समाचार
म एउटा नदी हुँ
मलाई एक्लै बग्न देऊ
मेरो सामीप्यको मोह नगर
मलाई मेरै किनारहरूको भर छैन ।
मलाई मेरो कमजोरी थाहा छैन
मेरै स्वभावको कुनै हेक्का छैन
मेरो आफ्नै रङ्गरुप
मैले अझै देखेको छैन ।
न मेरा आँखाहरु छन्-
र कसैको आँसु पढ्न सक्छु
न मेरो विवेक छ-
र सही र गलत छुट्याउन सक्छु
न मन र मुटु नै छ-
र तिम्रा पीडा महसुस गर्न सक्छु ।
म त नदी हुँ-
जता माटोले बाटो दिन्छ
उतै म बग्छु
जता छालको वेगले धकेल्छ
उतै म हाम फाल्छु
म बाटो रोज्दिनँ
बाटोले मलाई रोज्छ ।
म कसैलाई चिन्दिनँ-
न तिम्रो गाउँ चिन्छु
न तिम्रो बस्ती
न तिम्रो सहर
न तिम्रा सपनाहरु नै
न तिमी र तिम्रा प्रियजनहरु ।
मेरो किनारछेउ तिमी बस्दै नबस
मेरो छेउछाउ तिम्रा सपनाहरू रोप्दै नरोप
मलाई आफन्त ठानेर
तिम्रा विश्वासहरु खर्च गर्दै नगर ।
किनकि-
म सधैँ पानी मात्र बग्दिन
म हिमतालको विस्फोट पनि बग्छु
कहिले ढलेका पहाड
कहिले छालहरूको उछाल
कहिले आँधी–तुफानको वेग
अनि कहिले बाढीको हुँकार बोकेर बग्छु ।
त्यसैले-
मलाई एक्लै बग्न देऊ
मेरो सामीप्यको मोह नगर
मलाई मेरै स्वभावको भरोसा छैन
मलाई मेरै किनारहरुको भर छैन ।
***
-सुबास प्रधान -हाल: बेलायत