नपुंशक सडकमा
उनिएका कलिला मुटु कुल्चिएर
नीरबता चिरेर
रक्तिम युग दौडिरहेछ आज पनि
निस्किएको एक हत्केलो घाम
शरणार्थी पिढीमा आइ नपुग्दै
खोसिएको सुकुम्बासी लालपुर्जा
बुद्धको आंगनमा
चिता जस्तै जलिरहेको प्रमाण छ
यो भूगोलको पिठ्युँ निचोरेर
छ्दाइएको रगतमा
चिप्लेटी खेल्दै
बुद्धको आँखा अगाडी
निर्लिप्त एउटा युग
अक्षम्यको मुकुट भिरेर
सत्ता दहन गरिरहेछ !!
सेतो कात्रोमा लेखिएको
एउटा विधवा इतिहास
बर्षौ देखी गुमनाम छ
अस्तित्व विहिन भएर
तै पनि म ओकल्न सक्दिन
मेरो क्लोम ध्वनीमा लगाम लगाइएको छ
त्यसैले बुद्ध मलाइ माफ गर
म तिम्रो छाती चिरेर सक्दिन
बमबारूद संग कुस्ती खेल्न
बाल शिशु जस्तै मेरो देश
कोक्रोमा कैद छ
प्रसवपीडाले आजित छ व्याकुल छ
बुद्ध मैले कहिलै सकिन
रेगिस्तानका चिहान घारीमा जीवन बाँचेका
भुमिपुत्रको आगनमा फर्काउन
त्यसले मलाइ माफ गर बुद्ध
मैले तिम्रो छाती कुल्चियर हिडेको सडकमा
म पाइलै पिच्छे मसाल जुलुस भेट्छु
र
आजित हुन्छु र
कोलम्बस दौडिरहन्छु जिजीविषा बोकेर !!
ए मेरा ज्युँदा मलामी हो
कति जिस्क्याउँछौ आगोलाई
अगेनोमा भुत्भुते खेलिरहेको
जून चुहिएको रात
हड्डिको खाँबो समाएर
जीर्णतन बृद्धहरू
धुमिल छायामा कोरिएका बक्ररेखाको
आएतन नापेर
वेचैनको निन्द्रामा हराउँछ्न
अशान्तिको देऊले पोतिएको मजेरीमा
कोमामा मृत्यु पर्खिरहेको रोगीझैँ
आजित छ मेरो देश
नीरव बस्तीमा बलात्कृत छन्
कुमारी आमाहरू
खड्केलीमा झर्नै छोड्यो
बलेसीको पानी
जब छिमेकी साहु बनेर पस्यो
मेरो सीमान्तकृत रेखामा
म बन्धक भयको छु
मेरो अस्तित्व लिलाम भएको छ
मेरो टाउकाको मूल्य छैन
मेरा खुट्टा गिँडिएका छ्न्
मेरा करङ्ले सिमानाको सुरक्षा गर्न सकेन
म अनागरिक जस्तै भएको छु
मखञ्जभयको छु
यस कारणकी
मैले उठाउन सकिन करबाल
हत्या हिंसा बलात्कार को बिरुद्धमा
म निम्सरो आङ्मा बाँचिरहेँ
ढुङ्गा कुदेर मुर्ति राखिएको
मुर्दाघाट जस्तो मन्दिरको पिढीँमा !!
यी बैँशालु पहाडहरूको पिरामिड भित्र
सोर्गूल मच्चाउने
कहाँ छन् डाँफे मयूर
कहाँ छन याकयाकुयिनहरू
कहाँ छन् लेस्बियन छायामा
लुकामारी खेल्ने दौँतरीहरू
मैले भेट्नै सकिन
बुद्धको उपदेशले कुँदिएका शालिकहरू
खण्डहर भएका यी ढुङे देउरालीमा
बर्षौ भएछ
स्वार्णिम युगले ढाकर नबिसाएको
यी जलजलाहरूमा रातो रगतको बाछिटाले
रंगिएका अलैंचीका पातहरूमा
लेखिएकोछ वीरहरूको नाम
सेलाइएन छ अस्तु अँध्यारोबाट निकालेर
दास भएछ्न् पाखा पखेराका गोठालाहरू
गिद्ध र वाज भएछन्
मैले गग्रेटो मुनी ओस्याएर
राखेको मकै खुवाएर हुर्काएका एक हुल
शान्तीपृय परेवा पनि
कुरूप भएछ सञ्जिवनीका पातमा
गुराँस निचोरेर बनाएको मेरो देशको आकृती
त्यसैले म आजित छु क्षुब्द छु
ब्याकुल छु बुद्ध तिम्रो संघारमा !!
छवि किरण ओली, बिर्तामोड, सैनिकमोड, झापा, नेपाल
[email protected]