• २०८३ भाद्र ५, शुक्रबार

डा. रणजित कुमार झाको ‘न गाँस्थे म प्रित’ सार्वजनिक

काठमाडौं ।

गायक, संगीतकार तथा गीतकार एवं वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ र त्यसको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार राजधानीको न्यूरोडस्थित रञ्जना हलमा आयोजित विशेष समारोहमा ख्यातिप्राप्त अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । फिल्मी गीतको शैलीमा तयार गरिएको ‘न गाँस्थे म प्रित’ मा प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ । यो गीत डा. झाको ‘जीवन पथ–२’ एल्बममा समावेश छ । गीतमा डा. झाकै शब्द, संगीत र स्वर रहेको छ भने पबिधान खालिङले एरेन्ज गरेका छन्। किशोर थापाले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्। भिडियोमा दुवैलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ । भिडियोको निर्देशन, कथा तथा कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन, कलर तथा जीएफएक्स रहेको छ। सरोज पाण्डेको मेकअप र सूर्य ओलीको प्रोडक्सन रहेको छ । गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा डा. रणजित कुमार झाले चिकित्सा पेसासँगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको बताउनुभयो। ‘जीवन पथ–२’ अन्तर्गत सार्वजनिक गरिएको गीतले आफूभित्र रहेका अव्यक्त प्रेमिल भावनालाई संगीतमार्फत प्रस्तुत गरेको उहाँको भनाइ थियो ।

निर्देशक तथा कोरियोग्राफर कविराज गहतराजले गीत सुन्नासाथ आफू कल्पनामा डुबेको र त्यही अनुभूतिलाई आधार बनाएर रोमाञ्चक म्युजिक भिडियो तयार गरिएको बताउनुभयो । भारतमा अध्ययनरत भिडियोकी मोडल तथा डा.झाकी छोरी सोहल्या झाले भिडियो सन्देशमार्फत आफूले ६ वर्षदेखि सिक्दै आएको भरतनाट्यमको अनुभव भिडियो निर्माणमा उपयोग भएको बताइन्। बुवाको गीतको भिडियोमा काम गर्न पाउँदा आफू खुसी भएको उनको भनाइ थियो । मोडल सुरेश कोहलीले ‘न गाँस्थे म प्रित’को भिडियोमार्फत फिल्मी गीत र त्यसको भिडियोमा अभिनय गरेको अनुभूति भएको बताए ।

कार्यक्रममा गायक राजेशपायल राईले डा. झाको प्रतिभालाई आफूले सुरुवातमा सामान्य रूपमा लिए पनि संगत गर्दै उनको स्वर सुनेपछि अद्भुत प्रतिभा रहेको महसुस गरेको बताए । प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले डा. झाको नशा–नशामै संगीत रहेको टिप्पणी गर्नुभयो । म्युजिक भिडियो सार्वजनिकसँगै ‘न गाँस्थे म प्रित’ डा. रणजित कुमार झाको आधिकारिक युट्युब च्यानलका साथै विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध भएको छ। कार्यक्रममा डा. झाको परिचयात्मक भिडियोसँगै उनका आगामी गीत ‘साथी तँ रक्सी नखा’ र ‘रातकी रानी’ को भिडियो ट्रेलरसमेत सार्वजनिक गरिएको थियो । चिकित्सा र संगीत दुवै क्षेत्रमा सक्रिय डा. झाले बंगलादेशबाट एमबीबीएस तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जबाट एमडी गरेका छन् । उनले भारतको अपोलो अस्पतालबाट मधुमेह र मुटुसम्बन्धी दुई विषयमा फेलोशिपसमेत गरेका छन् ।

सप्तरीको कल्याणपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रबाट चिकित्सकीय सेवा सुरु गरेका डा. झाले जिरी अस्पताल दोलखा, प्रादेशिक अस्पताल लहान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज हुँदै हाल वीर अस्पतालमा सेवा दिइरहेका छन्। २१ वर्ष लामो चिकित्सकीय सेवाका क्रममा उनले विभिन्न अस्पतालमा करिब ९ वर्ष नेतृत्वदायी भूमिकासमेत निर्वाह गरेका छन् । तीन दशक लामो सांगीतिक यात्रामा डा.झाले गीत लेखन, संगीत सिर्जना तथा गायनलाई निरन्तरता दिँदै आएका छन्। स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री–२०७७ बाट विभूषित भएका उनी स्वास्थ्य तथा संगीत क्षेत्रमा पु¥याएको योगदान र २०७२ सालको भूकम्पका बेला गरेको सेवाका लागि हङ्वान्जी बुद्धिस्ट सोसाइटी अफ नेपाललगायत विभिन्न संस्थाबाट सम्मानित भइसकेका छन् ।

संगीत क्षेत्रमा योगदानका लागि डा. झा नेपाली हिमालयन म्युजिक अवार्ड–२०७२, १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०२५ अन्तर्गत म्युजिक खबर संगीतकर्मी सम्मान तथा निम अवार्ड संगीतकर्मी सम्मान–२०२५ लगायत विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेका छन्।