समाचार
मकवानपुर ।
शिक्षासेवी तथा सेवानिवृत्त शिक्षक देवप्रसाद श्रेष्ठको जीवनमा आधारित कृति ‘जीवनयात्रा’ सार्वजनिक गरिएको छ । श्रेष्ठको जन्मथलो, बाल्यकाल, जीवन सङ्घर्ष, पारिवारिक अवस्था, पेसागत जीवन, हेटौँडाको विगत र वर्तमान तथा चिसापानी आन्दोलनलगायत विषय समेटिएको कृति शनिबार हेटौँडामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले कृति व्यक्तिगत जीवनकथा मात्र नभई तत्कालीन सामाजिक परिवेश र घटनाक्रमको दस्ताबेजका रूपमा समेत उपयोगी हुने बताउनुभयो । कृतिमा श्रेष्ठले भोगेका अनुभवलाई २९ वटा शीर्षकमा प्रस्तुत गर्नुभएको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, साहित्यकार निमेष निखिल तथा शिक्षासेवी ऋषिराम पोखरेल र शकुन्तला जोशीलगायतले श्रेष्ठको व्यक्तित्व, योगदान र जीवन सङ्घर्षका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा शिक्षासेवी श्रेष्ठलाई वासुदेव रिजाल स्मृति सम्मान प्रदान गरिएको थियो ।
