वसन्तवेला

“सर, हजुरको कुरा सुन्दा अचम्म लाग्यो । यत्रो यत्रो ठगी प्रकरणमा पर्नुभयो, तर पनि मुस्कुराउनु भएको छ, र गीत पनि गाउनु भएको छ !“ चेलो पदम आचार्य, आफ्नो गुरु प्रोफेसर अब्बलनारायण गिरोपाध्याय आलोक सित ।आलोकले आफू मात्र होइन अरू धेरै आफन्तहरू भित्रभित्र चरम आर्थिक शोषणमा परेको गोप्य कथाहरू थाहा पायो । मान्छेहरू यस्ता कथाहरू हत्तपत्त सार्वजनिक नगर्ने, किन कि आफू उल्लू बनेको अर्थ लगाइने । तर आलोकको नीति अलग ।
“पदम, हामी त तीन पुस्तानै “ठगलालहरूको“ फेला परियो । पिताजी नराम्रोसित ठगिइएको कुरा उहिले सुनाउनु भयो । त्यो त उहिलेको कुरा खुइले । तर २०५० सालमार्ग बीस यता हामी बाउ छोरा, दुई पुस्ता, पनि मज्जाले वन्चकहरूको फेला परियो । मैले हिसाब गरेको जम्मा रु पच्चीस लाख खाए चोरहरूले । सोझो र इमानदार हुनुको मूल्य चुकाइयो । तीनपुस्ते कथा हो चेला ! यो कुरा ग्लोबलाइज्ड भएको छ ।“
“आम्मामा, तर पनि हजुर त केही नभए जस्तो गर्नुहुन्छ त बाबा ! कसरी सहन सकियो ? धनशोक“पनि असह्य हुन्छ अरे ।“ “एउटा तत्वबोध भयो पदम ।हेर, आफूलाई चाहिनेभन्दा बढी भौतिकता सङ्ग्रह गर्नुनै मूर्खता हो ।बुझियो । जब पच्चीस लाख रुपैयाँ हामीबाट दूर हुँदा पनि हाम्रो जीवनगाडी चलेकै छ भने, त्यो पैसा बढी भएको रहेछ । अरूको कल्याणमा गयो ।खाना, नाना, छाना न हो अपरिहार्य, पुगेकै छ । जोगीको अनुदानले अर्को सालदेखि सवालाख रुपियाँको अनुदान सहयोग जानेछ, शब्दनगरमा, रुद्रपुरको खबर ! कल्याण भयो । म विचलित छैन । मेरी पत्नीलाई पीर परेको हो । सोझी ! केही छैन । जिन्दगी अझै बाँकी छ । कथा लेखेर चित्त बुझाउने छु ।तर, जसले ठग्यो, ऊ कहिल्यै पनि मेरो सामुन्नेमा शिर ठाडो गर्न सक्ने छैन । अरू धाक, सबै खाक !! अरे चेला, मैले दुःख पाए तिमीहरू छैनौं ? मर्दले कमाएको नामर्दले खायो । सत्य के हो ? ईश्वरलाई थाहा छ । मेरी सोझी पत्नीको आँसुले न सरापे हुन्थ्यो । यत्ति कामना छ । म त “धरा“,जति शोषण गरे पनि धानिने नि, अनिनि, तीनपुस्ते कथा उही हुनु पनि अचम्म होइन र ? यो दुनियाँमा जे पनि हुन्छ । चिन्ता छैन चेला !“
“हजुर त हजुर नै हो गुरुदेव । ठगहरू चिन्न पाएहुन्थ्यो ।“
“मार्ग चार पछि, चुनावलाई असर पर्नसक्छ।“
“हस् गुरुदेव, म पनि लाग्छु, बैनी पुर्याउन जानु छ ! “गयो पदम, चाल्यो आलोकले नयाँ कदम ।
धनराज घिरी