समाचार
काठमाडौं ।
असम, भारतकी कवि मिस्ना चानुको संयोजनमा १८ भाषामा प्रकाशित ‘बियोन्ड द ल्याङ्ग्वेज–३’ कवितासंग्रह एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । डिजिटल रूपमा लोकार्पित यस कृतिमा कविका सिर्जना उनीहरूकै भाषाका कविता र ती कविताका अंग्रेजी अनुवाद प्रकाशित भएका छन् । यस कृतिमा १० जना स्थापित तथा उदीयमान नेपाली कविहरूको कविता रहेको छ । कृतिभित्र नेपाली कविहरू पवन आलोक, काशीराज आचार्य, राजेन्द्र शलभ, भीष्म उप्रेती, चन्द्र गुरुङ, शान्ति शर्मा, देवकी तिमिल्सिना समीक्षा, सविता गौतम दाहाल, जानु धिताल र विधान आचार्यका कविता समेटिएका छन् ।
नेपाली भाषाका लागि यस प्रकाशनको सम्पादन कवि विधान आचार्यले गरेको आचार्यले बताए । डिजिटल लोकार्पणका अवसरमा कवि आचार्यले भाषा र लिपि फरक भए पनि सबै कविका भावना संसारको हितका लागि हुने धारणा राखे । नेपालीसमेत यसमा एकीकृत गरिएका अन्य भाषाहरूमा मणिपुरी, अरबी, मलयालम, रसियाली, सिन्धी र बोडो भाषा छन् । यसका प्रधानसम्पादक मिस्ना चानुको सक्रियतामा यो तेस्रो शृङ्खला भएको लोकार्पणमा जानकारी गराइयो ।
