
माघको अन्तिम हप्ता, बिहानको बाक्लो कुहिरोले त्रिशुली नदी ढपक्कै ढाकेको थियो । नदी माथिको झोलुङ्गे पुलमा एउटा दुब्लो तर अग्लो आकृती द्रुत गतिमा लम्किरहेको थियो । पुरानो ऊनी स्वेटरमाथि पुरानै कोट अनि घांटीदेखि मुखैसम्म छोपीने गरी मफलरले बेरिएको उक्त आकृती केहिबेरको उकालो पश्चात् राजमार्ग बजार टूप्लुकियो ।
बिहानको भर्खर ६ बजेको थियो । बजारका प्रायः होटलहरु अगावै खुलिसकेका थिए भने केही सटर खुल्ने तरखर् गर्दै थिए । होटलवालाहरु कोही अँगेनामा आगो जोर्न कस्सिरहेका थिए त कोही चिया, खाजा, खानाको तयारीमा व्यस्त देखिन्थे । लस्करै जोडिएका होटलहरुका अगेनाबाट बाक्ला धुँवाका बाक्ला मुस्लाहरुले अनेकौँ आकृती बनाई छाड्दै थिए । तिनैमध्ये एउटा अगेना अगाडि मफलरधारी व्यक्ति टक्क रोकियो ।
“सर, नमस्कार !“ होटल बाहिर सुकेका माछा झुन्ड्याउँदै गरेका साहुजीले आफ्ना आधा कुहिएका दाँत ङिच्च देखाउँदै अभिवादन गरे । मफलर चिउँडो मुनि झार्दै मीन सरले पनि दुई हात जोड्दै नमस्कार फर्काए र होटलभित्र छिरे अनि सधैँझैँ सबैभन्दा पछाडिको टेबलमा गएर बसे ।
छिनभरमै भित्र भान्साबाट एउटा ९/१० वर्षे केटो हातमा पत्रिका लिएर आइपुग्यो । सरका सामुन्ने शिर निहुराएर अभिवादन टक्रायो अनि टेबलमाथि थपक्क पत्रिका राखिदियो । मीन सर उसलाई हेर्दै मुस्कुराए । केटो पनि मुस्कुराउदै भान्सातिर फर्कियो । मीन सर पत्रिका पल्टाउन थाले ।
त्यो केटो अर्थात सुरज प्रजा, मीन सरकै विद्यार्थी जो उनैले अध्यापन गर्ने सरकारी स्कुलमा कक्षा १० मा पढ्ने गर्थ्यो । पढाइमा निकै अब्बल सुरजमा साक्षात् सरस्वतीकै बास थियो तर लक्ष्मीको भने साथ थिएन । सुरजको घर राजमार्ग बजारबाट पैदल २ घण्टा उत्तरपश्चिम पर्ने चेपाङ डाँडामा अवस्थित थियो । गाउँमा माध्यमिक विद्यालय नभएकाले गाउँका अरु केटाकेटीजस्तै विद्यालय पढ्नका लागि तल बजारै झर्नुपर्ने उसको बाध्यता थियो । सुरजकी दिदी आफ्ना साथीहरुसित गाउँबाटै दैनिक विध्यालय आवतजावत गर्ने गर्थी भने सुरजचाहि त्यही होटलमा बसी काम गर्थ्यो/पढ्थ्यो । त्यसैबाट बचेको केही पैसाले आफू संगै दिदीको कापी, किताबको खर्च टार्थ्यो । होटल मालिक टाढाका आफन्त पर्ने भएकाले सुरजले विद्यालय जान अनुमति पाएको थियो । ऊ बिहान सबेरै उठेर होटलको सरसफाइ गर्थ्यो अनि खाना, खाजा सबै तयार गर्न साहुनीलाई मद्दत गरेर दिउँसो विद्यालय जान्थ्यो । विद्यालयबाट फर्किसकेपछि पुनः काममा खटिन्थ्यो । अनि अबेर राति होटल बन्द भैसकेपछि मात्रै विद्यालयको गृहकार्य गरिसकेर सुत्थ्यो । सानो उमेरमै व्यवहारको भारले थिचिनु परेपनि सुरजले हार कहिल्यै मानेन । बरु त्यसैलाई उर्जाका रुपमा लियो र पढाइमा सक्दो मेहनत गर्यो । पढाइप्रतिको उच्च लगावकै कारण ऊ वर्षौंदेखि कक्षामा प्रथम हुँदै आइरहेको थियो । सुरजको यही मेहनतकै कारण ऊ मीन सरको प्रिय विद्यार्थी बनेको थियो ।
