• २०८३ भाद्र २२, सोमबार

सुरभि साहित्य प्रतिष्ठानको १८८औँ आख्यानवाचन कार्यक्रम सम्पन्न

काठमाडौं ।

सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८८औँ आख्यानवाचन कार्यक्रम सम्पन्न गरेको छ। २०८३ भाद्र २० गते प्रतिष्ठानको नव निर्मित भवन, गोकर्णेश्वर नगरपालिका–८, बेँसीगाउँमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टाहरूले आफ्ना कथा वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा दीपक सिंह भण्डारी, रमेश खनाल, वसन्त रिजाल, गङ्गा कर्माचार्य, महेन्द्र चालिसे, उद्धव रायमाझी, भारद्वाज मिश्र, भगतदास श्रेष्ठलगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । प्रतिष्ठानका उपाध्यक्ष मेनका आचार्य पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा कथाकारहरू सुशील आचार्य, दिवाकर न्यौपाने, सरिता घिमिरे, रञ्जु खनाल, शारदा पराजुली, परशुराम पराशर, विमल अर्याल, वसन्त रिजाल र महेन्द्र चालिसेले आ–आफ्ना कथा वाचन गरेका थिए। विभिन्न पुस्ता र प्रवृत्तिका कथाकारहरूको सहभागिताले कार्यक्रमलाई साहित्यिक रूपमा समृद्ध बनाएको आयोजकले जनाएको छ । यसै अवसरमा लामो समयसम्म सुरभि साहित्य प्रतिष्ठानको उपाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरेका परशुराम पराशरलाई सम्मानसहित बिदाइ गरिएको थियो। प्रतिष्ठानमा लामो समय योगदान पु¥याएका पराशरले अब उपाध्यक्षको जिम्मेवारीबाट विश्राम लिनुभएको जनाइएको छ ।

नियमित रूपमा आख्यानवाचन कार्यक्रम आयोजना गर्दै आएको सुरभि साहित्य प्रतिष्ठानले नेपाली आख्यानको विकास, स्रष्टाबीचको अन्तक्र्रिया तथा साहित्यिक गतिविधिको प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको छ। प्रतिष्ठानको नव निर्मित भवनमा आयोजित १८८औँ आख्यानवाचन कार्यक्रमले पनि नियमित साहित्यिक गतिविधिलाई निरन्तरता दिएको ।