• २०८३ भाद्र ३१, बुधबार

‘माणिक लामा जीवन यात्रा’ कृति लोकार्पण

काठमाडौं ।

क्रान्तिकारी कम्युनिस्ट नेता माणिक लामाको जीवनी, व्यक्तित्व र कृतित्वमा आधारित ‘माणिक लामा जीवन यात्रा’ कृति लोकार्पण गरी परिचर्चा गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेपाली कम्युनिस्ट पार्टीकी नेत्री पम्फा भुसाल, नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई, एमाले युवा नेता गोकुल बास्कोटा, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, वामपन्थी विश्लेषक श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, प्रगतिवादी समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रतिनिधिसभा सदस्यहरू डा. राम लामा र परशुराम तामाङ, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेकपा (माओवादी) का नेता कान्छाराम तामाङ र माणिक लामा प्रतिष्ठानकी अध्यक्ष ल्हामो लामाले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा पुस्तकको सामूहिक लोकार्पण गरेका हुन् ।

समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिवसमेत रहेका माणिक लामाका सहकर्मी अशोक सुवेदीले पुस्तकको सम्पादन गरेका हुन् । ३५२ पृष्ठको रङ्गीन पुस्तकमा विभिन्न राजनीतिक पार्टीका २६ जना नेताका लेख समावेश छन् । माणिक लामा प्रतिष्ठानले सार्वजनिक गरेको उक्त स्मृतिग्रन्थमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनाल तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमका शुभकामना सन्देश र संस्मरण समावेश छन् । उनीहरूले माणिक लामाले समाज र राजनीतिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा उनले पु¥याएको योगदान अनुकरणीय र अनुसरणीय रहेको उल्लेख गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालले माणिक लामाको जीवनयात्रा सङ्घर्षपूर्ण र क्रान्तिकारी चेतनाले ओतप्रोत रहेको बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओलीले हतियारबद्ध आन्दोलनबाट मात्र सत्ता परिवर्तन सम्भव छ भन्ने मान्यता राख्दै निरन्तर क्रान्तिकारी आन्दोलन निर्माणमा लागेका माणिक लामाबाट नेपालका क्रान्तिकारीहरूले सिक्नुपर्ने बताए ।

राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले लामाले कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दै लामाको विचार र नीतिलाई अनुसरण गर्न सकेमा उनीप्रति न्याय हुने बताए । कार्यक्रममा सहभागी सबै वक्ताले माणिक लामाको जीवन सङ्घर्षपूर्ण र प्रेरणादायी रहेकाले राजनीतिक तथा सामाजिक काममा अग्रसर हुनेहरूले उनीबाट धेरै कुरा सिक्नुपर्ने बताए । अधिकांश वक्ताले कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याको रूपान्तरण, ध्रुवीकरण र पुस्तान्तरण हुनुपर्ने धारणा पनि राखे । पुस्तकको समालोचना गर्दै प्रा. डा. रामप्रसाद ज्ञवालीले राष्ट्रियता, समाजवाद र साम्राज्यवादविरोधी आन्दोलनमा आजीवन सङ्घर्ष गरेका माणिक लामाका विचारलाई स्थापित गर्न पुस्तकले ठूलो सहयोग पु¥याउने बताए । माणिक लामाकी छोरी एमाले युवा नेत्री नवीना लामाले आफ्ना पिताको राजनीतिक सङ्घर्ष र योगदानबारे चर्चा गर्दै राजनीतिक यात्राका क्रममा बाबुले अनेकौँ दुःख, सङ्घर्ष र कठिनाइ भोगेको बताइन् । उनका अनुसार लामाले विभिन्न समयमा काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोकको चौतारा तथा केन्द्रीय जेलमा गरी करिब चार वर्ष जेलजीवन बिताएका थिए ।

माणिक लामाले २०३७ सालमा कम्युनिस्ट आन्दोलनमा औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गरेर राजनीतिक जीवन अगाडि बढाएका थिए । आरम्भमा सङ्कल्प परिवार हुँदै तत्कालीन नेकपा (चौथो महाधिवेशन) का जिल्ला नेता श्याम श्रेष्ठले उनलाई पार्टी सदस्यता दिएका थिए । त्यसपछि उनले चौँरीदेउराली क्षेत्रको सुरक्षा सचिवको जिम्मेवारी पाएका थिए ।
जनगणतन्त्र कोरियासँग राम्रो सम्बन्ध बनाएका माणिक लामा एसोसिएसन फर सपोर्टिङ सङ्गुन पोलिसीका अध्यक्ष र नेपाल–कोरिया लेखक–पत्रकार मञ्चका प्रमुख सल्लाहकार थिए । ‘रातो यात्रा’ मासिकका प्रकाशक लामाले जनगणतन्त्र कोरियालगायत ६० भन्दा बढी देशको राजनीतिक यात्रा गरेका थिए । जनयुद्धको समयमा एमालेबाट चौँरीदेउराली गाउँपालिका अध्यक्ष निर्वाचित भएका लामाले माओवादीको आह्वानमा गाविस अध्यक्षबाट राजीनामा दिएका थिए । उनले आफूसँग भएको हतियार पार्टीलाई बुझाएर आफू पनि माओवादीमा लागेका थिए ।

२०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नेकपा–माओवादी गठन भएपछि उनी उक्त पार्टीमा आबद्ध भए । त्यसपछि नेत्रविक्रम चन्दको नेतृत्वमा ताम्सालिङ स्वायत्त प्रदेश प्रमुख भएका थिए । सरकारसँग उक्त पार्टीले तीनबुँदे सहमति गरेपछि विद्रोह गर्दै नेकपा (एकीकृत माओवादी) स्थापना गरेर महासचिव बनेका थिए । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन बिथोल्ने योजनामा लागेको भन्दै तत्कालीन सरकारले उनलाई हिरासतमा राखेको थियो । यातनाकै कारण फोक्सोमा सङ्क्रमण भएका लामाको गत वर्ष भदौ १३ गते भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको थियो ।