मीन सर नियमित झैँ पत्रिका पढ्दै चिया पर्खिरहेका थिए । होटल अगाडि दुई साना प्राइभेट गाडी आएर टक्क रोकिए । गाडी भित्रबाट २/३ जना महिलाहरु आ–आफ्ना बच्चा बोकी ओर्लिए र होटलको शौचालयतर्फ हान्निए । केही अधबैंसे पुरुषहरु चाख मान्दै होटल बाहिर झुन्ड्याइएका सुकेका माछाका सिलहरु हेर्न थाले । त्यसलगत्तै उनीहरु भित्र छिरे र मीन सर बसिरहेकै टेबलछेउ आएर बसे । होटल साहुजी तुरुन्तै उनीहरुको अर्डर लिन आए ।
“के छ साहुजी, खानेकुरा ?“
“फ्राई माछा, झोल माछा, चना, अण्डा, जेरी, पुरी, तरकारी……. “
होटल साहुजीले भएजति सबै परिकारको नाम भट्टयाए। ग्राहकहरुले केही परिकार १/१ प्लेट मगाए ।
अर्डर लिएर फर्कँदै गर्दा होटल साहुजीलाई एकजना ग्राहकले सोध्यो, “अनि माछा यहींको लोकल हो नि, साहुजी ?“
“हजुर्, एकदम लोकल हो हजुर !“
होटलवाला पछाडि नफर्किकनै जवाफ फर्काउँदै अगेनातिर बढ्यो । मीन सरले मुसुमुसु हाँस्दै पत्रिका पल्टाए ।
होटलवाला सुरज सहित अर्को कामदारलाई काम अर्हायो र आफु पनि फटाफट काममा खट्न थाल्यो । बिस्तारै परिकारहरु पाक्दै गए, अर्डरहरु एक एक गर्दै टेबलमा भरिँदै गए। भोका ग्राहकहरु खाना हसुर्न थाले । यतिका समय बीच मीन सरको चिया भने आएन । ग्राहकहरुले अझ परिकार थप्न थाले। मीन सरले परिस्थितिको मेसो बुझेर कुर्सीबाट उठे र चुपचाप त्यहाँबाट निस्किए । भित्र भान्सामा काम गरिरहेको सुरजले त्यो देखेन । होटलवालाले देख्यो तर केही बोलेन ।
“गुड मर्निङ सर !“
विद्यालय प्रवेश गर्नासाथ एक हुल विध्यार्थीले अभिवादन गरे । उही फराकिलो मुस्कान सहित अभिवादन फर्काउँदै मीन सर अफिसतिर लागे । भित्र सबै स्टाफहरु भेला भैसकेका रहेछन् । मीन सर भित्र छिरे र चुपचाप पछाडिको कुर्सीमा गएर बसे ।
“तपाईंहरु सबैलाई थाहै होला, आज जिल्ला सदरमुकाममा हाम्रो पार्टीको बृहत आमसभाको कार्यक्रम रहेको छ । उक्त सभा नेपाली आन्दोलनका नायक, हामी सबैका श्रद्देय नेता लालसिङ्को उपस्थिती रहने कुरा पनि यहाँहरुमाझ सर्वविदितै होला। जिल्ला शिक्षा कार्यालय र शिक्षक संघको निर्णय अनुसार सो कार्यक्रमका लागि यस जिल्लाभरिका सम्पूर्ण सरकारी विद्यालयका प्राथमिक तहमाथिका विद्यार्थी तथा कर्मचारीहरु अनिवार्य रुपमा उपस्थित हुनुपर्ने सुचना जारी भएको छ । आज विद्यालयका कुनै पनि कक्षा संचालन नहुने कुरा यहाँहरु सबैलाई जानकारी गराउँदछु । साथै, सदरमुकामसम्म विद्यार्थी लगायत स्टाफहरु लैजान, ल्याउनका लागि बजारबाट बसको व्यवस्था गरिएको छ, म यहाँहरु सबै सर मिसहरुलाई विद्यार्थीहरुको व्यवस्थापन गरिदिनुहुन आग्रह गर्दछु । धन्यवाद !“
