समाचार
काठमाडौं ।
प्रा.डा. कुमारप्रसाद कोइरालाद्वारा सम्पादित ‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’ कृति काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतम र कार्यक्रमका सभापति प्रा.डा. ज्ञानु पाण्डेले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि डा. गौतमले प्रा.डा. गोविन्दराज भट्टराईको साहित्यिक योगदानको चर्चा गर्दै उहाँलाई स्रष्टाभन्दा पनि साधकका रूपमा चित्रण गर्नुभयो । उहाँले भट्टराईले आफ्नै बाटो निर्माण गरेर साहित्यिक यात्रा अघि बढाएको उल्लेख गर्दै उहाँ स्वयं एउटा संस्थाका रूपमा स्थापित भइसकेको बताउनुभयो । प्रा.डा. अभि सुवेदीले ‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’लाई बृहत् दस्ताबेजका रूपमा आएको कृति बताउनुभयो ।
डा. तुलसी भट्टराईले आफ्ना भाइ गोविन्दराज भट्टराई सबैलाई उत्प्रेरित र सहयोग गर्ने व्यक्तित्व भएको चर्चा गर्दै पाँचथरमा हुँदाको एक प्रसङ्गसमेत सुनाउनुभयो । उहाँले कृतिले भट्टराईका रचनाबारे बुझ्न सहयोग गर्ने बताउनुभयो । प्रा.डा. नारायणप्रसाद चालिसेले भट्टराईसँगको आफ्नो सम्बन्ध स्मरण गर्दै कृति प्रकाशन भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय गुणात्मक कृति ओझेलमा पर्ने अवस्था देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
डा. ज्ञानु अधिकारीले भट्टराई धेरै सर्जकका अभिभावक भएको बताइन् भने तुलसी गौतमले कृतिलाई मूल्यवान् ग्रन्थका रूपमा टिप्पणी गरे । टेकनारायण ढकालले भट्टराईले साहित्य साधनामा निरन्तर समय दिँदै आएको चर्चा गरे । सम्पादक प्रा.डा. कुमारप्रसाद कोइरालाले आफूलाई पुस्तक सम्पादनको जिम्मेवारी प्राप्त हुनुको सन्दर्भबारे धारणा राखे । भट्टराईले आफ्ना कृतिमाथि लेखिएका सामग्री हराउने सम्भावनालाई ध्यानमा राखेर पाठकसमक्ष यो कृति ल्याइएको बताए । ओरिएन्टल पब्लिकेशनद्वारा आयोजित कार्यक्रममा सभापति प्रा.डा. ज्ञानु पाण्डेले यो पाठकहरूको पुस्तक भएको बताइन् । अनिता कोइरालाले गोविन्दराज भट्टराईलाई चुम्बकको विम्बसँग तुलना गर्दै आफ्ना धारणा राखिन् । ‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’ सेर्गेम प्रकाशन, दमकले प्रकाशन गरेको हो ।
