समाचार
काठमाडौं ।
नेपाली शिक्षा परिषद्ले राष्ट्रिय विभूति मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाउँदै ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गरेको छ ।काठमाडौंमा आयोजित कार्यक्रममा डा. बद्री पोख्रेलले साहित्यकार इन्द्रबहादुर चौधरीलाई २०८३ सालको ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गरेका हुन् । पुरस्कार प्रदान गर्दै डा. पोख्रेलले मोतीराम भट्टको योगदानबारे प्रकाश पारे । उनले शिक्षा परिषद्ले गर्दै आएको कामप्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रमको प्रारम्भमा गजलकार घनेन्द्र ओझाले गजल वाचन गरेका थिए । कार्यक्रममा परिषद्की अध्यक्ष रमा शर्माले आफूहरूले वि.स. २०१० सालदेखि मोतीजयन्ती निरन्तर रूपमा मनाउँदै आएको उल्लेख गरिन् । राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष शंकरप्रसाद पाण्डेले कोषद्वारा स्थापित ‘युवावर्ष मोती पुरस्कार’ २०४२ सालदेखि प्रदान गर्दै आएको जानकारी दिए ।
त्यस अवसरमा कोषका सदस्य सचिव डा. विष्णु भण्डारी, पुरस्कृत साहित्यकार चौधरीलगायतले आफ्ना धारणा राखे ।
सोही कार्यक्रममा शिक्षा परिषद्की सदस्य डा. इन्दिरा शर्माको संस्मरणात्मक कृति ‘विगतलाई फर्केर हेर्दा’ सार्वजनिक गरियो । लोकार्पित कृतिबारे कृतिकार डा. शर्माले आफ्नो धारणा राखिन् । कार्यक्रममा कवि गोष्ठी पनि सम्पन्न भयो । गोष्ठीमा कविहरू रमेश खकुरेल, प्रा. शिवगोपाल रिसाल, चन्द्रवदना घिमिरे, आर.डी. प्रभास चटौत, कोषराज न्यौपाने, प्रह्लाद पोखरेललगायत साहित्यकारले कविता वाचन गरे ।
