• २०८३ भाद्र २२, सोमबार

युवा वर्ष मोती पुरस्कार २०८३ इन्द्रबहादुर चौधरीलाई

काठमाडौं ।

राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्दै आएको ‘युवा वर्ष मोती पुरस्कार–२०८३’ कञ्चनपुरका युवा सर्जक इन्द्रबहादुर चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ। कोषले भाद्र २० गते पत्रमार्फत चौधरीलाई पुरस्कार प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई प्रदान गरिँदै आएको उक्त पुरस्कारमा रु. ४० हजार नगद, स्वर्ण पदक र प्रमाणपत्र रहने गरेको छ ।

कोषका सदस्य–सचिव डा. विष्णुबहादुर भण्डारीको हस्ताक्षरमा जारी पत्रअनुसार पुरस्कारका लागि प्रा. रामकुमार पाँडेको संयोजकत्वमा गठित मूल्याङ्कन समितिको सिफारिसका आधारमा चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो। समितिमा भाषा सेवी प्रा. रमा शर्मा, गीतकार डा. बमबहादुर थापा ‘जिताली’, सञ्चारकर्मी तथा साहित्यकार जीवनाथ धमला र प्रा. डा. खुमनारायण पौडेल सदस्य रहेका थिए । साहित्य क्षेत्रमा ‘इन्द्र चौधरी’ नामले परिचित चौधरी थारू भाषा, संस्कृति तथा लोकसाहित्यको संरक्षण, अनुसन्धान र प्रवद्र्धनमा सक्रिय युवा सर्जक हुन्। विशेषगरी रानाथारू समुदायको मौखिक परम्परा, लोककथा र मिथकलाई अभिलेखीकरण तथा अनुसन्धानमार्फत साहित्यिक दस्तावेजका रूपमा प्रस्तुत गर्नु उनको सिर्जनात्मक यात्राको महत्वपूर्ण पक्ष मानिन्छ ।

उनको अनुसन्धानात्मक कृति ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भएको छ। कृतिमा कैलाली र कञ्चनपुर क्षेत्रमा प्रचलित रानाथारू समुदायका लोककथा, मिथक, थर–उपथर, चालचलन तथा किंवदन्ती समेटिएका छन्। पुस्तकमा ‘करमुओ और सपनो’, ‘सदासुर्का और सदाबिर्छ’, ‘सोरठ’ लगायत १२ वटा लोककथा समावेश छन् । चौधरीको सिर्जनात्मक उपस्थिति बालसाहित्यमा समेत उल्लेखनीय छ। रूम टु रिडबाट प्रकाशित बालचित्र पुस्तक ‘नयाँ वनपाले’ का लागि उनले २०७९ सालको ८ वर्षभन्दा कम उमेर समूहको सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फ ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’ प्राप्त गरेका थिए। पछिल्लो विवरणअनुसार उनका चारवटा बालचित्र कथा प्रकाशित छन् ।

त्यसैगरी उनले अङ्ग्रेजीबाट नेपाली तथा नेपाली÷अङ्ग्रेजीबाट थारू र रानाथारू भाषामा दर्जनौँ बालकथा अनुवाद गरेका छन्। करिब आधा दशक सञ्चारकर्ममा बिताएका चौधरी रंगमञ्चसँग समेत आबद्ध छन् भने हाल शिक्षण पेसामा सक्रिय छन् । थारू भाषा, संस्कृति र लोकसाहित्यको अनुसन्धान तथा संरक्षणसँगै सिर्जना, अनुवाद, बालसाहित्य, सञ्चार र रंगमञ्चका विभिन्न क्षेत्रमा सक्रिय चौधरीलाई युवा वर्ष मोती पुरस्कार प्रदान गर्ने निर्णयले उनको बहुआयामिक साहित्यिक योगदानको मूल्याङ्कन भएको देखिन्छ ।