• २०८३ बैशाख १६, बुधबार

मथुरा थापाको ‘कोमल अभिभावकत्व’ पुस्तक सार्वजनिक

काठमाडौं ।

मथुरा थापाको ‘कोमल अभिभावकत्व’ पुस्तक सार्वजनिक गरिएको छ ।सार्वजिनक यो पुस्तकमा महिलाको गर्भावस्थादेखि बालबालिकालाई १८ वर्षसम्म हुर्काउने सम्पूर्ण प्रक्रियामा आमाबुबाले अपनाउनुपर्ने व्यवहार, सोच र सिपबारे केन्द्रित रहेको छ । शिक्षा क्षेत्रमा दुई दशकभन्दा बढी समय सक्रिय रहँदै आएकी लेखिका मथुरा थापाको यो पुस्तकमा अभिभावकत्वलाई केवल जिम्मेवारीका रूपमा होइन, एक संवेदनशील कला र दीर्घकालीन सामाजिक लगानीका रूपमा प्रस्तुत गरिएको छ ।

७४ परिच्छेदमा विभाजित यस कृतिमा नानीको णसम्मका विषयहरूलाई सरल र व्यावहारिक ढङ्गले प्रस्तुत गरिएको छ । बालमनोविज्ञानमा आधारित सुझावहरू, उमेरअनुसार विकासका चरणहरू, खेल, आहार, व्यवहार र सिकाइका तरिकाहरूलाई सन्तुलित रूपमा समेटिएको छ । यसले अभिभावकलाई केवल जानकारी मात्र होइन, व्यवहारमै लागू गर्न सकिने मार्गदर्शन दिन्छ ।

पुस्तकको भूमिकामा प्राध्यापक डा. विदुर चालिसेले यसलाई नेपाली समाजका अभिभावक, गृहिणी, सामाजिक अभियन्ता तथा बालबालिका हुर्काउने सबैका लागि दिशानिर्देशक कृति भनेका छन् । उनका अनुसार बालबालिकाको समुचित विकासका लागि खेलौनाको छनोट, पोषणयुक्त आहार, प्रारम्भिक पाँच वर्षको महत्त्व, उमेरअनुसार खेलकुद र व्यवहार व्यवस्थापनजस्ता पक्षहरूमा पुस्तकले विशेष जोड दिएको छ । बालबालिकाले देखाउने सामान्य व्यवहार, जस्तै खुट्टा भुइँमा बजार्ने वा जिद्दी गर्ने प्रवृत्तिको मनोवैज्ञानिक कारण र त्यसको दीर्घकालीन असरबारे पनि पुस्तकले गम्भीर विश्लेषण प्रस्तुत गरेको छ ।

लेखिकाले स्पष्ट रूपमा उल्लेख गरेकी छन्, बालबालिका जन्मँदै असल वा खराब हुँदैनन् । उनीहरूको व्यक्तित्व निर्माणमा अभिभावक, शिक्षक र समाजको व्यवहार, वातावरण र संस्कारको निर्णायक भूमिका हुन्छ। अभिभावकको बोली, व्यवहार र जीवनशैलीबाट बालबालिका सबैभन्दा छिटो प्रभावित हुने भएकाले सचेत अभिभावकत्व अत्यावश्यक हुन्छ । २१ वर्षको शिक्षण अनुभवका आधारमा लेखिकाले विभिन्न स्वभाव र पृष्ठभूमिका बालबालिका तथा अभिभावकसँगको अन्तरक्रियाबाट प्राप्त ज्ञानलाई थापाले पुस्तकमा समेटेकी छन् ।

अभिभावकको साझा चाहना आफ्ना सन्तानलाई असल र सफल बनाउने भए पनि त्यसका लागि आवश्यक ज्ञान र व्यवहारिक सिपको अभाव देखिने यथार्थलाई पुस्तकले सम्बोधन गरेको छ । पुस्तकमा गर्भावस्थादेखि किशोरावस्थासम्मका विभिन्न चरणहरूमा अभिभावकले अपनाउनुपर्ने व्यवहारको विस्तृत चर्चा गरिएको छ। गर्भधारणको समयदेखि नै बच्चाको मानसिक र भावनात्मक विकास सुरु हुने भएकाले त्यसबेला आमाबुबाको सोच, व्यवहार र वातावरणले प्रभाव पार्ने विषयलाई स्पष्ट पारिएको छ। नवजात शिशुको स्याहारदेखि पूर्वबाल्यावस्था र किशोरावस्थासम्मका चुनौतीहरूलाई सरल भाषामा व्याख्या गरिएको छ । २७२ पृष्ठको पुस्तकको आवरण वाशु क्षितिज र पुस्तक सम्पादन प्राडा विदुर चालिसेले गरेका छन् ।