हेडसरले स्टाफहरुलाई सम्बोधन गर्दै भने ।
कुनै पार्टी नेताको भन्दा कम नलाग्ने हेडसरको भाषण सकिनासाथ अफिसभरि ताली गुन्जियो। इस्टाफहरुका अनुहार चम्किला देखिए । पढाइ नहुने जानकारी पाएपछि विद्यार्थीहरु झन् बढी मच्चिए। सर् , मिसहरु हातमा लठ्ठी लिएर विध्यार्थीलाई गाईवस्तुलाई झैं लाम लगाएर बजारतिर डोर्याउन थाले। बजारभरि गाडीहरुको लस्कर देखियो । वारिपारि डांडाका सामुदायिक विद्यालयबाट पनि भुराभुरीहरु जिप, ट्र्याक्टर, ट्रिपरबाट धमाधम ओसारिंदै थिए। हिउँदकै मौसम भएपनि त्यस दिन आकासमा चर्को घाम लागेको थियो। विद्यार्थीहरुको लाम बस अगाडि पुगेर टक्क अडियो । त्यसअघि स्कुले पोसाकमा कहिल्यै बस चढ्न नपाएका विध्यार्थीहरु बसको ढोका खुल्नासाथ धक्कामुक्की गर्दै बसभित्र छिरे । बसको अगाडि पार्टीको चिन्हअंकित बडेमानको ब्यानर टाँगियो। विध्यार्थीहरु खुसीले सिठी बजाउन, चिच्याउन थाले। औसतभन्दा तेब्बर बढी मान्छे लिएर बसहरु सदरमुकामतर्फ लागे । विध्यार्थीहरुले चर्कोसंग नारा लगाउँदै गए, “जनता पार्टी जिन्दावाद! .. जिन्दावाद जिन्दावाद ‘!!“
नियमित झैँ भोलिपल्ट पनि मीन सर आफ्नो मर्निङ्ग वाक पश्चात् होटल छिरे। त्यो दिन भने उनले समयमै आफ्नो चिया पाए। होटलको अर्को कामदार आएर उनलाई चिया दिएर गयो। तर मीन सरले सुरजलाई भने देखेनन्।
घर तर्फ फर्किदै गर्दा सर नजिकैको माछा पसलमा पसे र माछाका ससाना ज्युँदा भुराहरु किने।
पैसा फिर्ता दिने बेला साहुजीले भन्यो,
“एउटा कुरा क्या सर, तपाई र मेडम दुवै शाकाहारी मान्छे । माछा मासु खानु पनि हुन्न, बेच्ने पनि होइन। तर पनि माछा पालिरहनु भा छ !“
मीन सर चुपचाप पसलेलाई हेरिरहे।
पसलेले कपाल कन्याउँदै आफ्ना कुरा सक्यो, “अब यो कुरा सरको सौख नै त हो भन्नुपर्ला नि, होइन ?“
मीन सर केही बोलेनन्। फिस्स हाँसे मात्र। उनीसङ्ग माछापसलेको त्यस प्रश्नको उत्तर त थियो, तर उनले त्यहाँ केही नबोल्नु नै उचित ठाने। पानी रहेको प्लास्टिकमा माछाका भुराहरु बोकेर उनी बिहानी खानाका लागि घरतिर लम्किए।
माछापसलेले भनेझैँ मीन सरका बुढाबुढी दुवै शाकाहारी थिए। उनीहरुका कुनै बालबच्चा पनि थिएनन्। तर माछा पोखरी बनाउनु उनको रहर मात्रै थिएन, यसमा अर्को एउटा कारण जोडिएको थियो ।
मीन सर विध्यार्थीहरु माझ प्रिय थिए। उनी हरेक विद्यार्थीलाई खुब माया गरेर पढाउँथे। पढाईमा मात्र नभई उनीहरुलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापतिर पनि हौस्याउँथे। उनले अध्यापन गर्ने विद्यालय पालिकाकै ठुलो स्कुल भएकाले निकै टाढाबाट विद्यार्थीहरु त्यहाँ पढ्न आउँथे। त्यसरी पैदल हिंडेर विद्यालय आउनेमध्ये अधिकांश विद्यार्थी दलित, जनजाति वर्गका हुन्थे । तिनको आर्थिक