वसन्त–वेला
वाक्क लागेर यो संसारबाट
आफैलाई खोज्न
एकाएक म हराएँ ।
कोही ‘मान्छे हराएको’ सूचना दिन हिडे
कोही मधुशाला तिर खोज्न लागे।
तर,
मान्छेहरूको मानसपटलमा स्मृति हराइसकेको थियो।
मेरो आफ्नै छोरोको अनुहारमा “म” थिइन ।
आफन्तहरूले भित्तामा खोजे
कसैले सामाजिक संजालमा खोजे
कसैले टिकटकका भिडियोमा खोजे
अह!
कहिँ/कतै मेरो अनुहार थिएन।
वास्तवमा,
मसँगै मेरा सारा फोटोहरू हराइसकेका थिए ।
दराजमा मैले लगाउने कपडा थिएनन्
पुस्तकघरमा मैले पढ्ने सजिव पुस्तक थिएनन् ।
सडकहरूमा मेरो पदचाप थिएन
मैले लेखेका अक्षरहरू उडिसकेका थिए।
अतितमा,
मैले बोलेको आवाज कसैको कानमा गुन्जिएन
प्रेममा पग्लिएका टाटाहरू हराइसकेका थिए ।
कतै मैले काटेका नङ भेटिएनन्
झरेका कपाल पनि माटोसँगै मिलिसकेका थिए ।
वास्तवमा
मैले छोएका हरेक चिज गुमनाम थिए ।
साथीहरूको खेलमा म रहन सकिन
आफ्नै प्रेमकाको हृदयमा मेरो चित्र थिएन ।
कसरी भेटुन् मेरो हुलिया ?
यो संसारमा म रहेको कुनै प्रमाण थिएन ।
म !
हावाको झोक्का जस्तै
पानीमा कोरिएको अक्षर जस्तै
अँध्यारोको छाया जस्तै
पलमै हराइसकेको थिएँ ।
आखिर,
सबैलाई दुविधा भयो
“म” थियो कि थिएन?
मान्छेहरूमा यस्तो दुविधा
कि भगवानमाथि थियो
कि ममाथि रह्यो।
यही दुविधाले
एकाएक मलाई भगवान बनायो ।
चेतनपथ माधव