• २०८३ भाद्र २९, सोमबार

बा

गोविन्द सुबेदी

गोविन्द सुबेदी

बा-
कहिल्यै ठूलो स्वर गर्नु भएन,
तर मौनभित्र गुञ्जिने पहाड जस्तै हुनुहुन्थ्यो ।
जस्तो
घरको आँगनमा उमारिएको
अडिग निमको रुख-
जसले
छायाँ दिन्छ,
औषधि उपचार दिन्छ,
तर कहिल्यै आफ्नै थकान सुनाउँदैन ।

उहाँका हातमा
मेहनतको ठेला थियो,
नङभित्र गाडिएको समय,
र निधारमा
कहिल्यै नसुक्ने चिन्ताको पसिना ।
हामी हाँस्थ्यौं,
बा चुपचाप भविष्य जोडिरहनुहुन्थ्यो ।

बा भनेका
रात ढल्दा बल्ने दियो हुन,
जसको तेल सकिँदै जान्छ
तर उज्यालो कम हुँदैन ।
उहाँका सपनाहरू
हाम्रो कापीमा लेखिएनन
तर हाम्रो नाममा सास फेरे ।

कहिलेकाहीँ
उहाँ कडा देखिनुहुन्थ्यो,
तर त्यो कठोरता होइन-
बाढी रोक्न बनाइएको
माटोको बाँध थियो ।
भित्र डर थियो,
तर बाहिर भरोसा ।

आज
उहाँका पाइला पदचाप छन
ती पदचापमा
हाम्रो जीवनको नक्सा छ ।
बा थाक्नुभएको हुन्थ्यो,
तर हार्नुभएको हुदैनथ्यो-
किनकि बा
हार शब्द जान्नुहुन्थेन ।

यदि ईश्वरलाई
एउटा रूप दिनु परे,
म भन्छु-
उहाँ बिहानै उठेर
हाम्रो लागि चिन्ता गर्ने
बा जस्तै हुनुहुन्थ्यो ।


गोविन्द सुबेदी
गैंडाकोट-२, नवलपरासी
९८४५०४८१५८