स्थिति निकै कमजोर हुन्थ्यो । दिनहुँ २÷३ घण्टा हिंडेर स्कुल आउने उनीहरुसंग न त गतिलो कपडा हुन्थ्यो, न खाजा खानका निम्ति कुनै पैसा नै। उनीहरुको पारिवारिक स्थिति पनि निकै बिग्रिएको हुन्थ्यो, धेरैका बाआमा निम्नस्तरका रोजगारीका लागि भारतलगायत बिदेशतिर पलायन भएका हुन्थे , कसैका बा–आमा बितेका हुन्थे, त कसैकी आमा पोइल गएकी, त्यस्तै कोही त आफ्नै परिवारबाटै शारीरिक, मानसिक किसिमले प्रताडित थिए ।
मीन सरले थुप्रैपटक त्यस्ता धेरैजनालाई खाजा खुवाउनेदेखि लिएर केहीको शुल्क समेत आफैंले तिरिदिने गरेका थिए। उनी ती विध्यार्थीहरुलाई प्रोत्साहनस्वरुप कापी, किताब, कलम लगायत अनेक उपहार पनि दिने गर्दथे। मीन सर त्यस्ता विध्यार्थीहरुका लागि बाबुसरह नै भएका थिए, अझ कतिका लागि त त्योभन्दा पनि बढी ।
मीन सर आफु त्यति धनी व्यक्ति भने होइनन्। उमेरले ५५ पुगीसग्दा आज उनीसंग सम्पत्तिको नाममा १ तले घर र १ कठ्ठा जमिन मात्रै छ। सुदुरपश्चिमको विकट जिल्लामा जन्मिएका उनी आफैं पनि निकै निम्नस्तरको परिवारका थिए। पढाइमा अब्बल हुँदा हुँदै घरको नाजुक अवस्थाले गर्दा सानैदेखि निकै समस्या झेलेका थिए उनले। पढाइको हुटहुटी नमरेपछि उनले एस एल सी पछि काठमाडौ आएर काम खोज्न थाले। आफ्नो पढ्ने चाहना पुरा गर्न उनले के पो गरेनन; आफन्त कोही नभएको त्यस बिरानो शहरमा कति रात सडकमै बिताए, कति रात भोकै कटाए। काठमाडौका होटल, रेस्टुराँहरुमा भाँडा माझे, पत्रिका बेचे, भारी बोके, कति समय बसको खलासी पनि भए। दुःख हजार पाए, तर हार कहिल्यै खाएनन्, आफूभित्रको त्यो पढ्ने हुटहुटी आखिर पुरा गरिछाडे। अन्ततः लामो संघर्ष पश्चात उनले आफैले रोजेको बायोलोजी विषयमा मास्टर्ससम्म उत्तीर्ण गरे। त्यसयता धादिङ्ग जिल्लामा अस्थायी शिक्षकका रुपमा दरबन्दी पाए। उनको कामप्रतिको मिहिनेत र लगनशीलताले गर्दा विद्यालयले पनि उनलाई त्यही राखिरह्यो। बिस्तारै उनले घर घडेरी जोडे, यतै बिहेबारी पनि गरे। आज उनको साथमा एक अत्यन्तै मिलनसार पत्नी छिन्, सानो घर छ, थोरै जमिनको टूक्रो छ। छैनन् त केवल, आफैले जन्म दिन नसकेका सन्तान, तर त्यसको अभाव उनका विद्यार्थीहरुले पुरा गरिदिएका छन्। जातले आफु बाहुन भएपनि उनले दर्जनौ गुरुङ, मगर, राई, नेवार, चेपांग, मधेसी छोराछोरीहरु हुर्काएका छन्, उनीहरुलाई एउटा असल बाबुसरह माया दिएका छन्। आजसम्म मीन सरले यस ठाउँमा धेरैथोक देखे÷भोगेका छन्। २० वर्षअगाडिको यस खण्डहरमा उनैका आँखा अगाडि होटलहरु थपिंदै गरेको देखेका छन्। बाहिरबाट बसाइ सरेका मानिसहरुले आज मीन सर आफु त्यति धनी व्यक्ति भने होइनन्। उमेरले ५५ पुगीसक्दा अहिले उनीसंग सम्पत्तिको नाममा एक तले घर र २ कठ्ठा जमिन मात्रै छ ।
