• २०८३ भाद्र १२, शुक्रबार

‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ कविताकृति माथि परिचर्चा सम्पन्न

काठमाडौँ ।

कवि अनिल श्रेष्ठको नवीनतम कविताकृति ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ माथि परिचर्चा सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कविताकृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समीक्षक बद्रीप्रसाद ढकालले अनिलका कविताले समाजको यथार्थ चित्रण गरेको बताए । यो कृति सशक्त कविताहरूको संग्रह भएको बताउँदै ढकालले कवितामा कविले भुइँमान्छेको आवाज बोलेको बताए । अर्का समीक्षक अमृता शर्माले कवि श्रेष्ठ मूलतः वैचारिक र गम्भीर चेतना भएका कवि भएको उल्लेख गर्दै वर्तमानको कुरूप यथार्थप्रति उनका कविताले दह्रिलो प्रहार गरेको बताइन्। समीक्षक शर्माले यो कृति आजको समयको सशक्त प्रतिपक्षी कविता भएको उल्लेख गरिन् ।

समीक्षक विष्णु ज्ञवालीले ६७ वटा कविताहरू समेटिएको यस कृतिमा सामाजिक, राजनीतिकलगायत अनेक विकृति विसंगतिमाथि कविले खरो प्रहार गरेको बताए । उनले कम्युनिष्ट आन्दोलनका समस्या पनि कवितामा आएको उल्लेख गरे । प्रमुख अतिथि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कविले यो शीर्षक राखेर चुनौती स्वीकार गरेको बताउँदै यो कविताकृति कविताका पाठकमात्र नभएर राजनीतिज्ञ, प्रशासक सबैको हातहातमा पु¥याउनु पर्नेमा जोड दिए ।

आँबुखैरेनी स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा कृतिकार श्रेष्ठका साथै केशव पराजुली, विमल भौकाजी, मातृका पोखरेल, मित्रलाल पंज्ञानी, प्रा.कपिल अज्ञात, तेजविलाश अधिकारीलगायतले आफ्ना धारणा राखे ।