• २०८१ माघ २ बुधबार

नेपाली मौलिक दर्शन र दार्शनिक चिन्तनहरूका बारेमा विमर्श सम्पन्न

काठमाडौँ ।

अन्तर्राष्ट्रिय दर्शन दिवस-२०२४ का अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान, दर्शनशास्त्र विभागले समाज विकास र दर्शनु विषयक विचार-गोष्ठीको आयोजना गरेको थियोे । उक्त विचार-गोष्ठीको ब्यानर वाचन गरेर प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्दघाटन गर्नुभएको थियो । उहाँले दर्शनमा भौतिकवादी र अध्यात्मवादी धारा छन् । ती मध्ये विश्वमा फैलिएका दर्शनका आयाम वा हाँगामध्ये नेपाली मौलिक दर्शन र दार्शनिक चिन्तनहरूका बारेमा प्रज्ञा-प्रतिष्ठानले खोजमूलक अध्ययन गरी तिनको निरुपण गर्ने बताउनु भएको थियो ।

दार्शनिक चिन्तक गोपीरमण उपाध्यायले समाज विकास र दर्शन विषयक कार्यपत्र प्रस्तुत गर्दै वर्तमान युग समाजवाद र पुँजीवादबिच द्वन्दको युग हो ।यसको दार्शनिक चिन्तन प्रणाली वैज्ञानिक भौतिकवाद हो भन्ने धारणा राख्नु भएको थियो । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै माक्र्सवादी चिन्तक श्याम श्रेष्ठले कुनै पनि दर्शनलाई गति र वर्गीय समानताको आधारमा आलोचनात्मक दृष्टिकोणसहित विज्ञानसम्मत ढङ्गले समाज विकासलाई हेर्नुपर्ने बताउनु भएको थियो । अर्का टिप्पणीकार राजनीतिक चिन्तक प्रमेश हमालले समाज विकासमा दर्शन र चिन्तनले पारेको प्रभावलाई वस्तुत निष्ठ व्याख्या गर्न जोड दिनु भएको थियो ।

सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै कुनै धर्मले संशयलाई रोक्छ । तर कुनै पनि दर्शनले विषयवस्तुमाथि संशय पैदा गरिदिन्छ भने दर्शन विज्ञानले ठयाक्कै निरुपण गर्छ । यसले समाज विकासमा गहिरो प्रभाव रहेको बताउनु भएको थियो ।

उक्त ‘समाज विचार र दर्शन’विषयक विचार-गोष्ठीमा प्राज्ञसभा सदस्यद्वय डा. भागवत आचार्य र धर्मेश पोखरेल तथा सहभागीका तर्फबाट डा. भरतप्रसाद बराल, निमानन्द रिजाल, डा. सोम धिताल, प्रकाश तिमल्सिना र प्रेम शिल्पकारले आआफ्ना जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको उद्घोषण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो ।