्रहका केही कवितांश वाचन गर्दै ‘आमाको दीक्षान्त’ शीर्षक कविता आफूलाई अत्यन्त प्रभावशाली लागेको बताइन्। उक्त कविताका पङ्क्तिहरूले जीवन र सम्बन्धका गहिरा अनुभूतिलाई सशक्त रूपमा अभिव्यक्त गरेको उनको धारणा थियो । उनले सङ्ग्रहका अन्य कविताबारे पनि आफ्नो प्रतिक्रिया व्यक्त गरेकी थिइन् । कवि दिनेश अधिकारीले प्रज्वल अधिकारी समकालीन नेपाली कवितामा परिचित र सम्भावनाशील नाम भएको उल्लेख गर्दै ‘अस्तित्वको ब्रह्माण्ड’लाई सुन्दर कवितासङ्ग्रहका रूपमा मूल्याङ्कन गरे। वर्तमान समयका समालोचकहरूले कृतिमाथि गम्भीर अध्ययन र समालोचना गर्नुपर्ने आवश्यकता उनले औँल्याए। राष्ट्रिय सभागृहमा पहिलो पटक प्रज्वलको कविता सुनेको प्रसङ्ग स्मरण गर्दै उनले नेपाली कविताको यात्रामा नयाँ कविको उदय भएको अनुभूति आफूले त्यतिबेलै गरेको बताए ।
कृतिकार प्रज्वल अधिकारीले लमजुङबाट काठमाडौँ आएर साहित्यिक यात्रा थालेको प्रसङ्ग स्मरण गर्दै आफ्नो जीवन र लेखन यात्रामा परिवारको साथ महत्त्वपूर्ण रहेको बताए । उनले पत्नी अस्मी सुवेदीलाई आफ्ना कविताकी पहिलो पाठक र जीवनका उतारचढावकी साक्षीका रूपमा सम्मान व्यक्त गरे । लमजुङमा जन्मिएका अधिकारी कविता तथा गीत लेखनमा सक्रिय छन् । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका उनले २०७६ सालको राष्ट्रिय कविता महोत्सवमा तृतीय तथा २०७७ सालमा द्वितीय स्थान हासिल गरेका थिए । ‘पाठशाला’, ‘सङ्कल्प’ र ‘आकाशवाणी’ उनका चर्चित कवितामध्ये पर्छन् । ‘अस्तित्वको ब्रह्माण्ड’ उनको प्रकाशित पहिलो कवितासङ्ग्रह हो ।
कार्यक्रममा कवि अधिकारीले सङ्ग्रहबाट दुई कविता वाचन गरेका थिए । बुकहिल पब्लिकेशनका प्रमुख भूपेन्द्र खड्काले सञ्चालन गरेको कार्यक्रमको सुरुआत कृतिकारका छोरा अमोघ अधिकारीले सङ्ग्रहबाट कविता वाचन गरेर गरेका थिए ।
