• २०८३ भाद्र १७, बुधबार

गीतकार डा. दामोदर रेग्मीको ‘वासन्ती सुवास’ सार्वजनिक

काठमाडौं ।

गीतकार डा. दामोदर रेग्मीको शब्द तथा विराज काफ्लेको स्वर र सङ्गीत रहेको ‘वासन्ती सुवास’ बोलको गीत सार्वजनिक भएको छ । लामो समयदेखि भारतको दिल्लीमा गजल तथा हिन्दुस्तानी शास्त्रीय सङ्गीतको वातावरणमा हुर्किएका काफ्लेको स्वर र सङ्गीतमा गीत सार्वजनिक गरिएको गीतकार रेग्मीले बताउनुभयो । उहाँका अनुसार काफ्लेले यसअघि पनि विभिन्न गीतमा स्वर तथा सङ्गीत दिँदै आउनुभएको छ ।

गीतकार रेग्मीका यसअघि आनी छोइङ डोल्माको स्वरमा रहेको ‘जिन्दगीको पाठशाला’ कान्तिपुर नेसनल म्युजिक अवार्डमा मनोनयनमा परेको थियो । उक्त गीतको भिडियोमा कलाकार मिथिला शर्माको समेत अभिनय रहेको छ । रेग्मीका ‘अलिकति हाँस्नु तिमी’ (प्रताप दास र अनु चौधरी), ‘एक अञ्जुली मायाको उपहार छरिदेऊ’ (आनन्द कार्की), ‘सिरेटोले छुँदै छुन्न’ (मुरलीधर), ‘डाँडापारि घाम डुब्यो’ (समीक्षा अधिकारी) तथा ‘यो मनको चाहना’ (सुरेश र दीपा) लगायत गीत चर्चित छन् । उनका गीतमा किरण कडेल, डीबी लामा, मुरलीधर र कीर्ति न्यौपानेले सङ्गीत दिइसकेका छन् ।

‘वासन्ती सुवास’का गायक तथा सङ्गीतकार काफ्लेले बाल्यकालदेखि नै परिवारबाट सङ्गीतप्रतिको रुचिमा प्रोत्साहन पाएको बताउनुभयो । दिल्लीमा विद्यालय तहमा अध्ययन गर्दा गजल र हिन्दुस्तानी शास्त्रीय सङ्गीतको उर्वर वातावरण पाएको उहाँले स्मरण गर्नुभयो । ‘शास्त्रीय सङ्गीत पाठ्यक्रमकै अङ्ग थियो । अन्तरविद्यालयीय प्रतियोगितामा सहभागितालाई प्रोत्साहन दिइन्थ्यो । वरिष्ठहरूको प्रस्तुति सुनेर म एकान्तमा उनीहरूको अनुकरण गर्ने गर्थें,’ काफ्लेले भन्नुभयो ।

१३ वर्षको उमेरमै गीतकार कालीप्रसाद रिजाल र राजेन्द्र थापासँग भेट्ने अवसर पाएका काफ्लेले उनीहरूका शब्दमा रेडियो नेपालमा गीत रेकर्ड गराउनुभएको थियो । पछि ती गीत ‘म्युजिक नेपाल’बाट प्रकाशित एल्बममा समेटिएका थिए । १६ वर्षको उमेरमा एकल गायकका रूपमा सांगीतिक कार्यक्रममा प्रस्तुति दिने अवसर पाएको उहाँले बताउनुभयो । वर्षौँपछि सोही एल्बमको ‘एक्लो बाटो’को पुनःसृजित संस्करणसमेत पन्त फिल्म प्रतिष्ठान र म्युजिक नेपालबाट सार्वजनिक भएको उहाँले जानकारी दिनुभयो । गीतकार रेग्मीसँग पुरानो चिनजान भए पनि उनका गीत गाउने अवसर भने यसअघि नजुरेको काफ्लेले बताउनुभयो । ‘वासन्ती सुवास’मार्फत रेग्मीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।

पेशागत रूपमा दिल्ली विश्वविद्यालयअन्तर्गत दयाल सिंह कलेजमा अङ्ग्रेजी साहित्य अध्यापन गर्दै आएका काफ्ले साहित्यले आफूमा कलाको आस्वादन, आलोचनात्मक हस्तक्षेप र सामाजिक रूपान्तरणप्रतिको लगाव जगाएको बताउँछन् । सामाजिक विषय र टिप्पणी बोकेका गीत सिर्जना गर्दा विशेष आनन्द मिल्ने उहाँको भनाइ छ । उहाँका अनुसार ‘यसपाली’ लगायतका सिर्जना तथा कवि दुष्यन्तकुमारको हिन्दी कवितामा आधारित ‘चिराग मयस्सर नहीं’ उनका सामाजिक सरोकारयुक्त रचनामध्ये हुन् । लामो समयपछि पुनः स्वर र सङ्गीतसहित श्रोतामाझ आएको बताउँदै काफ्लेले ‘वासन्ती सुवास’लाई पनि आफ्ना अघिल्ला गीतझैँ श्रोता–दर्शकले रुचाउने अपेक्षा व्यक्त गर्नुभयो । गीतकार रेग्मीले काफ्लेसँग आगामी दिनमा पनि अन्य गीतमा सहकार्य गर्ने बताउनुभयो । आफ्ना सिर्जनामा नयाँ गायक–गायिकालाई अवसर दिने कार्यलाई निरन्तरता दिने उहाँको भनाइ छ ।