२० वर्षअगाडिको यस खण्डहरमा उनैका आँखा अगाडि होटलल बजार बनाएका छन्, जहाँ प्रत्येक दिन सयौं गाडीहरु खाना, खाजाका लागि रोकिने गर्छन्। यहाँको जग्गाको भाउ दशौँ गुणाले आकाशिएको छ, हिजो खान, लाउन मुश्किल भएकाहरु आज होटल चलाएरै करोडपति भएका छन्। तर अझैपनि पारि गाउँमा बसोबास गरिरहेका सुरज चेपाङ्गजस्ताका परिवारहरुको हालत जहाँको तहीं छ। समयसंगै यहाँका धेरैले यी कुरा भुलेपनि मीन सरले भुलेका छैनन्, उनले आफ्नो धरातल आजसम्म पनि बिर्सिएका छैनन् ।
विद्यालयको प्रार्थनासभा हुनु अगावै हेडरले अफिसभित्र स्टाफ भेला गराए। अघिल्लो दिनको कार्यक्रमका लागि सबैलाई धन्यवाद दिंदै भने,
“हिजो कार्यक्रममा हाम्रो उपस्थिति र प्रदर्शनबाट खुसी हुँदै जिल्ला कार्यालयबाट सर–मेडमहरुलाई सानो खाजापानका लागि भनी थोरै सहयोग रकम आएको छ। स्कुल छुट्टी भए पछाडी कार्यक्रममा सबैजना बसिदिनुहोला !“
नभन्दै विद्यालयको अन्तिम घन्टी बजि नसक्दै अफिसभित्र खानपिनको तयारी भैसकेको थियो। सबै सर मिसहरु मुख मिठ्याउँदै हतारहतार माथि अफिसभित्र छिरे। मीन सर चाहिं विद्यार्थीको हुलमा छलिंदै सुटुक्क गेटतिर हान्निदै थिए। उनी गेट बाहिर पुगेका मात्रै के थिए, अचानक माथिबाट आवाज आयो,
“मीन सर!“
मीन सरले फर्केर हेरे। दोश्रो तलाको अफिसबाहिर उभिएका हेडसर उनैतिर हेरिरहेका थिए। हेडसर कड्किए, ‘“क्या मीन सर, तपाईं पनि ! आउनोस्, एकछिन बसेर जानुहोला !’
मीन सरले त्यहीं उभिएरै जवाफ फर्काए, “ होइन सर, त्यति सन्चो पनि छैन। घरै जाउँ कि भनेर !“
हेडसरले यसपाली अलिक गुलियो लवजमा भने, “ठीकै छ नि सर, एकैछिन बसेर जानुहोला । तपाईंको लागि शाकाहारी खाजाको व्यवस्था छँदै छ ! “
यतिन्जेल बाहिर अरु मास्टरहरु पनि भेला भैसकेका थिए। हेडसर नजिकै उभिएको एकजनाले थपे, “आउनोस् न मीन सर्, अब पार्टी एउटै नभए पनि स्कुल त एउटै हो नि तपाईं, हाम्रो !!“
यसपाली भने मीन सरलाई बडो झोंक चल्यो। उनी ती मास्टरले भनेजस्तो अर्को पार्टीका मानिस थिएनन्। वास्तवमा उनी कुनै पार्टीमा आवद्द नै थिएनन्। उनी न कांग्रेसी थिए न कम्युनिस्ट, चुनावका बेला पनि उनी पार्टी नभई व्यक्तिलाई हेरी भोट हाल्नेमा पर्दर्थे। तर अरुबेला पार्टीका कार्यक्रममा सहयोग गर्न नमानेकै कारण सबैले उनलाई त्यही आरोप लगाइरहेका हुन्थे।
मीन सरले हेडसरतर्फ हेर्दै दुई हात जोडेर नमस्कार गरे अनि चुपचाप गेटबाहिर निस्किए। हेडसरको टोलीले माथिबाटै केहीबेर उनलाई घुरिरह्यो।
८८८
घाम अस्ताइसकेर रात पर्नै लागिसकेको थियो। मीन सर आफ्नो घरमा आराम गरिरहेका थिए। घरको मुलढोकामा अचानक कसैले आवाज दियो। सरकी मेडमले ढोका खोलिन्। पलभरमा कोठाअगाडी २ जना मानिस देखापरे। मीन सर तीन छक्क परे, उनको अगाडि सुरज चेपाङ्ग आफ्नो बाबुसहित उभिएको थियो। बाउछोरा दुवैका अनुहार मलिन थिए।
