• २०८१ असोज २९ मङ्गलबार

फूलको चोट

प्रकाश सुवेदी

प्रकाश सुवेदी

उसले जस्तै फूलले पनि चोट दियो क्यारम्
अति सानो भूलले पनि चोट दियो क्यारम्
पिएको थेँ कञ्चन र शुद्ध जल होला भनी
विष बगाई मूलले पनि चोट दियो क्यारम्

मार्छु भनेर माया, कहाँ मार्न सक्छु
बार्छु भनेर नयन, कहाँ बार्न सक्छु
बरु जोखिम् मोल्दै ,सँगै जाऊँला भेलमा
तार्छु भनेर एक्लै, कहाँ तार्न सक्छु

अलिअलि गर्दै टाढा,टाढा हुँदैछ्यौ
यता टाढा उता गाढा,गाढा हुँदैछ्यौ
अस्तिसम्म थियौ कोमल, कोमल फूल जस्ती
छोयो कि त च्वास्स घोच्ने काँढा हुँदैछ्यौ

साँच्चै भन्दा नचाहेको, तिमीले त हो नि
बाचा- कसम नखाएको, तिमीले त हो नि
म त भन्थेँ उहिल्यैबाट, एउटै चुलो बालम्
छुट्टाछुट्टै पकाएको, तिमीले त हो नि

गलाभरी लगाए नि, ओइली जाने नै हुँ
गमलामा सजाए नि, ओइली जाने नै हुँ
मेरै पत्र- पत्र जोडी, कति हार बने
जति हार बनाए नि, ओइली जाने नै हुँ


(सुवेदी चर्चित गीतकार हुन्)
[email protected]