• २०८३ भाद्र ८, सोमबार

‘प्रदीप गिरि स्मृति फेलोसिप’ सुरु

काठमाडौं ।

स्वर्गीय प्रदीप गिरिको अध्ययन, विचार, सामाजिक न्याय र अभियानको विरासतलाई निरन्तरता दिने उद्देश्यले ‘प्रदीप गिरि स्मृति फेलोसिप’ सुरु गरिने भएको छ । फेलोसिप आयोजकका अनुसार प्रदीप गिरिका लागि अध्ययन र लेखन जीवनका अभिन्न हिस्सा थिए । समाजका कमजोर, सीमान्तकृत तथा पछाडि पारिएका नागरिकका पक्षमा निर्भीक रूपमा उभिनु उहाँको अर्को महत्वपूर्ण प्रतिबद्धता थियो । यही भावनालाई केन्द्रमा राखेर फेलोसिपलाई ‘विचार, अध्ययन र अनुसन्धान’ तथा ‘कर्म, न्याय र अभियान’ गरी दुई आधारमा अघि बढाइने जनाइएको छ ।

फेलोसिपको पहिलो चरणअन्तर्गत अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिनेछ ।
फेलोसिपका लागि चार प्रमुख अध्ययन क्षेत्र तोकिएका छन्
नेपाली राजनीति, गणतन्त्र र सङ्घीयता
समावेशिता र सामाजिक न्याय
साहित्य, दर्शन र विचारको इतिहास
युवा नेतृत्व, नागरिक शिक्षा र लोकतान्त्रिक नवप्रवद्र्धन

आयोजकका अनुसार कुनै विचारकप्रति सार्थक श्रद्धाञ्जली उहाँका विचारलाई स्मारकमा मात्र सीमित गर्नु नभई नयाँ पुस्तालाई ती विचारसँग संवाद गर्ने, प्रश्न गर्ने र तिनलाई अझ अगाडि लैजाने अवसर सिर्जना गर्नु हो । ‘प्रदीप गिरि स्मृति फेलोसिप’ पनि यही उद्देश्यतर्फको प्रयास भएको गगन थापाले स्टेटसमा उल्लेख गर्नुभएको छ ।