परिस्थितिको गाम्भिर्यताको आँकलन गर्दै मीन सरले दुई बाउछोरालाई सोफामा बसाए। सरले सुरजलाई त्यहाँ आउनुको कारण सोधे। जवाफमा सुरज केहि बोल्न सकेन। बरु घुँक्कघुँक्क गर्दै रुन पो थाल्यो! सुरजका बाबु पनि भुँइतिर हेर्दै आफ्ना आँखा पुछ्न थाले। मीन सर उठेर सुरज नजिक पुगे र उसलाई सम्हाले। बिस्तारै सुरजले रहस्यको पोको फुकाउन थाल्यो।
हिजोको राजनैतिक कार्यक्रममा सुरजसहित विद्यालयको माध्यामिक तह र सो माथिका सम्पुर्ण विद्यार्थीहरु अनिवार्य रुपमा सदरमुकाम ओसारिएका थिए। अत्यन्तै भीडभाडयुक्त सो कार्यक्रमबाट बेलुका फर्किनेक्रममा केही विध्यार्थीहरु त्यहीं छुट्न पुगेछन्। त्यही झुण्डमा सुरजकी दिदी पनि परेकी रहिछे। घर फर्किने पर्याप्त पैसा पनि नबोकेको टोली बल्लतल्ल लिफ्ट मागेर तल्लोबजारसम्म आइपुगेछ। बजार आइपुग्दासम्म त रात छिप्पिसकेको रहेछ।
यतिन्जेलमा मीन सरको मनभित्र भयानक चिन्ता पसिसकेको थियो। सुरजका बाबु अझै शिर निहुर्यायेरै झोक्राइरहेका थिए।
सुरजले आँसु बगाउँदै, कथा सुनाउँदै गयो। रात परिसकेको हुनाले दिदीलाई अरु साथीहरुले उनीहरुको घरमा बस्न आग्रह गरेका रहेछन्। तर आमाको गाली खाइने डरले दिदीले सकेसम्म घरै पुग्ने निधो गरिछे। त्यसैबेला बजारमा उनकै गाउँका एकजना चिनारु दाई भेट भएछन्। कुरा सुनेपछि ती दाइले आफ्नो मोटरसाइकलमा घर पुर्याईदिने प्रस्ताव गरेछन् ।
आखिर जे कुराको डर थियो, त्यही भएछ। आधा बाटो पुगीनसक्दा बाइक बिग्रिएको बहाना पारेर त्यस व्यक्तिले सुनसान स्थलमा बाइक रोकेछ र सुरजकी दिदीमाथि हातपात गर्न थालेछ। अचानकको त्यस्तो व्यवहार देखेर अताल्लिएकी सुरजकी दिदीले सुरुमा त त्यस व्यक्तिलाई सम्झाउने अनेक कोसिस, बिन्ति गरिछ। तर नशाले धुत् त्यस यौन पिपासुले निर्धाको चित्कार के पो सुन्थ्यो र? दिदीले अरुलाई गुहार्ने र त्यहाँबाट भाग्ने भरमग्दुर प्रयास गरेपनि अन्तिममा त्यस दानवले उसलाई निलीछाडेछ। आखिरमा सुरजकी दिदी आफ्नै गाउँको छिमेकी दाई भनाउँदोबाटै बलात्कृत हुन पुगिछे। त्यसपश्चात त्यस व्यक्ति हतारिंदै त्यहाँबाट भागेछ। सुरजकी दिदी बाटाभरि रुँदै अबेर राति घर पुगिछ। बिहान खबर आएपछि सुरज तुरुन्तै घर पुगेछ। सुरज पुगेपछि बल्लतल्ल पÞmकाएपछि मात्रै उसकी दिदीले यो सब कुरा खुलाएकी रहिछे।
बोल्दाबोल्दै सुरजका ओठहरु अचानक रोकिए। कोठामा सन्नाटा छायो। त्यहाँमध्ये कोहि, कसैले पनि त्यो सन्नाटा चिर्ने साहस गर्न सकेन। सबैका आँखा रसाएका थिए , मन बेस्सरी कुँडिएको थियो। ढोकामा उभिएकी मीन सरकी मेडम सारीको सप्कोले आफ्ना आँसु पुछ्न थालिन्। मीन सरले बिस्तारै नजर लगाए , सुरजका बाबु अझै झोक्र्याएर बसिरहेको थियो। दुब्लो, ख्याउटे त्यो मानिस कुनै निर्बल, घाइते प्राणी सरह देखिन्थ्यो, जो लाचार भएर आफ्नो मृत्यु कुरिरहेछ। सरले सुरजतिर नजर डूलाए, सुरज उनैलाई हेरिरहेको थियो। उसका आँखाहरु हेर्दा लाग्थ्यो, ऊ एउटा घाइते प्राणी हो, जो उनीसँग न्यायको गुहार मागिरहेछ।
