हाइकु
काठमाडौँ ।
नियात्राकार राजाराम बर्तौलाद्वारा लिखित ‘लिगलिगे दौड’ नियात्रासङ्ग्रहको काठमाडौँमा विमोचन गरिएको छ। अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित पुस्तकमा लेखकले नेपालका विभिन्न स्थानको भ्रमणका क्रममा अनुभूत गरेका प्राकृतिक, ऐतिहासिक, सामरिक तथा धार्मिक पक्षलाई नियात्राका माध्यमबाट प्रस्तुत गरेका छन् । २९ वटा शीर्षकमा सङ्गृहीत पुस्तकमा विभिन्न भूगोल, स्थानविशेषका दृश्य, इतिहास, संस्कृति र धार्मिक महत्त्वसँगै लेखकका स्थलगत अनुभूति र जीवनबोधलाई समेटिएको छ ।
पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसीले नियात्राकार बर्तौलाले निरन्तर लेखनमार्फत आफ्ना अनुभव र अनुभूतिलाई पाठकमाझ ल्याइरहेको बताउँदै उनको सरल लेखनशैलीले पाठकलाई सहज रूपमा प्रभावित पार्ने धारणा व्यक्त गर्नुभयो । सडक विमोचन कार्यक्रमका संयोजक डा. नवराज रिजालले बर्तौलाको लेखन लोभलाग्दो र प्रस्तुति शालीन रहेको बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकाको आसपास रहेका सुन्दर प्राकृतिक भूगोल तथा स्थलहरूको सचित्र वर्णन पुस्तकको विशेषता रहेको उल्लेख गर्नुभयो । लेखक तथा नियात्राकार राजाराम बर्तौलाले आफूले यात्रा गर्दा प्रत्यक्ष रूपमा देखेका, भोगेका र अनुभूत गरेका विषयलाई भाषा तथा साहित्यका माध्यमबाट प्रस्तुत गरेको बताउनुभयो । पुस्तकबारे अन्तिम मूल्याङ्कन भने पाठकको प्रतिक्रियामा छोडेको उहाँको भनाइ थियो ।
कार्यक्रमका सदस्य तथा अनुसन्धानकर्मी बद्रीप्रसाद ढकालले बर्तौलाको नियात्राले जीवनको भागदौडमा मानिसले भोगेका अनुभवसँगै गोरखाको ऐतिहासिक लिगलिगे दौडलाई स्मरण गराउँदै जीवनको खोज र प्राप्तिको विषयसमेत उठाएको बताउनुभयो । सडक विमोचनका रूपमा आयोजित कार्यक्रममा साहित्यकार, लेखक तथा अनुसन्धानकर्मीहरूको सहभागिता रहेको थियो । अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित ‘लिगलिगे दौड’ नियात्रासङ्ग्रहका रूपमा बजारमा आएको हो ।
