लघुकथा
ड्यालस, टेक्सस, अगस्ट १६, २०२६।
प्रवासमा नेपाली भाषा, साहित्य र सिर्जनाको प्रवद्र्धनमा सक्रिय स्रष्टा साँझ अमेरिकाले ड्यालस–फोर्टवर्थमा साप्ताहिक साहित्यिक भेटघाट कार्यक्रम सुरु गरेको छ । नेपालीद्वारा सञ्चालित स्वर्ग इभेन्ट सेन्टरसँगको सहकार्यमा सुरु गरिएको कार्यक्रम अब प्रत्येक शनिबार साँझ ५ बजे नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।
कार्यक्रमको पहिलो भेटघाट शनिबार, अगस्ट १५ मा स्वर्ग इभेन्ट सेन्टरको प्रांगणमा सम्पन्न भयो। रुखको छहारीमा बेञ्च तथा कुर्सीमा बसेर दाउराको चुल्होमा पकाइएको चिया पिउँदै साहित्य, सिर्जना र समसामयिक विषयमा सहभागीहरूबीच आत्मीय छलफल भएको थियो । ग्रामीण नेपाली परिवेशको झल्को दिने वातावरणले कार्यक्रमलाई थप आत्मीय बनाएको सहभागीहरूले बताएका छन् ।
सन् २०१७ देखि प्रवासमा रहेका नेपाली स्रष्टाहरूलाई साझा साहित्यिक चौतारी प्रदान गर्दै आएको स्रष्टा साँझ अमेरिकाले यस कार्यक्रममार्फत लेखक, कवि, समालोचक र पाठकलाई नियमित रूपमा एउटै थलोमा जोड्ने उद्देश्य राखेको छ । आफ्ना सिर्जना प्रस्तुत गर्ने, साहित्यिक विचार आदान–प्रदान गर्ने, एकअर्काबाट सिक्ने तथा नेपाली साहित्यका विविध विषयमा संवाद गर्ने अवसरका रूपमा कार्यक्रमलाई अघि बढाइने आयोजकले जनाएको छ ।
मदनमणि दीक्षितको स्मरण
पहिलो कार्यक्रमकै दिन नेपाली साहित्यका विशिष्ट स्रष्टा मदनमणि दीक्षितको पुण्यतिथि परेको थियो। सो अवसरमा सहभागीहरूले दीक्षितको साहित्यिक योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे। स्रष्टा डा. शिलु न्यौपानेले मदनमणि दीक्षितसँगका आफ्ना आत्मीय संस्मरण प्रस्तुत गर्नुभयो। त्यसैगरी समालोचक सञ्जय घिमिरेले पनि दीक्षितसँग जोडिएका आफ्ना भावनात्मक अनुभव र संस्मरण सुनाउनुभयो। दुवै संस्मरणले कार्यक्रममा साहित्यिक तथा भावनात्मक वातावरण थप गहिरो बनाएको थियो ।
२०१७ को पहिलो भेटघाटको सम्झना
स्रष्टा साँझ अमेरिकाको साहित्यिक यात्राको सुरुवात सन् २०१७ मा भएको थियो। अगस्ट ४, २०१७ मा स्वर्गीय ईरा आचार्यले हस्र्ट, टेक्ससस्थित आफ्नो निवासमा पहिलो साहित्यिक भेटघाट आयोजना गर्नुभएको थियो। प्रत्येक हप्ता स्रष्टाहरू एक ठाउँमा भेला भएर ‘कालो चिया’ पिउँदै साहित्यिक संवाद गर्ने अवधारणाबाट सुरु भएको अभियानले पछिल्ला नौ वर्षमा विभिन्न कार्यक्रममार्फत प्रवासमा नेपाली साहित्यको पहिचान विस्तार गर्दै आएको आयोजकको भनाइ छ । शनिबारको नयाँ कार्यक्रमले पनि त्यही प्रारम्भिक दिनहरूको सम्झना गराएको सहभागीहरूले बताएका छन् ।
स्वर्ग इभेन्ट सेन्टरसँग सहकार्य
कार्यक्रममा डा. युवराज अर्यालले प्रवासमा नेपाली साहित्यको प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्वर्ग इभेन्ट सेन्टरले स्रष्टा साँझ अमेरिकासँग सहकार्य गरेको बताउनुभयो । त्यसैगरी बैकुण्ठराज आचार्यले स्रष्टा साँझ अमेरिकाको उद्देश्य, गतिविधि तथा हालसम्म सम्पन्न साहित्यिक कार्यक्रमबारे जानकारी गराउनुभयो । कार्यक्रममा प्रा. प्रभात दीक्षित, डा. शिलु न्यौपाने, डा. युवराज अर्याल, बैकुण्ठराज आचार्य, रुपेन्द्र घिमिरे, सञ्जय घिमिरे, विनोद रिजाल, भगवती पौडेल, लीला श्रेष्ठ, गंगा ब. थापा र अनु खनाल लगायत साहित्यप्रेमीहरूको सहभागिता थियो।
आयोजकका अनुसार अब हरेक शनिबार साँझ ५ बजे हुने साहित्यिक भेटघाट ड्यालस–फोर्टवर्थका नेपाली स्रष्टा, समालोचक, पाठक तथा साहित्यप्रेमी सबैका लागि खुला रहनेछ । स्रष्टा साँझ अमेरिकाले ड्यालस–फोर्टवर्थमा बसोबास गर्ने साहित्यप्रेमीहरूलाई नियमित रूपमा कार्यक्रममा सहभागी भई नेपाली साहित्यको विकासमा प्रत्यक्ष योगदान गर्न आग्रह गरेको छ। साथै संसारभर छरिएर रहेका नेपाली साहित्यप्रेमीरूबाट साथ, सहयोग र सुझावको अपेक्षा गरेको जनाएको छ । “शब्दसँग जोडिऔँ, सिर्जनासँग अघि बढौँ” भन्ने भावनाका साथ सुरु गरिएको साप्ताहिक भेटघाटलाई प्रवासमा नेपाली साहित्यको निरन्तर संवाद र सिर्जनाको साझा चौतारीका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ ।