रात निकै छिप्पिसकेको थियो। मीन सरले उनीहरुलाई त्यस रात आपÞm्नोमै बसेर भोलि बिहानै संगै प्रहरीकोमा उजुरी दिन जाने प्रस्ताव राखे। तर सुरजका बाउछोराले मानेनन् । घरमा आमाछोरीमात्रै भएकाले उनीहरुले त्यस रात घर फिर्ता भै भोलि बिहानै पुनः फर्किने निर्णय गरे ।
८८८
भोलिपल्ट सबेरै सुरजको सम्पुर्ण परिवार सरको घर अगाडि आइपुगे। सिमसिम पानी परिरहेको थियो। सुरजकी दिदी आफ्नी आमाको पछाडि बाक्लो पछ्यौरीले मुख छोपेर उभिएकी थिई। मीन सरले केही बोल्नै सकेनन्। चुपचाप परिवारलाई लिएर प्रहरी चौकी पुगे। प्रहरीसामु घटनाको बेलिविस्तार गराए र अभियुक्तविरुद्ध जाहेरी पनि दिए। उजुरीका क्रममा सुरजले त्यस बलात्कारी अभियुक्त नाताले उनीहरुकै विद्यालयको हेडसरको सालो रहेको कुरा पनि जानकारी गरायो। त्यो सुनेपछि मीन सर थप आक्रोशित बने। जाहेरी दिइ सकेर चौकीबाट निस्कँदा बाहिर मुसलधारे पानी परिरहेको थियो। सुरज आफ्नो परिवार सहित फटाफट गाउँतिर उकालो लाग्यो। पानीमा रुझ्दै गइरहेको गरीब परिवारको उक्त दृश्य हेर्दै मीन सर निकै भावुक भए। उनी पनि झरीको पर्वाह नगरी रुझेरै विध्यालयतपÞर्m लागे।
त्यस दिन मीन सरले केही पढाउन सकेनन्। दिनभर उनका आँखा अगाडि सुरज चेपांग र उसकी दिदीलाई मात्र देखे। उनीहरुका निर्धा बा आमालाई सम्झिए। त्यसदिन विद्यालयको समय कटाउन निकै गाह्रो भो उनलाई।
अन्तिम पिरियड विज्ञान संकायको कक्षा ११ मा थियो। त्यही कक्षामा सुरजकी दिदी पढ्ने गर्थी। मीन सर उनीहरुलाई जीवविज्ञान पढाउँथे। भारी मन लिएर सर कक्षा प्रवेश गरे। उनले त्यसदिनको लेसन प्लान बिर्सिसकेका थिए। एकजना विद्यार्थीले सम्झाइदिएपछि उनले अगाडि बोर्डमा गएर लेखे , “मत्स्य !“
त्यस दिन पिस्सेस, अर्थात मत्स्य÷माछा को बारेमा लेसन प्लान रहेछ। मीन सरले अन्ततः सम्झिए, तर उनमा पढाउन सक्ने इच्क्षाशक्ति बिल्कुलै थिएन। उनले अरु कक्षामा झैं विध्यार्थीहरुलाई आफैं पाठ पढ्न अह्राए । सधैं रोचक तरिकाले सबैलाई सामेल गराएर पढाउने सरले आज त्यसो भन्दा विध्यार्थीहरु विलखबन्दमा परे। उनीहरुले सोचे, सरलाई आज सन्चो छैन। त्यतिन्जेल उनीहरु कसैलाई पनि आफ्नै साथी बारेको त्यो बिवत्स घटना थाहा भैसकेको थिएन।
