• २०८० मंसिर १९ मङ्गलबार

ध्रुबचन्द्र गौतमको २८ औंँ ‘सातो’ उपन्यास सार्वजनिक

नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक समारोहमा आख्यानपुरुष ध्रुबचन्द्र गौतमको २८औँ उपन्यास सार्वजानिक गरिएको छ । लेखनमा ‘आविष्कारी’ शैली मानिने प्रयोगलाई आफूले ‘सातो’मा समेटेको उपन्यासकार गौतमले बताएका छन् । ‘यसमा स्वैरकलल्पना र श्याम-व्यंग्यको प्रयोग गरेको छु, एउटा शिशु जन्मँदैमा १६ वर्षे उमेर र संवेदनालिएर यो धर्तिमा आएपछिको दलाई लेखनमा उतारेको छु,’ गौतमले भने । गौतमको २०२४ सालमा पहिलो उपन्यास ‘अन्त्यपछि’ प्रकाशनमा आएको हो २८औँ ‘सातो’ रत्न पुस्तक भण्डारबाट प्रकाशनमा आएको हो । गौतमको ‘अलिखित’ उपन्यासले २०४० सालमा मदन पुरस्कार र ‘तथाकथित’ उपन्यासले २०५९ सालमा साझा पुरस्कार पाएको थियो ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा समालोचक डा. लक्ष्मणप्रसाद गौतमले लेखक ध्रुबचन्द्रले छान्ने विषय तथा शैलीलाई ‘विशिष्ट’ भन्दै उनलाई नेपाली साहित्यमा श्याम- व्यंग्य, सूत्र उपन्यास, अनुभवन्यास, अस्तित्ववाद र विसंगतवादको सफल प्रयोक्ताका रुपमा चिनाएका थिए ।

अर्का समीक्षक कृष्णहरि बरालले कथाशिल्पमा नवीनता भित्र्याउने ध्रुवचन्द्रले कथा लेखनमा उत्तिकै यथार्थवाद र विसंगतवादलाई प्रश्रय दिएको बताए । उपन्यासकार गौतमको लेखनको आठौं दशक प्रवेशको पूर्वसन्ध्यामा रमाकृष्ण सृजना प्रतिष्ठानले आयोजना गरेको समारोहमा साहित्यिक पत्रकार विनोद दीक्षित, रोचक घिमिरे, समालोचक डा. ज्ञानू पाण्डे तथा प्रतिष्ठानका अध्यक्ष इन्जिनियर महेन्द्र गुरुङलगायतले मन्तव्य राखेका थिए ।