• २०८३ आश्विन ९, शुक्रबार

टीकाराम उदासीका दुई कृति लोकार्पण

काठमाडौं ।

साहित्यकार प्राडा टीकाराम उदासीका नियात्रासङ्ग्रह ‘आमार सोनार बङ्गला’ र कवितासङ्ग्रह ‘इतिहासको पुनर्मुद्रण’ लोकार्पण भएका छन् । सर्वोदय पुस्तकालय र बी.एन. पुस्तक भण्डारको संयुक्त आयोजनामा आयोजित विशेष कार्यक्रममा डा. उदासीका दुवै कृति सार्वजनिक गरिएको हो । सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा भाषा आयोगका पूर्वसदस्य एवं वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विमोचित कृतिमाथि वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी र थमन बस्नेतले टिप्पणी गर्दै दुवै कृतिका विषयवस्तु, साहित्यिक विशेषता तथा लेखकीय दृष्टिकोणबारे गहन समीक्षा प्रस्तुत गरेका थिए । लेखक डा. टीकाराम उदासीले ‘आमार सोनार बङ्गला’ र ‘इतिहासको पुनर्मुद्रण’ लेखनका क्रममा प्राप्त आफ्ना अनुभव, अनुभूति तथा कृतिको पृष्ठभूमिबारे धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, परिषद्का सल्लाहकार तथा वरिष्ठ साहित्यकार पुरुषोत्तम खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै लेखक उदासीलाई बधाई तथा साहित्यिक सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको प्रारम्भमा सर्वोदय पुस्तकालयका उपाध्यक्ष चन्द्रराज पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन बी.एन. पुस्तक भण्डारका कार्यकारी निर्देशक सूर्य बिसीले गरेका थिए ।