अछाममा साहित्य उत्सव तथा कृषि मेला आयोजना गरिएको छ। कृषि र पर्यटन प्रवर्द्धनका लागि आकर्षक पर्यटकीयस्थल र टुर प्याकेजले मात्र हैन साहित्य उत्सवले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने प्रमाणित गरिदिएको छ, अछामको ढकारी गाउँपालिकाले । कला, संस्कृति, परम्परा, रीतिरिवाज र साहित्यको मात्र होइन, रैथाने अन्न बालीको समेत उर्वर भूमिका रूपमा परिचित ढकारीले कृषि र पर्यटनको प्रचारप्रसारका लागि साहित्य उत्सव तथा कृषि मेला प्रदर्शनीको आयोजना गरेर देशभरका साहित्यकारहरूलाई समृद्धिका रचनावाचन गराएको छ ।
सधैँ मायाप्रेम, देशप्रेम, राजनीति र समाजका विविध पक्षमा रचना गर्ने कवि, गजलकार र अन्य विधाका साहित्यकारहरूले दुर्गममा पुगेर कृषि र पर्यटनबारे रचना सुनाएपछि अहिले ढकारीको देशमै बेग्लै सान बनेको छ ।साहित्यकार डाक्टर नवराज लम्सालले रचनावाचनकै क्रममा यो उत्सवले कृषि, पर्यटनसँगै साहित्यका क्षेत्रमा ढकारीको परिचयलाई थप फराकिलो बनाउँदै मुलुककै सबैभन्दा ठूलो साहित्य कुम्भको रूपमा परिचित गराएको बताए। उनले देशका विभिन्न ठाउँका साहित्य अनुरागीहरूलाई एकै ठाउँमा भेला हुने अवसर दिएर यहाँको ‘भर्जिन’ पर्यटन, रैथाने कृषि र अन्य समृद्धिका विषयमा साहित्यमार्फत नयाँ ढंगले प्रचारको थालनी गरेको भन्दै यसले ढकारीजस्ता कयौँ दुर्गम क्षेत्रको सम्भावनाबारे राज्यको ध्यानकर्षण गराउने विश्वास व्यक्त गरे ।
काफल बेच्ने केटी शीर्षकको कविताका हरफ सुनाउँदै नेपाली लेखक संघका महासचिव कवि सोझो गाउँलेले दुर्गमको उत्पादन र त्यसको महत्त्वबारे चर्चा गरे। उनको कविताका भावले बोलेअनुसार दुर्गम अभाव र पीडाले जेलिएको मात्र होइन उत्पादनको पनि खानी हो । उत्सवमा मदन पुरस्कार विजेता विवेक ओझासहित साहित्यकारहरू तपेन्द्र घोडासैनी, खेम बतास, महेन्द्र अतल, महेश दोस्टाज, गीतास्मृति कठायत, कुस्मा भट्ट, कमलराज केसी, मीनबहादुर थापा, मनोज विवश, जीवन सरोवर, भरत अधिकारी जलन, झनक अधिकारी बारुद र भूपेन अथकलगायत काठमाडौंदेखि बझाङसम्मका साहित्यकारले कृषि र पर्यटनको प्रोत्साहनका लागि रचनावाचन गरेका थिए ।
साहित्य उत्सव तथा कृषि मेला प्रदर्शनी मूल आयोजक समितिका सदस्य नवीन चिरागका अनुसार गाउँपालिकाले कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो उत्सव आयोजना गरिएको हो। जहाँ सबैले सहजै बुझ्न सकून भनेर कविता, गजल र साहित्यका अन्य विधामार्फत यसको प्रचार गर्नुका साथै स्थानीय भेषभूषा, कला संस्कृति र भाषा संरक्षणका लागि देउडा, रत्यौली, हुड्केली, भुँव, पञ्चेबाजा पनि प्रदर्शन गरिएको छ । स्थानीय उत्पादन प्रदर्शनका लागि कार्यक्रमस्थल पुगेका किसानहरू कविता र गजलमार्फत कृषिका कुरा सुनेर दंग देखिएपछि मूल आयोजक समिति संयोजक तथा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले उत्सवको अन्त्यमा खुसी व्यक्त गर्दै यसले किसानमा उत्साह बढाएको बताए ।
उनले रैथाने अन्नबाली संरक्षणका लागि भाषण गरेर केही नहुने भन्दै अब किसानले बुझ्ने गरी यस्तै सिर्जनशीलतामार्फत उनीहरूमा जोस, जाँगर र उत्साह ल्याएर स्थानीय सरकारले कृषिलाई समृद्धिको मूल ढोकाको रूपमा प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । उत्सवमा सहभागी जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर, मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेलगायतका जिल्लाका जनप्रतिनिधिले पनि यो उत्सवले राजनीतिज्ञहरूलाई समेत उत्तरदायी बनाएको बताए । उत्सवमा बसाइँसराइले गाउँहरू रित्तनुको कारण, त्यसको असर र बसाइँसराइ रोक्न गर्नुपर्ने उपायबारे स्थानीय जनप्रतिनिधिहरूसँग बहस पनि गरिएको थियो ।