मीन सरले हेरे, सुरजकी दिदी सधैं बस्ने बेञ्च त्यस दिन खाली थियो। उनी थप भावुक भए। सधैं हाँसिरहने उसको त्यो मुहार सम्झीए। अब शायद उ कहिल्यै विद्यालय फर्कन्न होली। जिन्दगीको कलिलै उमेरमा आफूमाथि परेको त्यस्तो बज्रपातबाट ऊ फर्कियोस् पनि कसरी? ऊ जस्तै उसको भाइ सुरज पनि शायद अब विद्यालय फर्किने छैन। आजसम्म उसले एक एक गर्दै जोडेको मनोबल र उर्जा एकैपटकको यो आँधीले शायद भत्काइसकेको छ । उसका सपनाहरु सब सोत्तर परिजानेछन् । अब सुरज पनि गाउँका अरु केटाहरुझैं ज्याला, मजदुरी गर्नेछ, ड्राइभर, खलासी बन्नेछ। अनि केही वर्षपछि लाग्नेछ, गाउँका अरुझेै भारत या खाडीतिर। जिन्दगीको यस्तो भुमरीमा उसलाई आज कसले, कसरी ल्याईपुरायो ?? एउटा गरीब परिवारको सपना सखाप हुनुको पछाडी वास्तविक अपराधी को हो? त्यो बलात्कारी अधबैँसे युवक? त्यो रात? त्यो राजनैतिक समारोह? या त्यस समारोहमा जबर्जस्ती विद्यार्थी पठाउने विद्यालय प्रशाशन? यी अनेकौं प्रश्नहरु मीन सरको मथिंगलमा घुमेको घुम्यै गरिरहे ।
कक्षा सकिन अझै केही समय बाँकी थियो। विध्यार्थीहरु आफ्नै सुरमा पढिरहेका थिए। यतिन्जेल आफ्नो कुर्सीमा बसिरहेका मीन सर अचानक उभिए। विध्यार्थीहरु सबैका आँखा उनीतिर सोझिए।
मीन सरले बोर्डतिर देखाउंदै भने, “माछा पनि मानिसजस्तै सामाजिक प्राणी हुन् ।“
विध्यार्थीहरु वाल्ल परे। सरले थपे, “माछाहरु पनि मानिसझैं समुहमा बस्दछन्। पानीभित्रै किन नहोस्, उनीहरुको पनि घर हुन्छ, परिवार हुन्छ, आफ्नै किसिमको समाज हुन्छ।“
विध्यार्थीहरु थप जिज्ञासु देखिए । मीन सर भन्दै गए, “यसरी परिवार, समुह बनाएर बस्ने हुँदा माछाहरु पनि उचित स्थानको खोजीमा बसाइसराइ गर्ने गर्छन्। र त्यसैक्रममा ठुला माछाहरुले साना माछाहरुलाई पेल्छन्, लखेट्छन् र निल्छन् पनि । मानिसले जस्तै माछाहरुले पनि शक्तिको आडमा ठुला एवं बलशालीले आफूभन्दा साना, दुर्बलहरुलाई बारम्बार यातना दिइरहन्छन्, चाहे त्यो खानाको सवालमा होस्, या बासस्थानको सवालमा होस्, या प्रजननको सवालमा ! “
यति भनिसक्दा मीन सरका आँखा आँसुले भरिइसकेका थिए। विध्यार्थीहरु सबै टोलाएर एकतमासले उनैलाई हेरिरहेका थिए। कोठाको शुन्यता चिर्दै अन्तिममा सरले थपे, फरक यत्ति हो, माछाहरु आफ्नो समुहमा एकजुट भएर बस्छन्, उनीहरुमा सामुहिक एकता हुन्छ तर मानिसहरु भने आफ्नै समूहमा पनि बारम्बार झैझगडा, छलकपट, लुटपाट गरिरहन्छन् , मानिसहरु आफ्नै समाजका लुटेरा भैदिन्छन् । अन्तिम घण्टी बज्यो। गर्हुङ्गा पाइला चाल्दै मीन सर कक्षाबाहिर निस्किए। बाहिर चौरमा विभिन्न कक्षाका विध्यार्थीहरु उफ्रिंदै, नाच्दै घरतिर दौडिइरहेका थिए। त्यसैबीच मीन सरले केही फरक महशुस गरे। कोही उनलाई हेरिरहेको थियो। उनले नजर उघारेर हेरे, माथि अफिसबाहिरबाट हेडमास्टर उनैतिर एक टकले घुरिरहेको थियो।
भोलिपल्ट बिहान उठ्दा मीन सरले देखे, उनको पोखरीका सारा माछाहरु पानीमाथि निर्जीव अवस्थामा तैरिरहेका थिए।
संसार नेपाली
[email protected]