• २०८१ माघ २७ आइतबार

मधुपर्कसम्मान २०८० बाट तीन स्रष्टा सम्मानित

गोरखापत्र संस्थानको मासिक साहित्यिक प्रकाशन मधुपर्कको ५६औँ वार्षिकोत्सव कार्यक्रम तथा मधुपर्कसम्मान २०८० समर्पण एक समारोहबीच काठमाडौँमा सम्पन्न भयो । यस वर्षको सम्मान कविता विधामा वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठलाई, गद्यतर्फ नेपाली आख्यानमा समर्पित वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई तथा बालसाहित्यमा सक्रिय छन्द कवि प्रभा भट्टराईलाई सम्मान गर्ने निर्णय गरिएको थियो ।

समारोहमा पुष्कर लोहनी तथा प्रभा भट्टराईलाई प्रमुख अतिथि नेपाली आधुनिक कविताका सूत्राधार आयामेली कवि वैरागी काइँलाले मधुपर्क सम्मान हस्तान्तरण गर्नुभयो । कवि कृष्णभक्त श्रेष्ठ स्वास्थ्यका कारण उपस्थित हुननसक्नुभएकाले उहाँकै घरमा पु¥याउने गरी मधुपर्कका सम्पादक जयदेव भट्टराई प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्मानित विशिष्ट साधकहरूबारे समालोचक महेश पौडेलले बोल्नुभएको थियो । साथै पुरस्कार चयन समितिका संयोजक गणेश रसिकले मधुपर्क र सम्मानित प्रतिभाबारे आफ्नो धारणा राखेका थिए । सम्मानित कवि प्रतिभा प्रभा भट्टराईले सम्मान प्राप्त गरेपछि आफ्नो अभिव्यक्ति दिँदै चङ्गा शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् । सम्मानित आख्यानकार पुष्कर लोहनीले नेपाली साहित्यमा २०१० सालदेखि लेख्दै आएको र आफ्नो लेखनको मूलधार यौन साहित्य भएको बताए ।

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरले सभालाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम मधुपर्कका प्रधान सम्पादक जयदेव भट्टराईको सभापतित्वमा सञ्चालित भएको थियो भने कार्यक्रम सञ्चालन मधुपर्कका नायब कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्लेले गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि बैरागी काइँलाले आफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले आगामी वर्षदेखि पुरस्कारको रकम ३५ हजारबाट ५० हजार गर्ने र पुरस्कार रकममा कर नलाग्ने निर्णय बैठकमा राख्ने घोषणा गरे । कार्यक्रममा राजधानी तथा राजधानी बाहिरका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।