समाचार

६ असार, काठमाडौं । लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम्अभिनेता खगेन्द्र लामिछाने, वरिष्ठ लोक गायिका शर्मिला गुरुङ र लेखक सुरेश प्राञ्जलीले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभयो । कार्यक्रममा लेखक प्राञ्जलीसँग अभिनेता लामिछानेले पुस्तक एवम्यसको भाषिका आदिका विषयमा आधारित रहेर अन्तर्संवाद समेत गर्नुभयो ।
उक्त अवसरमा आप्रवासनविद् गणेश गुरुङले प्राञ्जलीको उपन्यासको विषय एवम्प्रभाव आदि विषयमा आफ्नो मन्तव्य राख्नु भयो ।
नेपालको इतिहासको एउटा कालखण्डको एउटा भूगोलमा दुई विभिन्न जातिको बीचमा एकदम मार्मिक तवरले चित्रण गरिएको प्रेमकथालाई सूक्ष्म रुपमा चित्रण गरेको उहाँले बताउनु भयो । साथै भाषिक सौन्दर्यका दृष्टिले पनि उपन्यास अति उपयोगी रहेको उहाँको भनाइ छ ।
पानीघट्टमा सुरेश प्राञ्जली भाषासँग मज्जाले खेलेको प्रकाशक फाइन प्रिन्टका अजित बरालले बताउनुभयो । एउटा जोहरीले गरगहनामा जसरी काम गर्छ, त्यसरी नै सुरेशले भाषामा काम गरेको उहाँको भनाइ थियो । ‘पहिलो पुस्तक राम्रो लेख्नेले दोस्रो पुस्तक राम्रो लेख्दैन भन्ने नेपालमा एउटा न्यारेटिभ जुन बनेको छ, जुन म मान्दिनँ । त्यो न्यारेटिभलाई सुरेशको नयाँ उपन्यासले भत्काउँछ भन्ने मलाई लाग्छ ।’
कार्यक्रममा लेखक प्राञ्जलीले आफूले सानैदेखि गुरुङ एवम् रोधी संस्कृतिका विषयमा पढ्न मन लागेको र त्यसको अभाव महसुस भएकाले आफैंले उपन्यास लेख्ने जमर्र्को गरेको बताउनु भयो । साथै गुरुङ संस्कृतिलाई मूलधारको साहित्यमा ल्याउनुपर्छ भनेर पनिआफूले पानीघट्ट लेखेको उहाँको भनाइ छ ।
‘रोधी संस्कृति, लाहुरे परम्परा आदि विषयमा लेखिएका पुस्तक एकदमै कम छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले पनि त्यो अभावपूर्ति गर्न पानीघट्ट उपन्यास लेखेको हुँ ।’
यसअघि ‘तुइन’मा आफूले कर्णालीको जनजीवन र संस्कृतिलाई पस्किएको र अहिले गण्डकी भेगको कथा प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो ।
मूलधारको अखबारी लेखनमा चिनिएको नाम हो, सुरेश प्राञ्जली । सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक लगायत समसामयिक मामिलामा उनका थुप्रै लेख र टिप्पणी राष्ट्रिय दैनिकमा छापिएका छन् ।